मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ९ आइतबार
  • Sunday, 24 November, 2024
२o८१ मङ्सिर ९ आइतबार १३:५३:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

कोप– २९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीका लागि भाका सारियो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ९ आइतबार १३:५३:oo

अजरबैजानकाे बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय प्रारूप महासन्धि (युएनएफसिसिसी)का पक्षराष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९) टुंगिएको छ । शुक्रबार नै कोप सकिने पूर्वतालिका रहे पनि सहमति जुट्न नसकेपछि दुई दिन लम्बिएकाे हो । 

कोप–२९ ले जलवायु वित्त, कार्बन बजार, अनुकूलन, र लैंगिक समानताको क्षेत्रमा नयाँ आयाम थप्दै विश्वव्यापी जलवायु कार्यलाई एकीकृत गर्न महत्त्वपूर्ण योगदान दिएको र अब थप परिणाममुखी निर्णय लिन विश्वभरिका देशहरूले तयारी गर्ने युएनएसिसिसीको सचिवालयले जनाएको छ । 

नेपालको तर्फबाट कोपको वार्ता प्रक्रियामा भाग लिएका जलवायुविद् मञ्जित ढकालले कोप वार्ता प्रक्रियाको उपलब्धिमा जलवायु वित्तको नयाँ लक्ष्य (एनसिक्युजी) का बारेमा विकसित देशहरूले विकासोन्मुख देशहरूलाई वार्षिक तीन सय बिलियन डलरसम्म उपलब्ध गराउने सहमति नै कोपको मुख्य सकारात्मक उपलब्धि भएको बताए ।

‘विकासोन्मुख राष्ट्रको माग वार्षिक १.३ ट्रिलियन डलर भएको छ । साथै, जलवायु वित्तमा सहज पहुँच हुनुपर्ने मागमा सामान्य प्रगति भएको छ,’ उनले भने, ‘हानि–नोक्सानीलाई जलवायु वित्तको नयाँ लक्ष्यका समावेश गराउनेबारे पनि सामान्य प्रगति भएको छ ।’

कार्बन उत्सर्जन घटाउनुपर्ने एजेन्डामा भने धनी मुलुक सकारात्मक नदेखिएको उनको भनाइ छ । ‘यसपटक कार्बन उत्सर्जन घटाएर पृथ्वीको तापमानलाई १.५ डिग्रीमा सन्तुलन ल्याउने विषयको छलफलमा धेरै प्रगति हुन सकेन । यसमा विशेषगरी पेट्रोलियम उत्पादन र बिक्रीमा आश्रित देशको भूमिका असहयोगी रह्यो ।’

ढकालका अनुसार हाम्रोजस्तो देशका लागि जहाँ जलवायुजन्य असर बढ्दो क्रममा रहेको र पृथ्वीको तापमान सन्तुलित बनाउन अत्यन्त जरुरी छ । यसका लागि धेरै कार्बन उत्सर्जन गर्ने देशहरू जिम्मेवार हुन जरुरी रहेको भन्दै ढकालले छलफल अर्को वर्ष जुन महिनामा फेरि छलफल हुने गरी टुंगिएको छ ।

‘कार्बन व्यापारसम्बन्धी छलफलमा धेरै वर्षपछि सहमति भएको छ । बजारमा आधारित कार्बन व्यापार र द्विपक्षीय सहमतिमा गरिने व्यापारलाई अघि बढाउने बाटो खुलेको छ,’ ढकालले भने, ‘समग्रमा केही विषयमा प्रगति भए पनि बाँकी विषयको छलफललाई निरन्तरता दिने सहमति गर्दै, बाकु जलवायु सम्मेलन सम्पन्न भएको छ ।’

एनसिक्युजीमा भएको सहमतिको प्रभावकारी कार्यान्वयन भएमा नेपालजस्ता मुलुकले राखेका जलवायुका योजना कार्यान्वयनका लागि आवश्यक पर्ने वित्त सहयोग व्यवस्थापनमा केही सहज बाकुमै रहेका वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखाका प्रमुख डा. सिन्धुप्रसाद ढुंगानाको भनाइ छ ।

‘जलवायु वित्तमा प्रगति भए पनि कार्बन उत्सर्जन कटौतीमा उत्सर्जक मुलुक तयार भएनन्, यसले तापमान वृद्धि सीमित राख्ने लक्ष्य पूरा हुँदैन कि भन्ने आशंका छ, तर निरन्तर पैरवी जारी राख्नेछौँ,’ उनले भने, ‘तापमान वृद्धिले विशेष गरी नेपालको पर्वतीय क्षेत्रमा बढी असर गर्छ, हिउँ पग्लिने, हिमताल विस्फोट हुने र हिमपहिरो गएर त्यहाँका बासिन्दालाई सुरक्षामा चुनौती हुन सक्छ, तसर्थ नेपालले पनि उत्सर्जन कटौती गर्नुपर्ने मुद्दामा प्राथमिकता दिएको हो ।’

‘महत्त्वाकांक्षी परिणामको अपेक्षा थियो’ 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोप–२९ मा जलवायु वित्त सहयोग र पृथ्वीको तापमान वृद्धि १.५ डिग्री सीमित राख्न कार्बन उत्सर्जन न्यूनीकरणमा महत्त्वाकांक्षी परिणामको अपेक्षा गरिएको बताए । उनले कोपको समापन गर्दै तापमान वृद्धिले जलवायुको संकट निम्त्याइरहेको उल्लेख गरे ।

‘यसपटकको प्राथमिकता नम्बर एक भनेकै वित्तीय सहयोग थियो, ऋणले थिचिएका, प्रकोपबाट प्रभावित र नवीकरणीय ऊर्जाको क्रान्तिमा पछाडि परेका विकासशील सहयोग जुटाउनु थियो,’ उनले भने, ‘महत्त्वाकांक्षाअनुसार कोपको परिणाम देखिएन, तर कोपमा भएको यो सहमति एउटा आधार हो, यद्यपि यस सहमतिले थप निर्माण दिन सहयोग गर्ने विश्वास छ ।’

कोप–२९ ले उत्सर्जन कटौती र ऊर्जा रूपान्तरणलाई गति गत वर्ष भएका प्रगतिहरूलाई अगाडि बढाएको र कार्बन बजारमा सहमति पनि ल्याएको गुटेरेसको टिप्पणी छ । महासचिव गुटेरेसले भने, ‘म यसलाई सहमतिको आधारमा हेर्न र यसलाई थप अगाडि बढाउन आह्वान गर्दछु ।’

‘यात्रा कठिन थियो, तर हामीले एउटा सम्झौता हासिल गर्‍यौँ’ 
 
संयुक्त राष्ट्र जलवायु परिवर्तनका कार्यकारी सचिव साइमन स्टिलले जलवायुको न्याय सम्बोधन गर्दै संकटका समाधान खोजिने एउटा कठिन यात्रा भएको बताए । उनले भने, ‘कोप–२९ बाट प्राप्त उपलब्धिले जलवायु संकटको सामना गर्न सहयोग गर्छ । तर, कुनै पनि उपलब्धि तब मात्र प्रभावकारी हुन्छ जब यसको कार्यान्वयन गरिन्छ । वाचा पूरा गरिनुपर्छ, जसले अर्बौँ मानिसको जीवनरक्षा गर्न सकून् ।’