१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १o:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्डलाई ओलीको ज्ञापनपत्र 

नीति तथा कार्यक्रम र बजेटलाई सकेसम्म जनमुखी बनाउँछौँ : प्रधानमन्त्री 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:२६:oo

४६ वटा विषयका ७५१ बुँदे माग

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ । एमाले अध्यक्ष केपी ओलीसहित पदाधिकारीहरू सम्मिलित टोलीले मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर जनताको समस्या र सरकारले गर्नुपर्ने कामका विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो ।

झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा जनस्तरबाट आएका सुझाव, माग र समस्या समेटेर एमालेले  प्रधानमन्त्रीकाे ध्यानाकर्षण गरेकाे छ । १८ दिने यात्राका क्रममा स्थानीय रूपमा प्राप्त भएका ४६ वटा विषयका सात सय ५१ वटा माग छन्। जसमा सडक पूर्वाधार, अस्पताल, विद्यालय, मोटरेबल पुल, कृषि, पशुपालन, विद्यालय र उत्पादित कृषि वस्तुको बजार व्यवस्थासम्बन्धी विषय छन्। 

एमाले अध्यक्ष ओलीले भने, ‘मैले प्रधानमन्त्रीलाई यी माग दराजमा थन्क्याएर नराख्नुहोला भनेको छु। प्रधानमन्त्रीले सरकारको नीति, कार्यक्रम र बजेटमा यी विषयलाई जति सक्दो समावेश गर्ने वाचा गर्नुभएको छ। यी माग पूरा गर्न र निरन्तर फलोअप गर्न हामीले पूर्वअर्थमन्त्री तथा हाम्रो पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी दिएका छौँ।’

नीति तथा कार्यक्रम र बजेटलाई सकेसम्म जनमुखी बनाउँछौँ : प्रधानमन्त्री 

प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको प्रतिनिधिमण्डलसँगको छलफलमा उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचा, समय र प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागिएकाले यसबाट राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको बताए ।

एमालेको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले मध्यपहाडी क्षेत्रका विकास निर्माण, जनसेवा र समृद्धिका विषयमा एमालेले प्रस्तुत गरेको ध्यानाकर्षणले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउँदै उक्त अभियानले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणमा महत्त्वपूर्ण सहयोग पुगेको बताए ।

उनले एमालेद्वारा प्रस्तुत ध्यानाकर्षणपत्र मध्यपहाडी क्षेत्रका जनता, सबै राजनीतिक दल र नेपाल सरकारको समेत मुद्दा भएकाले सम्बोधन गर्न सकिने जति विषयहरू सम्बोधनका निम्ति सरकार गम्भीर रूपमा लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।     
     

ad
ad