१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
आहा रारा पोखरा गोल्डकप उपाधिका साथ त्रिभुवन आर्मीका खेलाडी । तस्बिर : नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:५o:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आहा रारा गोल्डकप : पाँचौँ प्रयासमा आर्मी च्याम्पियन 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:५o:oo

विभागीय टोली त्रिभुवन आर्मी एफसीले पाँचौँ प्रयासमा आहारारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा भएको रोमाञ्चक प्रतिस्पर्धामा आर्मीले पाँचपटकको च्याम्पियन थ्री स्टार क्लबलाई ३–० ले पराजित गर्‍यो । २३औँ संस्करणसम्म आइपुग्दा पाँचपटक फाइनल पुगेको आर्मी पहिलोपटक च्याम्पियन भएको हो ।

नेपाली फुटबलका सफल प्रशिक्षक मेघराज केसी आर्मी पुगेसँगै पहिलोपटक उपाधि उचालेको हो । नवीन न्यौपानेले जिम्मेवारी छाडेपछि आर्मीले केसीलाई अनुबन्ध गरेको थियो । उपाधि पनि भने केसी खुसी देखिए । उनले खेलको पाँचमध्ये तीनपटक उपाधि जिताएका छन् । ‘मैले प्रतियोगितामा पाँचपटक खेलाएको छु । जसमा तीनपटक उपाधि र दुई टक उपविजेता बने । यो आफैँमा कीर्तिमान हो,’ उनले भने, ‘यसमा मलाई गर्व छ ।’

आर्मीको जितमा कार्यवाहक कप्तान जिलेस्पीजंग कार्की, पत्तेमान घले र वसन्त जिम्बाले गोल गरेका थिए । नियमित कप्तान भरत खवास घाइते भएपछि आर्मीको आर्म ब्यान्ड जिलेस्पीले लगाएका हुन् । जिलेस्पी, दिनेश हेम्जन, विमल पाण्डे र जितेन्द्र कार्कीपछि आर्मीले सबै नयाँ खेलाडीलाई अवसर दिएको थियो । घाइते हुँदा फाइनलमा दिनेशसमेत मैदान उत्रिएनन् । आर्मीले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । विजेता आर्मीले १२ र उपविजेता थ्री स्टारले ६ लाख प्राप्त गरेका छन् । 

२१ वर्षपछि आर्मीलाई उपाधि 
६० सालमा पहिलोपटक प्रतियोगितामा सहभागी भएको २१ औँ वर्षमा उपाधि हात पार्न सफल भएको हो । २३औँ संस्करणसम्म आइपुग्दा आर्मी र थ्री स्टारबीच दोस्रो भेट हो । ७५ सालको फाइनलमा थ्री स्टार पेनाल्टी सुटआउटमा ५–४ ले विजयी भएको हो । उपाधिसँगै आर्मीले पाँच वर्षको अन्तरालमा हारको बदला लिएको छ । आर्मी पहिलोपटक उपाधि हात पार्दै इतिहास रच्ने योजनासहित मैदान उत्रेको थियो भने थ्री स्टार ६ पटक उपाधि उचाल्ने लक्ष्यमा थियो । प्रशिक्षकको रूपमा पहिलो उपाधि जित्ने विक्रम लामाको योजना भने सफल हुन सकेन । थ्री स्टारले सातौँपटक फाइनल खेलेको छ । 

प्रतियोगितामा ११ स्वदेशी र एक विदेशी गरी १२ टोलीले प्रतिस्पर्धा गरेका थिए । आर्मी र थ्री स्टारसँगै नेपाल पुलिस, एपिएफ, जावलाखेल, राइजिङ स्टार, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मस्र्याङ्दी क्लब, मच्छिन्द्र, आयोजक सहारा क्लबसँगै भुटानको पारो एफसी सहभागी भएका थिए । 

जिलेस्पीले दिलाए अग्रता 
खेलको ३९औँ मिनेटमा कप्तान जिलेस्पीजंगले हेडर गोल गर्दै आर्मीलाई अग्रता दिलाएका हुन् । सिद्धान्त चौधरीले प्रहार गरेको कर्नर बललाई बक्सभित्र अनमार्क रहेका जिलेस्पीले सीधै जाली चुमाउँदा आर्मीले पहिलो हाफमा १–० को अग्रता बनायो । ८३औँ मिनेटमा फत्तेमानले आर्मीको अग्रता दोब्बर बनाएका हुन् । ६ मिनेटको इन्जुरी समयको चौथो मिनेटमा वसन्तले गोल गर्दै आर्मीलाई सहज जित दिलाएका हुन् । यसअघि खेलको सुरुदेखि नै दुवै टोली आक्रामक रूपमा मैदान उत्रिएका थिए । थ्री स्टारको तुलनामा आर्मीले बढी अवसर सिर्जना गरेको थियो । 

रणनीति परिवर्तन गर्दा सफल भयौँ : मेघराज केसी, प्रशिक्षक, आर्मी 
अघिल्ला तीन खेलभन्दा फाइनलमा राम्रो खेल्न सफल भयौँ । फाइनलमा रणनीति परिवर्तन गर्दा सफल भएका छौँ । जसले गर्दा मिडफिल्डरले खेलेर खेल्न पाए र दबाब सिर्जना गरेका थिए । खेलमा के आवश्यकता हुन्छ सोहीअनुसार खेल्ने हो । त्यसैले उपाधिसमेत चुम्न सफल भयौँ । योसँगै मैले प्रतियोगितामा पाँचपटक फाइनल खेलेकोमा तीनपटक विजेता र दुईपटक उपविजेता बन्न सफल भएको छु । आजको जितसँगै उपाधिमा ह्याट्रिक गर्न पाउनु भनेको इतिहास पनि हो । यसमा मलाई गर्व छ ।

खेलाडीले राम्रो खेलेका हुन् : विक्रम लामा, प्रशिक्षक, थ्री स्टार
पराजित भए पनि खेलाडीले भने राम्रो खेलेको छन् । सेमिफाइनल निकै प्रतिस्पर्धात्मक भएकाले खेलाडी थाकेका थिए । फाइनलमा जुन रूपमा खेल्नुपर्ने हो खेल्न सकेनन् । दोस्रो हापमा केही अवसरहरू सिर्जना गरेका थियौँ, तर सदुपयोग गर्न सकेनौँ । टोलीमा नयाँ र युवा खेलाडी भएकाले केही अनुभवको कमी पनि रह्यो । जे भए पनि टोलीको खेल प्रति सन्तुष्ट छु ।

विमल सर्वाेत्कृष्ट खेलाडी 
प्रतियोगितामा आर्मीका रक्षक विमल पाण्डे सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले एक थान स्कुटर प्राप्त गरे । आर्मीकै समित श्रेष्ठ उत्कृष्ट गोलकिपर बनेका छन् । थ्री स्टारका विकेक पौडेल उत्कृष्ट मिडफिल्डर र आर्मीका जिलेस्पीजंग उत्कृष्ट स्ट्राइकर घोषित भए । तीन गोल गरेका आर्मीका मिडफिल्डर दिनेश हेम्जन सर्वाधिक गोलकर्ता चुनिए । उत्कृष्ट प्रशिक्षक केसी नै भए । उत्कृष्ट सबैले जनही २५ हजार पाएका छन् । फेयर प्ले अवार्ड जावलाखेलले पायो । 

ad
ad