१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १o:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सौराहामा आन्तरिकसँगै बाह्य पर्यटकको भिड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:३१:oo

सौराहा आउने पर्यटकका रोजाइमा ढुंग्रेखोलामा डुंगा सयर  

चितवन राष्ट्रिय निकुञ्जसँगै यस आपपासमा रहेका मध्यवर्ती सामुदायिक वन पनि पर्यापर्यटनका लागि उत्कृष्ट गन्तव्य हुन् । यहाँ आउने आन्तरिक र बाह्य पर्यटकलाई सामुदायिक वनमा जैविक विविधतासँगै वन्यजन्तु र चराचुरुंगी देखाउने गरिएको छ । यसैमध्येको एक चितवनको मृगकुञ्ज उपभोक्ता समितिअन्तर्गत रहेको जनकौली मध्यवर्ती सामुदायिक वन पनि पर्यटकीय गतिविधिका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास हुँदै गइरहेको छ । 

सौराहा घुम्न आउने पर्यटक यहाँ रहेको ढुंग्रेखोलामा डुंगा सयर गर्न रुचाउँछन् । रत्ननगर नगरपालिका– ५ र ६ मा पर्ने सो सामुदायिक वन सौराहासँगै जोडिएको छ । जनकौली मध्यवर्ती सामुदायिक वनको अध्यक्ष जोगेन्द्र महतो खोलामा डुंगा सयर गर्दा गोही, डेढ सयभन्दा बढी प्रजातिका माछा, अजिंगर चाराचुरुंगी र वन्यजन्तु हेर्न सकिने बताए । ‘यहाँ पानी खान र आहाल खेल्न आएका गैँडा प्रशस्त देखिन्छ,’ उनले भने, ‘डुंगामा चढेर वन्यजन्तुको अवलोकन गर्न पाउँदा पर्यटकहरू खुसी हुन्छन् ।’ उनले यहाँ घुम्न आउने पर्यटकका लागि डुंगा सयरसँगै जंगल वाक, बर्ड वाचिङ, सर्ट जंगल ड्राइभ, इलिफेन्ट विथ वाकलगायतका प्याकेज दिने गरेको बताए । यहाँ पर्यटकलाई रातको समयमा वास बसेर वन्यजन्तु अवलोकन गर्ने मचान पनि निर्माणको तयारी गरिरहेको महतोले जानकारी दिए ।

‘कोभिडपछि यस वर्ष पर्यटकको आवागमन राम्रो छ,’ उनले भने, ‘आन्तरिकसँगै बाह्य पर्यटकको पनि भिड छ ।’ ढुंग्रे खोला कुमरोज र जनकोली सामुदायिक वनको सिमाना भएर बग्ने गर्छ । डुंगाघाटबाट हात्तीसारसम्म डुंगा चलाउने गरिएको छ । डुंगा सफारी गर्ने पर्यटकलाई केही समय जंगल वाक गराएर राष्ट्रिय प्राकृतिक संरक्षण केन्द्रको म्युजियम र निकुञ्जको हात्तीसारमा घुमाउने गरिएको छ । डुंगा सयर गर्दा आन्तरिक पर्यटकका लागि  चार सय ५० र बाह्य पर्यटकका लागि  पाँच सय ५० रुपैयाँ शुल्क लिने गरिएको छ ।

अध्यक्ष महतोले चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षणको कोषका हरेक संरक्षणमा सामुदायिक वनले सहभागिता जनाउने गरेको बताए । चोरी सिकारी नियन्त्रणमा र मध्यवर्तीका स्थानीयलाई विभिन्न सीपमूलक तालिममार्फत जीविकोपार्जनका कार्यक्रमसमेत सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले सौराहाको पर्यटन विकासका लागि ढुंग्रे खोलाको डुंगा सयरले महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए । मृगकुञ्ज उपभोक्ता समितिअन्तर्गत पाँच सामुदायिक वन रहेको भन्दै उनले सबै वनको आ–आफ्नो विशेषता रहेको जानकारी दिए । 

उनले सौराहा आउने पर्यटकका लागि डुंगा सयर राप्तीपछिको गन्तव्य ढुंग्रेखोला भएको बताए । डुंगा सयरबाट मात्रै यस सामुदायिक वनले वार्षिक  १५–१६ लाखको कारोबार गर्ने गरेको उनको भनाइ छ । यहाँ हुने आम्दानीको ३० प्रतिशत कुमरोज र ७० प्रतिशत जनकौली सामुदायिक वनले लिने गरेका छन् । ‘यहाँका समुदायिक वनको आयस्रोत पर्यापर्यटन नै हो, वन्यजन्तु र वनस्पति देखाएर पर्यटकलाई आकर्षित गर्न सकिन्छ,’ उनले भने ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले मध्यवर्ती क्षेत्रका समुदायिक वनमा कोभिडपछि यस वर्ष पर्यटक सबैभन्दा धेरै आएको बताए । उनले जलचर प्राणी र चराचुरुंगीका लागि ढुंग्रेखोला क्षेत्र उत्कृष्ट वासस्थान भएको बताए । उनले मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले पनि यहाँ विभिन्न माध्यममार्फत पर्यटन प्रवर्द्धनमा सहयोग गरिरहेको जानकारी दिए ।
 
 

ad
ad