
पोखरामा आयोजना हुँदै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को १८औँ संस्करण आउँदो शनिबार हुँदै छ। पोखरेली पूर्वखेलाडीहरूको साझा संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजना तथा लक्ष्मी ग्रुपअन्तर्गतको सुजल डेरी उद्याोगको उत्पादन ‘सफल दूध’को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
म्याराथनमा नेपालका ५८ सहित १३ देशका ५० विदेशी गरी कुल एक सय आठ धावकहरूले प्रतिस्पर्धा गर्ने आयोजक मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए। पराजुलीका अनुसार प्रतियोगितामा नेपालसहित बंगलादेश, क्यानडा, चीन, भारत, जापान, हङकङ, फ्रान्स, केन्या, पोल्यान्ड, जर्मनी, साउदी अरेबिया, ताइवान, युके र अमेरिकाका धावकहरूले प्रतिस्पर्धा गर्नेछन्।
शनिबार एकै दिन विभिन्न आठ विधाका दौड एकैपटक आयोजना हुनेछ। विभिन्न आठ विधामा ४२.१९५ किमि खुला म्याराथन, २१.०९७ किमि हाफ म्याराथन महिला, महिला-पुरुष १० किमि दौड, विद्यालयस्तरिय छात्र-छात्रा पाँच किमि दौड र ५० वर्षमाथिकाहरूका लागि पाँच किमि भेट्रान महिला-पुरुष दौडमा प्रतिस्पर्धा हुने बताइएको छ।
प्रतिस्पर्धासँगै वर्षको एक दिन दौडिनुपर्छ भन्ने सन्देश दिन ’रन फर फन’समेत आयोजना हुने आयोजकले जनाएको छ। महिलातर्फको हाफ म्याराथनमा १७ विदेशीसँगै ३१ जनाले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका सबै विधामा गरी ३१ जना विदेशी धावकहरू सहभागी हुने भएका छन्।
विजेताहरूमध्ये खुला म्याराथनमा प्रथम हुनेले पाँच, दोस्रोले तीन र तेस्रोले दुई लाख नगद पुरस्कार पाउनेछन्। म्याराथनमा गण्डकी प्रदेशतर्फको विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार नगद पुरस्कार पाउनेछन्।
महिलातर्फको हाफ म्याराथनमा प्रथमले एक लाख ५० हजार, दोस्रोले एक लाख, तेस्रोले ७५ हजार र सान्त्वना हुनेले १५ हजार नगद पाउनेछन्। १० किमि महिला-पुरुष दौडका प्रथम, दोस्रो र तेस्रोले क्रमशः ३० हजार, २० हजार र १५ हजार रुपैयाँ पाउनेछन्। पाँच किमि छात्र-छात्रा र भेट्रान महिला/पुरुषतर्फका विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले सात हजार नगद पुरस्कार पाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो।
विदेशी धावकहरूको आकर्षण बढाउन मुख्य रूपमा पुरस्कार राशिमा वृद्धि गर्दै १० लाख पुर्याउने लक्ष्यका साथ मञ्च अघि बढेको भन्दै पराजुलीले यसका लागि नेपाल सरकार, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, प्रायोजक संघसंस्थाहरू र सरोकारवालाहरूको सहयोग र सहकार्यको खाँचो रहेको बताए।
प्रतियोगिता सम्पन्न गर्न एक करोड खर्च लाग्ने आयोजक मञ्चका कोषाध्यक्ष महेश पौडेलले जानकारी दिए। प्रतियोगिता सम्पन्न गर्न पोखरेली मञ्च युकेले १९ लाख ३४ हजार, यस वर्षदेखि लागू हुने गरी गैरआवासीय नेपाली संघले तीनवर्षे सम्झौता गर्दै प्रत्येक वर्ष सात लाख ५० हजार सहयोग गर्ने भएको छ। च्यारिटी रनमार्फत ‘तमु धी युके’ले तीन लाख, बुद्धिस्ट सेन्टरले एक लाख ३५ हजार, ब्रिटिस ग्रामर स्कुलले आगामी तीन वर्षका लागि तीन लाख दिने भएको छ भने अन्य संघसंस्थाले समेत सहयोग गरेका छन्।
यस वर्षदेखि रुट परिवर्तन
यस वर्षदेखि म्याराथनको रुटमा परिवर्तन गरिएको आयोजकले जानकारी दिएको छ। सवारीसाधनसँगै सुरक्षाको दृष्टिकोणले विगतमा प्रयोग हुँदै आएको रुटमा परिवर्तन गर्दै यस वर्ष पोखराको बजार क्षेत्रका विभिन्न स्थान गरी १७ किमि मात्र स्टप रहेको अध्यक्ष पराजुलीले जानकारी दिए। पोखराको बजार क्षेत्रपछि धावकहरू हल्लनचोक हुँदै पोखराका तीन वडाहरू १८, २३ र २४ फेवातालको सिरान घाँटीछिना हुँदै पुनः सोही रुटबाट फर्किएर लेकसाइडको हल्लनचोकस्थित फेवाताल किनारमा रहेको क्याम्पिङ चोकमा आएर सम्पन्न हुनेछ।
प्रतियोगितालाई यस वर्षदेखि पूर्ण प्रविधिमैत्री बनाइएको छ। सबै विधाका प्रतिस्पर्धामा सहभागी खेलाडी धावकहरूले चिप्सको प्रयोग गर्नेछन्। प्रयोग गरिने चिप्सले धावकहरूलाई प्रविधिमैत्रीसँगै दौडको समयलाई समेत निश्चित गर्नेछ।