भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा सोमबार रामको बालस्वरूप मूर्तिको प्राणप्रतिष्ठा भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको अयोध्या जिल्लामा निर्मित राम मन्दिरमा राखिएको बालस्वरूप मूर्तिको प्राणप्रतिष्ठा गरेका छन् । केही महिनामा भारतमा लोकसभा निर्वाचन हुन लागेकाले मन्दिर निर्माण एउटा राजनीतिक मुद्दा पनि बनेको छ ।
मोदीले प्राणप्रतिष्ठामा सहभागीलाई सम्बोधन गर्ने क्रममा २२ जनवरी २०२४ लाई पात्रोको सामान्य मिति नभएर भारतमा नयाँ कालचक्रको उद्भव भएको बताएका छन् । ‘२०२४ जनवरी २२ भनेको पात्रोको एउटा सामान्य मिति होइन, यो नयाँ कालचक्रको उद्भव हो । मानिसहरूले अबको हजारौँ वर्षपछि पनि यो क्षण र यो मितिको चर्चा एवं सम्झना गरिरहनेछन्,’ भारतीय प्रधानमन्त्री मोदीले भने ।
भारतभरि हिन्दु समाजले राम मन्दिरको प्राणप्रतिष्ठालाई विजयका रूपमा मनाइरहँदा प्रधानमन्त्री मोदीले यो विजयभन्दा विनयको क्षण भएको टिप्पणी गरे । ‘आज भारतीय समाजको परिपक्वताको क्षण हो । यो सामान्य समय होइन, आजको दिन नयाँ कालचक्र लामो समयसम्म रहने अमिट स्मृति रेखा हो,’ उनले भने, ‘प्रभु श्रीराम भारतीयहरूको मात्र नभएर सबैका हुन् । राम वर्तमानका लागि मात्र होइनन्, युगौँसम्मका लागि हुन् ।’
मोदीले राम मन्दिर अब विकसित भारतको उत्कर्ष र उदयको साक्षी बन्ने पनि उद्घोष गरे । ‘यो भारतको दृष्टि, दर्शन र दिग्दर्शनको मन्दिर हो,’ उनले भने, ‘यो रामको रूपमा राष्ट्र चेतनाको मन्दिर हो । अयोध्यामा साक्षात् भारतीय संस्कृतिप्रति अटुट विश्वास, मानवीय मूल्य र सर्वोच्च आदर्शको प्राणप्रतिष्ठा हो । आजको दिन भारतको सांस्कृतिक पुनर्जागरणको आध्यात्मिक अनुष्ठान हो ।’ उनले भारत मात्र नभएर पूरै भारतवर्ष राममय भएको पनि बताएका छन् ।
उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथले सांस्कृतिक समृद्धिको नवअध्यायको शुभारम्भ भएको बताए । ‘आज जीवन धन्य भयो । शताब्दीयौँदेखिको प्रतीक्षा, प्रण र प्रार्थनाले आज श्रीरामको प्राणप्रतिष्ठाका साथ पूर्णता पाएको छ,’ राम मन्दिरपरिसरमा सम्बोधन गर्दै मुख्यमन्त्री आदित्य नाथले भने, ‘हाम्रा पिँढीहरूको संघर्ष र उहाँहरूको संकल्प पूरा भएको छ ।’
उनले अयोध्यालाई आधुनिक स्थान बनाउने उद्घोष गरे । ‘सांस्कृतिक, आयुष्मान, स्वच्छ, सक्षम, सुरम्य, सुगम्य, दिव्य र भव्य अयोध्याका रूपमा यो ठाउँको विकासका लागि हामी हजारौँ करोड खर्च गरिरहेका छौँ । हामी अयोध्यालाई आधुनिक नगरी बनाउनेछौँ,’ मुख्यमन्त्री योगीले भने । उनले राम मन्दिरको संघर्षका दुई संगठन राष्ट्रिय स्वयंसेवक संघ र विश्व हिन्दु परिषद्को पनि प्रशंसा गरे ।
प्रधानमन्त्री मोदी ११ दिनसम्म अन्न नखाई चार राज्यका सात मन्दिरको दर्शन गरेपछि अयोध्यामा प्राणप्रतिष्ठामा सहभागी भएका हुन् । वैदिक विधिपूर्वक प्राणप्रतिष्ठा समारोह आयोजना भएको थियो । भारतीय वायु सेनाको हेलिकोप्टरले आकाशबाट पुष्पवृष्टि गरेको समारोहमा भारतका विभिन्न सामाजिक जीवनका अगुवाहरू सहभागी थिए ।
राम मन्दिरको गर्भगृहमा राष्ट्रिय स्वयंसेवक संघ(आरएसएस)का प्रमुख डा. मोहन भागवत्, उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथ, उत्तरप्रदेशका राज्यपाल आनन्दीवेन पटेल सहभागी भएर पूजा गरेका थिए । समारोहमा नेपालसहित विश्वभरबाट साधुसन्तलाई निमन्त्रणा गरिएको थियो । समारोहमा सात हजारजना सहभागी भएका थिए । यद्यपि, नेपाल सरकारलाई भने राम जन्मभूमि ट्रस्टले निमन्त्रणा पठाएन ।
