१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० माघ २३ मंगलबार १०:००:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल टेलिकम २१औँ वर्षमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० माघ २३ मंगलबार १०:००:००

नेपाल टेलिकम स्थापनाको २० वर्ष पूरा गरी २१औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसर पारेर कम्पनीले विभिन्न प्रादेशिक निर्देशनालय र कार्यालयहरूका साथै केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरेको थियो ।  वार्षिकोत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ग्राहकलाई सर्वसुलभ तथा भरपर्दो रूपमा सेवा प्रदान गर्ने खालका नीति, योजना र कार्यक्रम सञ्चालन गर्नु जरुरी भएको बताइन् ।

पूर्वाधार विकास, सेवा पहुँच र सेवा विस्तारलगायतका विभिन्न कार्यक्रम समेटेर १९ जिल्लालाई नमुना दूरसञ्चारयुक्त जिल्ला बनाउने कार्यका साथ अगाडि बढेको चर्चा गर्दै मन्त्री शर्माले आगामी दिनमा सेवामा उल्लेखनीय सुधार र आय वृद्धिका लागि आवश्यक कार्य गर्न निर्देशन दिइन् । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले कम्पनीले संस्थागत सुशासन कायम गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।

आन्तरिक कार्य वातावरण चुस्त बनाउँदै निर्णय प्रक्रिया, कार्य पद्धति र संस्थागत संरचनामा सुधार गरी प्रगतिशील संस्थाका रूपमा कम्पनीलाई विकास गर्नुपर्ने उनको भनाइ थियो । नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष नवराज अधिकारीले नेपालमा दूरसञ्चार सेवाको विकास र विस्तारमा नेपाल टेलिकमको अहं भूमिका रहेको उल्लेख गर्दै प्रविधिको परिवर्तनसँगै कम्पनीलाई समयसापेक्ष सुधार गर्न आवश्यक रहेको बताए । यसका लागि नियामक निकायको तर्फबाट सहयोग, समन्वय र सहजीकरण गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । 

प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले कम्पनीले देशका ७७ वटै जिल्लामा ताररहित फोरजी एलटिई प्रविधिमा आधारित मोबाइल र डेटा सेवा तथा ७४ जिल्लामा अप्टिकल फाइबरमा आधारित एफटिटिएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर वृद्धि भइरहेको बताइन् ।

एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन विभिन्न कार्य भइरहेको, हाइवे नेटवर्क सुधारको कार्य अगाडि बढाइएको र जिल्लावाइज नेटवर्क सुधार गर्ने उद्देश्यले १९ जिल्लालाई नमुना दूरसञ्चार जिल्ला घोषणा गरी तीव्रताका साथ काम अगाडि बढाइएको उनको भनाइ थियो । प्रबन्ध निर्देशक पहाडीले आगामी दिनमा विभिन्न सामुदायिक विद्यालयमा आइसिटी ल्याबको स्थापना गरिने, सरकारी तथा सामुदायिक विद्यालयमा एफटिटिएच डेटा तथा नमस्ते वाइफाई उपलब्ध गराइने बताइन् ।