विश्वकै प्रतिष्ठितमध्येको एक मानिने ‘भारत रंग महोत्सव’मा नेपाली नाटक ‘क्लेशाः’ छनोट भएको छ। राष्ट्रिय नाट्य विद्यालय (एनएसडी)को आयोजनामा फेब्रुअरी १ देखि सुरु महोत्सवमा यो नाटक छनोट भएको हो।
प्रतीक्षा कट्टेलको लेखन र विजया कार्कीको परिकल्पना तथा निर्देशन रहेको यो नाटक फेब्रुअरी १७ देखि १९ सम्म महोत्सवमा मञ्चन हुनेछ।
यो नाटक भारत रंग महोत्सवमा सन् २०२२ को लागि छानिएको थियो। तर, कोभिड– १९ का कारण महोत्सव हुन सकेको थिएन। महोत्सव आयोजकले पुनः यसपटक बोलाएको हो।
यसपटक छानिएका ६२ वटा नाटकमा एक मात्र अन्तर्राष्टिय नाटक रुसबाट रहेको छ। त्यसका अलवा २०२२ मा छानिएका केही नाटकलाई आमन्त्रण गर्दा नेपाली नाटक ‘क्लेशाः’ समावेश भएको हो। महोत्सवअन्तर्गत नेपाली नाटक ‘क्लेशाः’को नयाँ दिल्ली र रामनगरमा गरी दुई मञ्चन हुनेछ।
सन् १९९९ बाट सुरु भएको महोत्सवमा यसअघि सुनील पोखरेल, अनुप बराल, विमल सुवेदीलगायत एनएसडीबाट प्रशिक्षित नेपाली रंगकर्मीहरूसहित अन्य रंगकर्मीहरूले सहभागिता जनाइसकेका छन्।
यसपटक भारत रंग महोत्सवमा नेपालबाट नयाँ पुस्ताका युवा निर्देशकको डेब्यु नाटकले नै प्रतिनिधित्व गर्न लागेको हो। ‘क्लेशाः’ विजया कार्कीको डेब्यु निर्देशन हो। नाटकमा सरिता गिरी, सुरक्षा पन्त, कुशल पाण्डे, सुदीप खतिवडा, विजय बराल, विकास जोशी, रोसनी कार्की, स्वप्निल घिमिरे, सन्दीप श्रेष्ठ, संयोग गुरागाईं, मिलन कार्की, सुजन खतिवडा, सबिना थापा र रुजा राउतको अभिनय छ।
फेब्रुअरी १ देखि २६ सम्म हुने महोत्सवमा यस वर्ष भारतको ५९ वटा, रुसको एउटा र दुईवटा लोकनाटक छनाेट भएको आधिकारिक वेबसाइटमा उल्लेख छ। साथै, २०२२ का लागि छानिएको नाटकमध्ये समावेश केही नाटकमा ‘क्लेशाः’ परेको हो।