नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले वर्तमान गठबन्धन सरकार असफल भएको दाबी गरेका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले युवालाई विदेश जानबाट रोक्न सरकार असफल भएको, विदेश जान राहदानी बोकेर हिँडेका युवामाथि तातो गोली चलाएकाले सरकार पूरै असफल भएको बताएका हुन्।
उनले सरकारका मन्त्री ‘स्टन्टबाजी’मा मात्रै लागेको बताए। उनले भने, ‘यो वर्तमान सरकारबाट जनताले कुनै आशा गर्ने ठाउँ भेटिराखेको अवस्था छैन। त्यही कारणले आफ्नो आत्मविश्वास गुमाएर युवा देश छोडेर विदेश भाग्ने क्रममा छन्। जसरी एउटा रुख सुक्यो भने त्यसमा रहेका चराहरू त्यो रुख छोडेर अर्को हरियो रुखतिर जान्छन्, त्यस्तै गरेर यो देशमा मेरो भविष्य छैन भन्ने ठानेर मान्छे पलायन हुनुपर्ने ठाउँमा अहिले परिस्थिति पुगेको छ।’