यसैबीच, अयोध्यामा राम मूर्तिको प्राणप्रतिष्ठा भएको दिन सोमबार नेपालभरि मठमन्दिरहरूमा दीपोत्सव तथा विभिन्न कार्यक्रम आयोजना भएको छ । विश्व हिन्दु परिषद् नेपालको आयोजनामा जनकपुरमा सवा लाख दीप जलाइएको छ । परिषद्को आयोजनामा पशुपतिनाथ मन्दिरमा शंखनाद कार्यक्रम आयोजना भयो भने विराटनगर, पोखरा, वीरगन्जलगायतका सहरमा मोटरसाइकल र्याली र दीपोत्सव भएको परिषद्का महासचिव जितेन्द्रकुमार सिंहले जानकारी दिए ।
पूर्वराजदूत भन्छन् : नेपाललाई अवसर
भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले राम मन्दिरको प्राणप्रतिष्ठा भएसँगै अयोध्याको विकास तीव्र गतिमा हुने भन्दै यसबाट नेपाल पनि लाभान्वित हुने अवसर आएको बताए । ‘अयोध्या र जनकपुरधामको सांस्कृतिक, आध्यात्मिक, धार्मिक सम्बन्धलाई सुदृढ गर्दै नेपालले धार्मिक पर्यटन विकासमा मेहनत गर्नुपर्ने समय आएको छ,’ उपाध्यायले भने, ‘अब पर्यटनमा अयोध्या धेरै माथि आउँछ । विवादको न्यायिक निरूपणपछि अयोध्याको द्रुत विकास हेर्दा यसले हाम्रा लागि पनि सम्भावना उजागर गरेको छ । तर, नेपालले चुप लागेर होइन, मेहनत गरेर मात्रै लाभ लिन सक्छ ।’
रामायण सर्किट, पूर्वाधार, चार लेनको सडक, पूर्वाधारका लागि नेपालले योजनाबद्ध प्रयास गर्नुपर्ने उनको सुझाब छ । भारतका लागि पूर्वराजदूत डा. दुर्गेशमान सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि जनकपुरले थप चर्चा पाएको र अयोध्याको राम मन्दिरले जनकपुरलाई पनि फाइदा पुग्ने बताए । ‘भारतमा जनकपुरप्रति रुचि राख्ने मानिसहरू छन् । हामीले रेल, रोड, पूर्वाधार, होटेलको गुणस्तर बढाउनुपर्छ र भारतीय तीर्थयात्रीलाई आकर्षित गर्नुपर्छ,’ उनले भने, ‘हामीले धार्मिक पर्यटनमा ठूलो फड्को मार्ने अवसर आएको छ । यसको सदुपयोग गर्नुपर्छ । किनभने अब सीताको जन्मस्थल जनकपुरमा मानिसहरूको रुचि बढ्नेछ ।’
भारत र विश्वभरिबाट ट्रस्टमा आएको करिब ३७ अर्बबाट मन्दिर निर्माण
सन् १५२८ मा अयोध्यामा मुगल शासकहरूले बाबरी मस्जिद निर्माण गरेका थिए । त्यसको तीन सय वर्षपछि हिन्दु समाजले संगठित रूपमा विरोध गर्दै आएको थियो । भारतमा ब्रिटिस उपनिवेश भएपछि मस्जिदभित्र मुस्लिमलाई र मस्जिद क्षेत्रबाहिर हिन्दुहरूलाई पूजापाठका लागि ठाउँ दिइएको थियो ।
भारत स्वतन्त्र भएपछि सन् १९४९ मा उक्त स्थानलाई सरकारले विवादित ठाउँ घोषणा गर्यो । राम मन्दिर र बाबरी मस्जिदका विषयमा हिन्दु र मुस्लिमबीच विवाद र झडपले हिंस्रक रूप पनि लिएको थियो ।
पछि अयोध्याको विषय अदालतको मुद्दा बन्न पुग्यो । इलाहाबाद उच्च अदालत हुँदै भारतको सर्वोच्च अदालतमा मुद्दा पुगेको थियो । सर्वोच्च अदालतले सन् २०१९ नोभेम्बर ९ मा बाबरी मस्जिद रहेको जमिन रामको जन्मभूमि रहेको फैसला गर्दै उक्त जमिन राम जन्मभूमि निर्माणका लागि ट्रस्ट गठन गरेर त्यसलाई हस्तान्तरण गर्न आदेश दियो ।
अदालतले मुस्लिमहरूको उत्तर प्रदेश सुन्नी सेन्ट्रल बोर्डलाई वैकल्पिक स्थानमा मस्जिद बनाउन पाँच एकड जमिन दिन सरकारका नाममा आदेश जारी गरेपछि अयोध्या विवाद समाप्त भएको थियो । त्यसपछि राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्ट नामको निकाय गठन भयो र यसकै नेतृत्वमा राम मन्दिर निर्माण तय भयो ।
भारतीय प्रधानमन्त्री मोदीले २०२० अगस्ट ५ मा राम मन्दिरको शिलान्यास गरेका थिए । उनले नै सोमबार मन्दिरको भुइँतलामा स्थापित रामलल्ला (बालस्वरूप) मूर्तिको प्राणप्रतिष्ठा गरेका छन् । सरकारी बजेटमा राम मन्दिर निर्माण भएको होइन । भारत र विश्वभरिबाट ट्रस्टलाई दिइएको करिब ३७ अर्ब रुपैयाँबाट मन्दिर निर्माण भएको हो ।