१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
जेकब ड्रेयर
२o८१ बैशाख २० बिहीबार १४:३६:oo
Read Time : > 3 मिनेट
ad
ad
टर्निङ प्वाइन्ट्स-२०२४ प्रिन्ट संस्करण

मरुभूमि बनेको एक समुद्र, जसले मानव जातिलाई चेतावनी दिइरहेछ

Read Time : > 3 मिनेट
जेकब ड्रेयर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:३६:oo

उज्वेकिस्तानमा कुनै समय एराल सागर रहेको स्थानको संकुचित अवशेषतर्फको यात्रा नरक प्रवेशजस्तो लाग्छ । चारैतिर जीवनविहीन मरुभूमिका बालुवा मात्र देखिन्छन् । फाट्टफुट्ट सक्सौलका रुख र झारहरू छन् । रातो र तातो घाममुनि तापक्रम ११० डिग्री फरेनहाइट थियो र धुलो मडारिँदै उडिरहेका थिए । म कुनै समयको विशाल जलमण्डलको बाँकी बचेको सानो तालको एक छेउमा पुगेँ । मैले त्यस तालको छेउमा जुत्ता फुकालेँ र भित्र पसेँ । पानीमा नुनको परिमाण यति धेरै थियो कि त्यो तरलभन्दा बढी दलदले भासजस्तो लागिरहेको थियो ।

नजिकको सहर मुयनाकमा रहेको स्थानीय संग्रहालयमा श्यामश्वेत न्युज–रिल र स्थानीय बासिन्दाका पारिवारिक फोटो एल्बमहरूमा यस भेगको सुन्दर समयका तस्बिरहरू भेटिन्छन् । सोभियतकालमा मुयनाकजस्ता मछुवार बस्तीले यस समुद्रको किनारलाई घेरेका थिए । बस्तीमा समुद्री माछा स्टर्जन, फ्लाउन्डर, क्याभियार र सोभियतकालीन खाद्यान्न प्रसस्त पाइन्थे । त्यस सहरमा मेरो भेट एरल सागरको किनारमा हुर्केका पुरातवविद् ओक्ट्याब्र दोस्पानोभसँग भयो । उनले आफ्नो युवावस्थाको ‘सुखद जीवन’ स्मरण गर्दै माछा मार्ने डुंगा, यात्रुवाहक जहाज र समुद्रका छालमा तलमाथि गर्ने कार्गो ट्रेलरहरूको सम्झना गरे ।

सोभियत अधिकारीहरूले सन् १९६० को दशकदेखि यस समुद्रमा जाने दुई नदीहरू सिअर दरिय र अमु दरियका सम्पूर्ण पानी नहर बनाएर अन्यत्र मोडे । विशेषतः ती नदी आसपासका क्षेत्रमा कपास र अन्य बाली सिँचाइ गर्न नहर बनाएर मोडिएको थियो । त्यसपछि ६८ हजार वर्गकिलोमिटर क्षेत्रफल ओगटेको विश्वको चौथो ठूलो महाद्वीपीय जलमण्डल (ताल) बिस्तारै–बिस्तारै खुम्चिँदै गयो । एरलको संकुचनसँगै त्यसवरपरको क्षेत्रको पारिस्थितिकीय, आर्थिक र सामुदायिक क्षय सुरु भयो । यस भेगमा देखिने विपत् समग्र मानव जातिका लागि एक चेतावनी हो । यदि हामीले आफ्नो जीवनशैली र अहिलेको तौरतरिका बदलेनौँ भने यस्तै खालको प्रकोप विश्वका वातावरणीय रूपमा नाजुक कैयौँ भागमा पनि निम्तिन सक्छ ।

