१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o९:१५:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सुक्खाग्रस्त बर्दिया राष्ट्रिय निकुञ्ज

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:१५:oo

गेरुवा नदीमा पानीको बहाव घटेपछि निकुञ्जको अधिकांश भाग सुक्खा, सुक्न थाले रूख र घाँसेमैदान 

पानी अभावका कारण बर्दिया राष्ट्रिय निकुञ्ज सुक्खाग्रस्त भएको छ । कर्णाली नदीको पूर्वी भँगालो गेरुवा नदीमा पानीको बहाव न्यून हुँदा निकुञ्ज सुक्खा भएको हो । निकुञ्जको पश्चिम सिमाना भएर बग्ने गेरुवा नदीमा ०७० देखि पानीको बहाव कम हुँदै गएको छ । कर्णाली नदीको दुवै भँगालो छुट्टिने स्थान लालमटियामा र गेरुवा नदीको भँगालोमा ढुंगा, गिट्टी, बालुवा थुप्रिँदा पानी घटेको हो । निकुञ्जका अनुसार लालमटिया क्षेत्रमा ६ लाख घनमिटर नदीजन्य पदार्थ थुप्रिएको छ । 

निकुञ्जको मुख्य क्षेत्रमा पर्ने गेरुवा नदीमा नदीजन्य पदार्थको उत्खनन हुँदैन । तर कर्णाली नदीको पश्चिम भँगालोमा नदीजन्य पदार्थ उत्खनन हुने गर्दछ । नदीजन्य पदार्थको उत्खननका कारण पश्चिमतर्फको नदी गहिरो हुँदै जानु र उत्खनन नहुँदा पूर्वतर्फको गेरुवा नदी उच्च हुँदै जानाले पनि गेरुवामा पानी सुक्दै गएको हो ।

प्राकृतिक कारण र नदीजन्य पदार्थ उत्खननका कारण पश्चिम भँगालोमा पानी बढी जाँदा गेरुवा नदीमा पानी सुकेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत आशिष न्यौपानेले बताए । गेरुवा नदीमा पानी सुकेपछि निकुञ्जको अधिकांश भाग सुक्खा क्षेत्रमा परिणत भएको उनको भनाइ छ । ‘पानी अभावमा सानादेखि ठूला रूख मर्न थालेका छन् । घाँसेमैदान सुक्न थालेका छन् । निकुञ्जभित्र बग्ने साना–ठूला नाला तथा खोल्सा सुकेका छन्,’ उनले भने । नदी, खोलानालामा पानी सुकेपछि माटोले पानी सोस्न नपाउँदा सुक्खा क्षेत्र बनेको संरक्षण अधिकृत न्यौपानेले बताए । 

कुनै समय निकुञ्जको मध्य भागबाट बग्ने खौराहा खोलामा गेरुवा नदीदेखि र्‍याफ्टिङ गर्दै जंगली जनावर हेर्न पाइन्थ्यो । तर अहिले गेरुवा नदीबाट आउने स–साना खोल्सामा पानी सुकेपछि निकुञ्जका जीवजन्तु पानी खान नपाएपछि छट्पटिइरहेका छन् । जंगली जनावरको वासस्थान पानी अभावका कारण साँघुरिँदै गएको छ । जंगली जनावर पानी पाइने स्थानतर्फ जान थालेका छन् । पानी अभावका कारण गेरुवा नदीमा डल्फिन देखिन छाडेको छ । खौराहा खोला र गेरुवा नदीमा पाइने गोही लोप हुन थालेका छन् । बाघ, हात्ती, गैँडाजस्ता पानीमा खेल्न मन पराउने जीवजन्तु समस्यामा परेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जभित्रका खोलानाला सुक्दै गएपछि सुक्खायाम लाग्नुभन्दा अगाडि नै जनावरलाई पानी अभाव भइसकेको छ । ‘जाडोयाममै पानी नभएर जंगली जनावर भौँतारिरहेका छन् । अझ चैत–वैशाखमा के अवस्था होला,’ बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा.अशोककुमार रामले भने । गत वर्षको सुक्खायाममा पानी अभावमा जंगली जनावर छटपटाएका थिए । यसपटक त्यो समस्या अहिलेदेखि नै सुरु भएको उनले बताए । लालमटिया क्षेत्रको नदीजन्य पदार्थ हटाएर गेरुवा नदीमा पानी फर्काउने प्रयास भए पनि सफल नभएको उनले बताए । ‘निकुञ्जबाट आवश्यक अध्ययन गरेर पठाएका छौँ, निकुञ्ज विभागको टोली, सिँचाइ विभागको टोलीसमेत अध्ययन गरेर गएको छ । छिट्टै समस्याको समाधान होला,’ रामले भने ।

