नेपाल उद्योग परिसंघ (सिएनआई) र साना तथा मझौला जर्मन व्यावसायिक संघ (बिभिएमडब्लू)बीच द्विपक्षीय व्यावसायिक सम्बन्ध एवं सहकार्य हुने भएको छ । बिहीबार सोसम्बन्धी समझदारीपत्रमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र बिभिएमडब्लूका नेपाल प्रतिनिधि शुभाशिष थपलियाले हस्ताक्षर गरेका छन् ।
सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले यस सहकार्यले नेपाल र जर्मनका साना तथा मझौला उद्योगबीचको सम्बन्धलाई बलियो बनाउन सहयोग गर्ने बताए । उनले नेपाल र जर्मन एसएमइजबीचको सहकार्यले दुवै राष्ट्रको विकासमा टेवा पुयाउने र समृद्धितर्फ डोर्याउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपालका लागि जर्मन राजदूत डा. थोमस प्रिन्जले यस सहकार्यले व्यावसायिक तथा लगानी अवसरलाई सहजीकरण गर्न भूमिका खेल्ने बताए । उनले दुवै देशका साना तथा मझौला उद्योगबीचको सहकार्यलाई बढावा दिन र सीमापार व्यापार सहज गर्नसमेत यसले उल्लेख्य योगदान गर्ने बताए ।
बिभिएमडब्लूका नेपाल प्रतिनिधि थपलियाले यस समझदारीको उद्देश्य व्यावसायिक सम्बन्ध अभिवृद्धि गर्ने, लगानी आकर्षित गर्ने र दुवै देशका लागि हित हुने संयुक्त उद्यमका अवसर खोज्ने रहेको बताए । सो अवसरमा परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल उद्योग परिसंघका महानिर्देशक दीपकराज जोशी, सिएनआई वमन लिडरसिप फोरम सदस्य रीता भण्डारीलगायत सहभागी थिए ।
महासंघको पनि समझदारी
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघले जर्मन कम्पनीहरूले नेपालमा लगानी गर्ने वा नेपाली व्यवसायसँग सहकार्य गर्ने सम्भावना खोज्न बिभिएमडब्लूसँग समझदारी गरेको छ ।बुधबार फएनसिसिआईका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बिभिएमडब्लूका कार्यकारी अध्यक्ष क्रिस्टोफ अहलहसले हस्ताक्षर गरेका छन् । एमओयू हस्ताक्षर समारोहमा नेपालका लागि जर्मन राजदूत डा. थोमस प्रिन्जको उपस्थितिमा काठमाडौंस्थित जर्मनी राजदूतावासमा भएको थियो ।
अध्यक्ष ढकालले नेपालले युरोपमा निर्यातमा भन्सारमुक्त पहुँच गुमाउने भएकाले नेपाल विकासोन्मुख मुलुकमा परिणत भएपछि सबैभन्दा बढी असर साना तथा मझौला उद्योगमा पर्ने बताए ।उनले विशेष गरी महिलाद्वारा सञ्चालित साना तथा मझौला उद्योगहरूलाई सहयोग गर्नुपर्नेमा जोड दिए । उनले साना तथा मझौला उद्योगको प्रवद्र्धन र विकासका लागि यो सहकार्य गर्नुपर्ने उनले बताए ।