मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ९ आइतबार
  • Sunday, 24 November, 2024
२o८१ मङ्सिर ९ आइतबार १३:३५:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पाँचौँ फोर्टिन स्टार कप हुँदै : ‘बबित बचाऊ अभियान’ र फुटबल सँगसँगै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ९ आइतबार १३:३५:oo

गुल्मीमा पाँचौँ फोर्टिन स्टारकप फुटबल ११ देखि १५ मंसिरसम्म चिदिचौरमा भव्य रूपमा हुँदै छ । तर, जिल्लामा फुटबल खेलको विकासमा इँटा थपिरहेका रेसुंगा नगरपालिका– २ का २८ वर्षीय बबित बुढाथोकी दुवै मिर्गौला फेल भएपछि जीवन–मरणको दोसाँधमा लडिरहेका छन् ।

बबित बेडमा, खेल चिदिचौरमा । क्लबलाई प्रतियोगिताको निरन्तरता र कार्यसमिति सदस्यको जीवन जोगाउने बाध्यता परेको छ । त्यसैले फोर्टिन स्टार युवा क्लबले १४औँ वार्षिकाेत्सवको अवसरमा आयोजित पाँचौँ जिल्लास्तरीय फोर्टिन स्टार कप फुटबलसँगै ‘बबित बचाऊ अभियान’ पनि अगाडि बढाएको छ ।

बबित तीन महिनादेखि मिर्गौला रोगबाट लडिरहेका छन् । एक्कासि खुट्टाहरु सुन्निएपछि गुल्मी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा बुढाथोकीलाई मिर्गौला फेल भएको समस्या देखा परेको थियो । त्यसपछि बुटवल र काठमाडाैंमा स्वास्थ्य परीक्षण गर्दा दुवै मिर्गौला फेल भएकाले अहिले नियमित डाइलाइसिस गरेर बसिरहेको दाजु विक्रम बुढाथोकीले बताए । बुढाथोकीका अनुसार मिर्गौला ट्रान्सपलान्टका लागि परिवारबाट कसैको अनुकूल छैन ।

बाहिर किनेर राख्नका लागि अत्यन्तै महँगाे हुने भएकाले खर्च र स्वास्थ्य प्रतिकूलताको हिसाबले गाह्रो भइरहेको बुढाथोकीले बताए । फोर्टिन स्टार युवा क्लबले बबितको उपचारका लागि ‘बबित बचाऊ अभियान’ जारी राखेको छ ।

अहिलेसम्म स्थानीय क्लबहरूको समन्वयमा भैलो, सांगीतिक कार्यक्रम र व्यक्तिगत सहयोग करिब १७ लाख संकलन भएको फोर्टिन स्टार युवा क्लबका अध्यक्ष नारायण आचार्यले जानकारी दिए ।

उनले खेल अवधिभर पनि सहयोगी मनहरूको सहयोगका लागि याचना गर्ने र खेलपछि बचत हुने रकम पनि बबितको उपचारमा खर्च गरिने बताए । आचार्यले सहयोग राम्रो उठेमा संस्थागत बचत गरेर अरू थुप्रै पीडितहरूको क्षेत्रमा काम गरिनेसमेत बताए । 
 

फुटबलको टाइसिट सार्वजनिक

पाँचौँ फोर्टिन स्टार कप फुटबलको टाइसिट सार्वजनिक गरिएको छ । प्रतियोगितामा अर्जुन बोर्डिङ, पृथ्वी मावि, महेन्द्र मावि, भाडगाउँ मावि, गण्डकी बोर्डिङ, रेसुंगा मावि, आदर्श विद्या आश्रम, रिडर्स पब्लिक हाइस्कुल, देवीस्थान मावि, सिद्धबाबा मावि, उपल्लो तम्घास मावि, पालुखा मावि, लिटिल स्टार बोर्डिङ स्कुल, ब्रिलिन्ड युनाइटेड एकेडेमी र जनसहयोग माविबिच प्रतिस्पर्धा हुने क्लबका सचिव अर्जुन मरासिनीले जानकारी दिए ।

दर्ता भएका १५ विद्यालयहरूबिच टाइसिट गरिएको हो । पहिलो खेल अर्जुन बोर्डिङ र पृथ्वी माविबिच हुने मरासिनीले बताए । ‘ए’ पोलमा अर्जुन बोर्डिङ, पृथ्वी मावि, महेन्द्र मावि, भाडगाउँ मावि, गण्डकी बोर्डिङ, रेसुंगा मावि, आदर्श विद्या आश्रम तथा ‘बी’ पोलमा रिडर्स पब्लिक हाइस्कुल, देवीस्थान मावि, सिद्धबाबा मावि, उपल्लो तम्घास मावि, पालुखा मावि, लिटिल स्टार बोर्डिङ स्कुल, ब्रिलिन्ड युनाइटेड एकेडेमी र जनसहयोग मावि रहेको क्लबका सचिव मरासिनीले जानकारी दिए । कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीले मात्र प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् ।

खेलमा प्रथम र द्वितीय हुनेलाई क्रमशः ३५ हजार र २५ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र उपलब्ध प्राप्त गर्नेछन् । यो वर्ष गत वर्षको विजेता अर्जे माविले प्रतियोगितामा सहभागिता जनाएन । उत्कृष्ट प्रदर्शनले खेल अवधिभर दर्शकको राम्रो साथ र हौसलका साथ चौथो फोर्टिन स्टार कप विजेता नै अहिलेको खेलमा सहभागी नहुनु निकै दुखद विषय भएको क्लबका अध्यक्ष नारायण आचार्यले बताए ।

‘सदरमुकामका प्रतिष्ठत विद्यालयलाई पछि पारेर उपाधि चुम्ने अर्जे मावि नै आएन । क्लबले ठुलो खर्च गरेर राम्रो प्लेटफर्म दिएका छौँ,’ उनले भने, ‘सबैलाई समान अवसर हुँदा पनि सहभागिता नदेखिनु दुखद विषय हो ।’ क्लबले जिल्लामा राष्ट्रिय स्तरका रेफ्रीमार्फत उत्कृष्ट प्रतियोगिताहरू गर्दै आएको छ ।