पानी फर्काउने निर्णय अलपत्र
६ वर्षदेखि कर्णालीको पानी गेरुवा नदीमा फर्काउने प्रयास सफल हुन सकेको छैन । नदीमा पानी अभाव भएपछि जैविक विविधतामै असर परेकाले निकुञ्जले पानी फर्काउन पहल थालेको थियो । तर, सरकारले आवश्यक नीति नबनाइदिँदा हालसम्म पानी फर्काउने अभियान सफल हुन नसकेको हो । कर्णालीको पानी गेरुवामा फर्काउन दुवै भँगालो छुट्टिने स्थान लालमटियालगायत क्षेत्रको नदीजन्य पदार्थ हटाउनुपर्ने हुन्छ । राष्ट्रिय निकुञ्ज विभाग तथा निकुञ्जको प्रारम्भिक अध्ययनअनुसार सो क्षेत्रमा करिब ६ लाख घनमिटर नदीजन्य पदार्थ उत्खनन गरेर हटाउनुपर्ने भएको छ । 

यसअघि निकुञ्ज विभागले ०७४ चैतमा लालमटिया क्षेत्रको नदीजन्य पदार्थ निकालेर गेरुवामा फर्काउने निर्णय गरेको थियो । तर, त्यो नीतिगत कारण देखाएर लागू गरिएको थिएन । तत्कालीन बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज शाहको पहलमा नदीजन्य पदार्थ व्यवस्थापन गर्ने विषयमा छलफल भएको थियो । 

व्यवस्थापन कसरी गर्ने, निजी क्षेत्रसँग कसरी समन्वय गर्ने भन्ने विषयका कारण निर्णय कार्यान्वयन भएको थिएन । प्रमुख संरक्षण अधिकृत अशोक रामले लालमटिया क्षेत्रको नदीजन्य पदार्थ हटाउन नीतिगत समस्या रहेको बताए । सरकारले नीतिगत निर्णय गरेमा दीर्घकालीन समस्या समाधान हुने उनको भनाइ छ ।

निकुञ्जले सुक्खा क्षेत्रमा जंगली जनावरलाई थोरै राहत होस् भनेर कृत्रिम ताल निर्माण गरेको छ । बर्सातको समयमा पानी जम्मा भई हिउँदको समयमा जंगली जनावरलाई पानी खुवाउने उद्देश्यले कृत्रिम ताल निर्माण गरेको निकुञ्जले जनाएको छ । हालसम्म निकुञ्जले एक सय ८२ वटा कृत्रिम ताल निर्माण गरेको छ । जसमा ४७ वटा तालमा सोलार पम्प जडान गरिएको छ । अधिकांश ताल गेरुवा नदी पश्चिम कर्णालीतर्फ फर्किएपछि निर्माण भएका हुन् । सोलार पम्प जडान गरेका पोखरीमा निरन्तर पानी रहने भए पनि अरू ताल भने बिस्तारै सुक्दै गएको निकुञ्जले जनाएको छ । लामो समयसम्म वर्षा नहुँदा कृत्रिम तालमा पनि पानी सञ्चिति कम हुने गरेको छ । निकुञ्जका संरक्षण अधिकृत न्यौपानेले कृत्रिम तालले पूर्ण रूपमा समस्या समाधान नभए पनि केही हदसम्म वन्यजन्तुलाई राहत मिलेको बताए । 

सिँचाइको समस्या पनि उस्तै 
गेरुवा नदीमा पानी सुकेपछि ठाकुरबाबा नगरपालिका– ९ र मधुवन नगरपालिका– १ का किसान मर्कामा परेका छन् । पानी पर्याप्त नहुँदा ती क्षेत्रका करिब १७ हजार बिघा जमिन सिँचाइबाट वञ्चित भएको छ । बर्सातको समयमा समेत सिँचाइमा प्रभाव परेको सो क्षेत्रमा हिउँदको समयमा किसानले गहुँ–तोरीमा सिँचाइ गर्न पाएनन् । चैतेधानको पकेट क्षेत्रका रूपमा अगाडि बढाउँदै गएको सो क्षेत्रमा केही वर्षयता चैतेधान लगाउन पाइएको छैन । गेरुवा गाउँपालिका र राजापुर नगरपालिकाको केही भागमा समेत सिँचाइ अभाव भएको छ । 

गेरुवा नदीमा रहेको एक हजार १५ मिटर लामो पुलको सौन्दर्य नै हराएको छ । पानी सुकेपछि कुनै समय नेपालको लामो पुलका रूपमा चिनिएको पुलको सौन्दर्य हराएको हो । पुलमुनिबाट दुईवटा भँगालो भएर बगेको गेरुवा नदीको एकतर्फ पूरै पानी सुकेको छ भने अर्कोतर्फ अत्यन्त न्यून छ । हिउँदको समयमा खहरे खोला सुकेजस्तै नदी सुक्न थालेको स्थानीय बताउँछन् । केही वर्षअघि नेपालकै लामो पुलको दृश्यावलोकनसहित नदीमा डुंगा सयर गर्ने, डल्फिन, गोही र विभिन्न प्रजातिका चराको अवलोकन गर्नेको घुइँचो लाग्ने गरेको थियो । तर, अहिले नदीमा पानी अभावसँगै पर्यटकको आगमन घटेको छ । पर्यटकको आकर्षण बनेको कोठियाघाट बजार अहिले सुनसान बनेको छ । 

ad
ad