सन् २००७ सम्म आइपुग्दा यस जलमण्डलले ओगटेको सतहको क्षेत्र लगभग ९० प्रतिशतले संकुचित भइसकेको थियो । एरल सागर सुकेर त्यसले ओगटेको भाग मरुभूमिमा बदलिएको स्थलमा विश्वभरका मानिस आइरहन्छन् । मुयनाकलाई तिनै पारिस्थितिक प्रकोपको विकरालता हेर्न आउने पर्यटकले टिकाइराखेका छन् । उनीहरू लामो यात्रापछि सुस्ताउन यो बस्ती रोज्छन् । यहाँ आउने अधिकांश पर्यटक यस भेगको अन्तहीन बालुवामा खिया लागेर खिइँदै गएका जहाजको छेउमा उभिएर सेल्फी लिइरहेका भेटिन्छन् । समुद्र पुनस्र्थापनाका केही प्रयास नभएका होइनन्, तर ती निकै ढिलो गरी ल्याइए । उज्वेकिस्तानले गरेको पुनस्र्थापनाको पछिल्लो प्रयासले नगन्य सुधार ल्याएको छ । तथापि, एराल सागरको पुरानो विस्तार छिटपुट रूपमा स–साना कालापोखरीका रूपमा देखिए पनि बाँकी अधिकांश भाग मरुभूमिमा बदलिइसक्यो ।

एराल सागर
उज्वेकिस्तानको मुयनाक पोर्टमा छाडिएका खिया लागेका डुंगाहरू । कुनै समय एराल सागरको व्यस्त यो पोर्ट सागर सुकेपछि मरुभूमिको  बगरमा बदलिएको छ । तस्बिर : क्यारोलिन ड्रेक/म्याग्नम

एराल सागर अब अरल्कुम मरुभूमिमा बदलिएको छ । यहाँका माटो र पानी दशकौँसम्म खेतीजन्य कीटनाशक र अन्य प्रदूषकद्वारा दूषित भए । त्यसले यस भेगका बालबालिकामा जन्मँदै खोट देखिने वा अन्य दीर्घकालीन स्वास्थ्य समस्याहरू देखिने आशंका गरिएका थिए । एराल सागरको अवसान भएपछि, यस क्षेत्रको एक समयको धनी चरन र वन क्षेत्रमा ह्रास भएको दोस्पानोभले बताए । समुद्र र यसको फराकिलो वातावरणमा निर्भर पक्षी, किरा र अन्य वन्यजन्तु लोप भए । मानौँ समुद्रले ती जीवनलाई बाँधेर राखेको थियो, जब समुद्र रहेन सबै छिन्नभिन्न भए ।

सुकेको समुद्रको पिँधबाट उडेको नुनिलो बालुवाले वरपरका बालीलाई नराम्रो असर गरेको छ । समुद्रसँग जोडिएका जीविकोपार्जनका माध्यम पनि हराए । समुद्र खुम्चँदै जाँदा स्थानीय आय निरन्तर घट्दै गयो र बेरोजगारी बढ्दै गयो । बसोवास कठिन बन्दै गएपछि यस क्षेत्रको जनसंख्या निर्माण तथा अन्य न्यून वेतनयुक्त काम खोज्दै उज्वेक राजधानी तास्कन्द वा मस्कोतर्फ बसाइँ सरे । अहिले बस्ती निकै पातलिएको छ । एउटा सम्पूर्ण प्राकृतिक र मानव पर्यावरण ध्वस्त भयो ।

समुद्र अवसानको कारण तिनमा मिसिन जाने नदी मोडिएपछिका असरबारे सोभियत अधिकारीहरूलाई थाहा थियो । तर, आर्थिक वृद्धिजस्ता प्राथमिकता बढी महत्वपूर्ण ठहरिए । सन् १९८० को दशकसम्म आइपुग्दा अधिकारीहरूले साइबेरियाको बैकाल तालको पानीलाई २००० माइलभन्दा बढी टाढाको एराल क्षेत्रमा खसाल्ने योजनामा विचार गरेका थिए । स्थिति थप जटिल बनाउन सक्ने त्यो मूर्खतापूर्ण योजना कार्यान्वयन हुनुअघि नै सोभियत संघ पतन भयो ।

