१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १७:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
दृष्टिकोण डिजिटल संस्करण

नयाँ वर्षसँगै सुन हैयानले ल्याएको चिनियाँ सन्देश

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:४९:oo

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हैयानले १२ देखि १५ माघसम्म प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमण गरिन्। विभागकी उपमन्त्रीको रूपमा सुनको यो पहिलो औपचारिक नेपाल भ्रमण मात्र होइन, नयाँ वर्ष २०२४सँगै आएको पहिलो उच्चस्तरीय चिनियाँ प्रतिनिधिमडल यही हो। विभागका मन्त्री लिउ जियान्चाओको २०२२ मा भएको भ्रमणपछि आएको प्रतिनिधिमण्डलले सन्देश दिएर गएको छ।

पहिलो, चीनले नेपालसँगको सम्बन्धलाई निरन्तर उच्च महत्त्व दिँदै आएको छ। यसले चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ सरकारको नेपालप्रति संलग्नता र सम्मान झल्काएको छ।

दोस्रो, चिनियाँ कम्युनिस्ट पार्टी अब सबै पार्टीहरूलाई इन्गेज्ड गराउन चाहन्छ र सबैसँग छलफल गर्न चाहन्छ, न कि खास विचार मिल्ने कम्युनिस्ट समूहहरूसँग। यसको अर्थ चिनियाँ कम्युनिस्ट पार्टीका पुराना मित्र शक्ति (साना वामपन्थी समूह) पनि छुट्ने छैनन्। सुन हैयानले नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटवार्ता गरिन्। उनले १४ माघमा चिनियाँ कम्युनिस्ट पार्टी र नेपाली राजनीतिक दलहरूको संयुक्त परामर्श छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा, नेमकिपा, जनमत पार्टीसमेतका दोस्रो तहका नेतासँग खुलेर छलफल गरिन्। उनलाई  चिनियाँ कम्युनिस्ट पार्टी मुख्यालयमा नेपाल डेस्क सम्हालेकी जेङ योया (नेपाली नाम सरला)ले भरपुर साथ दिने नै भइन्।

तेस्रो, नेपालमा बिआरआई र नेपाल–चीन सम्बन्धका बारेमा प्रतिकूल बाह्य वातावरण छ र यसलाई यहीँबाट सामना गर्ने चिनियाँ रणनीति उनले स्पष्ट पारेकी छिन्। दलहरूसँगको संवादमा उनले मात्र नभएर नेपालका लागि चिनियाँ राजदूत चेन सोङले पनि खुलेर यो विषय राखेर चीनको प्राथमिकता प्रस्ट पारेका छन्।

उनी नयाँ निर्वाचनपछि चीनसँग नजिकिएको मालदिभ्स, चीन र भारत दुवैलाई सन्तुलनमा राखेको बंगलादेशको भ्रमण गरेर नेपाल आउनु आफैँमा सन्देश हो। यसको अर्थ हो प्रतिकूल सम्बन्ध रहेका वरिपरिका देशसँग सम्बन्ध सुधार गर्ने र सन्तुलित वा ठीकठीकै सम्बन्ध भएका देशसँग संलग्नता र संवाद बढाउने। मालदिभ्सदेखि बंगलादेश र नेपालसम्म आउँदा उनले विशेष गरी महाशक्ति अमेरिका र छिमेकी भारतलाई लक्षित गरेर ‘हाम्रो सम्बन्धमा भ्रम उत्पन्न गर्न खोजिएको छ। हाम्रो बीचमा खेल्न खोज्नेहरू धेरै छन्’ भनेर अबको चिनियाँ निसानाको संकेत गरिन्।

विश्व परिस्थिति अशान्त र तरल रहेको सन्दर्भमा चिनियाँ नेतृले नेपाल चीन सम्बन्धको महत्त्व भूराजनीतिक परिस्थितिका सन्दर्भमा बढेको पनि उनले सन्देश दिइन्। सिंगापुरमा रहेर राजदूतका रूपमा कार्य गर्दाको अनुभवसमेत सँगालेर उनले नेपाल चीनको प्राथमिकताको अग्रस्थानमा रहेको संकेत गरिन्।

‘हैयानको सुन्दर र सुरुचिपूर्ण आचरण, आत्मविश्वासी एवं न्यानोपनको विशेषता भएको कूटनीतिक शैलीले नेपालमा व्यापक ध्यान खिचेको हामीले पाएका छौँ। यसलाई गुलाब कूटनीतिभन्दा पनि फरक पर्दैन,’ संयुक्त छलफलमा सहभागी एकजना नेपाली नेताले सुनाए।

उनको प्रभावशाली कूटनीतिक पृष्ठभूमि छ। उनी चीनको प्रतिष्ठित पेकिङ विश्वविद्यालयबाट स्नातक, सञ्चार उद्योगमा संलग्न थिइन् भने विगतमा उनले सिंगापुरमा चिनियाँ राजदूतको अनुभव हासिल गरेकी छिन्। उनी  दक्षिण एसियाली मामिलामा संलग्न छिन्।

सुनले दुई देशका जनताको सम्बनधमा विश्वास अघि बढाउने गरी काम गर्नुपर्ने समय आएको र यो वर्ष यसका लागि योजना बनाउने भन्दै राजनीतिक नेताहरूलाई गृहकार्य दिएकी छिन्।

यही पृष्ठभूमिमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले शुभेच्छा र सन्देश दिएको भन्न भ्याइन्। उनले सीको सन्देश के थियो, स्पष्ट रूपमा कसैलाई पनि भनिनन्, तर आफ्नो सन्देशलाई नै उनले सीको सन्देशका रूपमा दिएर उनी फर्केकी छिन्। बदलिँदो परिवेशमा नेपाल-चीन सम्बन्ध कस्तो हुने? सुनले गृहकार्य दिएकै छिन्, तर नेपाल आफैँले यसको ब्लु प्रिन्ट तयार गर्नुपर्ने समय आएको छ।

ad
ad