१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार ११:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बजेट अभावमा चार सिँचाइ योजना अलपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार ११:o८:oo

बजेट विनियोजन कार्यले निरन्तरता नपाउँदा जिल्लाका चार सिँचाइ योजना अलपत्र बनेका छन् । योजना निर्माणका लागि ठेक्का लागे पनि बजेट विनियोजन नहुँदा योजना अलपत्र परेको सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । व्यास नगरपालिका–५ को साँघे पतेनी सिँचाइ योजना, बन्दीपुर गाउँपालिका–३ कोलपाटा लिफ्ट सिँचाइ योजना, ऋषिङ गाउँपालिका–५ को अठारबिसे र व्यास–५ को याम्दी खोला चापटार लिफ्ट योजना रहेका छन् ।

गत वर्ष बजेट विनियोजन भए पनि यस वर्ष बजेट विनियोजन नहुँदा निर्माण कार्य प्रभावित भएको सिँचाइ विकास डिभिजन कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी जगन्नाथ चापागाईंले जानकारी दिए । ५८ लाख रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी रहेको उनले बताए । बजेटका कारण निर्माणाधीन योजनाको कार्य अघि बढाउन नसक्दा सिँचाइ कार्य प्रभावित बनेको छ ।

‘भौगोलिक विकटताका कारण अधिकांश स्थानमा पानीको स्रोत नहुँदा सिँचाइ योजना महँगो हुने गरेको छ,’ उनले भने, ‘अधिकांश पाखोबारी बाँझो रहेकाले सिँचाइको पहुँच पुर्‍याई स्थानीयको जीवनस्तरमाथि उकास्ने लक्ष्य रहेको छ ।’ विशेष गरी मुख्य योजनाका रूपमा दुई योजना रहेका छन् । व्यास–१० को नारेश्वर ताल जलाशय योजनाका लागि एक करोड ९४ लाखमा ठेक्का लागेको छ । त्यसैगरी, शुक्लागण्डकी नगरपालिका–९ मा बस्ती संरक्षणका लागि एक करोड ८९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । 

गण्डकी प्रदेश सरकार र संघीय सरकारबाट विनियोजित बजेटबाट गत वर्ष एक सय ४३ योजनामध्ये ८६ योजना निर्माण सम्पन्न भएका छन् । स्रोत सुनिश्चितता भई ठेक्का प्रक्रियाबाट काम भइरहेका योजनाका लागि कम बजेट विनियोजन हुँदा निर्माण कार्य प्रभावित हुने गरेको सूचना अधिकारी चापागाईंले जानकारी दिए । 

ad
ad