गत वर्ष उज्वेकिस्तान सरकारले एराल सागर रहेको क्षेत्र काराकलपाकस्तानको स्वायत्तता घटाउने प्रस्ताव गरेपछि विरोध प्रदर्शन भयो । पर्यवेक्षकहरूले समुद्रको अवसानसँग सम्बन्धित आर्थिक र पर्यावरणीय कठिनाइले यस क्षेत्रको अस्थिरता थपेको औँल्याएका छन् । एराल सागरसँग जोडिएको वास्तविक डरलाग्दो तथ्य के भने यस्तै पर्यावरणीय प्रकोप विश्वभर दोहोरिँदै छ । पर्यावरणीय क्षेत्रका कारण उजाडिएका बस्तीहरूबाट भागेका शरणार्थीको संख्या बढ्न थालेको छ । यिनै प्रकोपको कारण स्रोतहरू दुर्लभ हुन थालेपछि तीमाथिको तितो द्वन्द्व पनि बढ्दै छ । हामीहरू बढ्दो समुद्री सतहले खतरामा परेका सहरहरू देखिरहेका छौँ ।

अमेरिकामा मिड ताल र ग्रेट साल्ट लेक खुम्चिँदै गएको छ । लसएन्जलसजस्ता सहर परिवर्तनशील मौसमसँगै पानीको आवश्यकतालाई सन्तुलनमा राख्न संघर्षरत छन् । कृषि, तेल उत्खनन तथा अन्य गतिविधिहरूले अमेरिकाभरिका भू–जल जलस्रोतहरूलाई द्रुत रूपमा घटाउँदै लगेको छ । के विश्वका अन्य ठाउँहरू पनि एराल सागरकै जस्तो नियतितर्फ जाने सम्भावना छ ? मानव जातिले भोलिको चिन्ता नगरी पानी र अन्य स्रोतहरू प्रयोग गर्दै छ । तर, मुयनाकका बासिन्दाले त्यस्तो प्रवृत्तिले निम्त्याउने भविष्य अहिले भोगिरहेका छन् । दोस्पानोभ एराल सागरलाई वातावरणसँग मानवताको गहिरो आर्थिक र सामाजिक सम्बन्ध झल्काउने सानो रूप मान्छन् । एराल सागरको वरिपरि फक्रेको संस्कृति र जीवनशैली, यसको साथ सहजीवनमा निर्भर थियो । जसै समुद्रको विनाश भयो त्यससँगै त्यसमा निर्भर सबै भग्नावशेष भएको उनले बताए ।

म आफू बसिरहेको चीनको उडान पक्रन तास्कन्द गएँ । म काराकलपाकस्तानलाई पछाडि छोड्न उत्सुक थिएँ । तर, विमानस्थलमा मेरो पखाई लम्बियो । बेइजिङ वर्षौँयताको सबैभन्दा भारी वर्षाले जलमग्न थियो (जसलाई जलवायु परिवर्तनले आंशिक रूपमा प्रभाव पारेको हो कि भनेर छलफल भएका थिए) । यसर्थ, म तास्कन्दमा केही समय अड्किएँ । वातावरणीय विनाशले के–कस्ता विपत् निम्त्याउन सक्छ भन्ने चेतावनीको रूपमा एराल सागर एक भयानक दृष्टान्तको रूपमा खडा छ । यदि हामीले अहिलेकै मार्गलाई निरन्तरता दियौँ, अरूले केही गरिदेला भनेर समय पर्खिरह्यौँ भने वा अल्पकालीन आर्थिक स्वार्थलाई ख्याल गरेर कुनै कदम चालेनौँ भने हामीहरू पनि अर्काे दोस्पानोभ हुनेछौँ जो आगन्तुकहरूलाई हामी बसेको स्थान कुनै समय कति सुन्दर थियो भनेर बताइरहेको हुनेछ । – न्युयोर्क टाइम्सबाट

(ड्रेयर सांघाई निवासी सम्पादक एवं लेखक हुन्)

ad
ad