१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

चिसोमा अपनाउनुहोस् यस्ता सावधानी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:१६:oo

तापक्रम घट्दै छ । हिमाली क्षेत्रमा हिमपात र तराईमा शीतलहरले जनजीवन कष्टकर बनाइरहेको छ । यही समय तीर्थयात्रा, साहसिक खेल तथा हिमपात हेर्न यात्रा गर्नेहरूको संख्या पनि ठूलो रहने गर्छ । फोक्सोमा समस्या भएका, वृद्धवृद्धा तथा बालबालिकाले जाडोमा धेरै चिसो स्थानमा हिँडडुल नगर्नु नै राम्रो हुन्छ । वयस्कहरूले पनि यात्रामा जाँदा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । शरीर ढाक्ने गरी न्यानो कपडा लगाउनुपर्छ । टोपी, पञ्जा, बाक्लो मोजा, मफलर लगाउनु राम्रो हुन्छ । 

समस्या
यस समयमा ज्वरो आउने, रुघाखोकी, श्वास–प्रश्वासमा समस्या, छाला फुट्ने, कोल्ड एलर्जीलगायत विभिन्न समस्या देखिन्छ । अन्य समयको दाँजोमा चिसोमा वृद्धवृद्धामा दम तथा प्रेसर बढ्ने गर्छ । औषधिमा गडबडी भयो भने पहिलेदेखि प्रेसर भएकाहरूलाई हृदयाघात, पक्षघातलगायत समस्या पनि हुन सक्छ । त्यसैले प्रेसर, सुगरलगायत नियमित सेवन गर्ने औषधि छुटाउनुहुँदैन ।

जथाभावी औषधिको प्रयोग गर्नुहुँदैन । चिकित्सकसँग परामर्श गरेर मात्रै औषधि प्रयोग गर्नुपर्छ । दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूले पनि विशेष ख्याल गर्नुपर्छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा विभिन्न संक्रमण सर्न सक्ने भएकाले बाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ । यसले प्रदूषणबाट पनि जोगाउँछ । 

शारीरिक सक्रियता 
अर्ली मर्निङमा निस्कन हुँदैन । घाम अस्ताएपछि पनि निस्कन हुँदैन । अर्ली मर्निङमा हिँड्ने, स्कुल जाने बालबालिकामा पनि सिजनल फ्लु, रुघाखोकीको समस्या देखिन सक्छ । यसले फोक्सोमा पनि असर गर्न सक्छ । त्यहीकारण, घाम लागेर न्यानो भएपछि निस्कँदा राम्रो हुन्छ । घरभित्रै व्यायाम तथा योगा पनि गर्न सकिन्छ । यसले शारीरिक रूपमा सक्रिय राख्छ र चिसो पनि हुन दिँदैन । त्यस्तै, बिहानीपख केही समय घाममा बस्दा भिटामिन डी प्राप्त हुन्छ । निस्कनै परेमा मास्क, शरीर ढाक्ने गरी न्यानो कपडा लगाएर निस्कनुपर्छ । 

खानपान 
चिसोमा फ्रोजन आइटम खानु राम्रो हुँदैन । रुघाखोकी, आस्थामाको बिरामीलाई खानाले पनि एलर्जी गराउन सक्छ । दही, केरा, अनारले चिसो महिनामा धेरैलाई एलर्जी हुन सक्छ । कसै–कसैलाई सुन्तला, जुनारले पनि एलर्जी गर्न सक्छ । बासी खाना खानुहुँदैन । मनतातो पानी पिउनु राम्रो हुन्छ । वृद्धवृद्धाले दैनिक एउटा स्याउ खाँदा हुन्छ । डायबिटिज, युरिक एसिड, हाइपरटेन्सलगायतका बिरामीलाई यसले राम्रो गर्छ । पाचनप्रणाली पनि राम्रो गराउँछ । कब्जियतको समस्या पनि हुँदैन । तातो कुराहरू बढी खानुपर्छ । झोलिलो सुप, नट्स, काजु, पेस्ता भुटेर पनि खान सकिन्छ । कोठाको तापक्रम पनि न्यानो बनाइराख्नुपर्छ । भेन्टिलेसन मेन्टेन गर्नुपर्छ । सीधा हावा आउन दिनुहुँदैन । हिटर बाल्दा झ्यालहरू खोलेर राख्नुपर्छ । सुत्नुअघि हिटर बन्द गर्नुपर्छ ।

घुम्न जाँदा... 
चिसोको असरका कारण दीर्घरोगी, मुटुरोगी, प्रेसर भएकाहरू हृदयाघात, पक्षघात, दमको रोग बिग्रिएर आइसियूमा भर्ना हुनुपर्ने अवस्था पनि आउन सक्छ । त्यहीकारण, दीर्घरोगी तथा वृद्धवृद्धाले जाडोमा उच्च स्थानमा घुम्न नजाँदा राम्रो हुन्छ । जानैपरे फिजिसियनको सल्लाहअनुसार आवश्यक औषधि बोकेर जानुपर्छ ।  

ad
ad