१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o९:११:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

 युगान्डा जाँदै प्रधानमन्त्री : असंलग्न आन्दोलनको सम्मेलनमा सहभागी हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:११:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार पूर्वी अफ्रिकी देश युगान्डा जाने भएका छन् । असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९औँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री युगान्डा जाने तय भएको हो । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्रसचिव सेवा लम्साललगायत सहभागी हुनेछन् । 

मन्त्रिपरिषद् बैठकले मंगलबार प्रधानमन्त्रीको युगान्डा भ्रमण स्वीकृत गरेको छ । असंलग्न राष्ट्रहरूको शिखर सम्मेलन ५ र ६ माघमा युगान्डाको राजधानी कम्पालामा आयोजना हुनेछ । असंलग्न राष्ट्रहरूको मन्त्रीस्तरीय बैठक ३ र ४ माघमा र उच्च पदाधिकारीहरूको बैठक १ र २ माघमा हुँदै छ । मन्त्रीस्तरीय बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री साउदले गर्नेछन् । उच्च पदाधिकारीहरूको बैठकमा सहभागी हुन परराष्ट्रसचिव लम्साल कम्पाला पुगिसकेकी छिन् । 

परराष्ट्र मन्त्रालयले युगान्डामा प्रधानमन्त्रीले विभिन्न देशका नेताहरूसँग साइडलाइन वार्ता गर्ने जनाएको छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल ७ माघमा स्वदेश फर्किने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । नेपाल असंलग्न आन्दोलनको संस्थापकमध्ये एक हो । नेपालले सबै सम्मेलनमा सहभागिता जनाउँदै आएको छ । 

हाल युगान्डा असंलग्न आन्दोलनका सदस्य मुलुकहरूको अध्यक्ष हो । सन् २०२२ देखि २०२५ सम्म युगान्डा अध्यक्ष रहनेछ । आगामी शिखर सम्मेलन आयोजना गर्ने मुलुक सन् २०२५ पछि आन्दोलनको अध्यक्ष मुलुक हुनेछ । 

आन्दोलनको पहिलो सम्मेलन तत्कालीन युगोस्लाभियाको बेलग्रेडमा १९६१ सेप्टेम्बर १ देखि ६ सम्म भएको थियो । दोस्रो सम्मेलन १९६४ अक्टोबर ५ देखि १० सम्म कायरोमा, तेस्रो सम्मेलन १९७० सेप्टेम्बर ८ देखि १० सम्म जाम्बियाको लुसाकामा भएको थियो । 

चौथो सम्मेलन १९७३ सेप्टेम्बर ५ देखि ९ सम्म अल्जेरियाको अल्जेरियर्समा भएको थियो भने पाँचौँ सम्मेलन १९७६ अगस्ट १६ देखि १९ सम्म श्रीलंकाको कोलम्बोमा भएको थियो । छैटौँ सम्मेलन १९७९ सेप्टेम्बर ३ देखि ९ सम्म क्युवाको हवानामा भएको थियो भने सातौँ सम्मेलन भारतले नयाँदिल्लीमा १९८३ मार्च ७ देखि १२ सम्म आयोजना गरेको थियो । 

आठौँ सम्मेलन जिम्बाबेको हरारेमा १९८६ सेप्टेम्बर १ देखि ६ सम्म, नवौँ सम्मेलन युगोस्लाभियाको बेलग्रेडमा १९८९ सेप्टेम्बर ४ देखि ७ सम्म भएको थियो । दशौँ सम्मेलन इन्डोनेसियाको जकार्तामा १९९३ सेप्टेम्बर १ देखि ६ सम्म, ११औँ सम्मेलन कोलम्बियामा १९९५ अक्टोबर १८ देखि २० सम्म, १२औँ सम्मेलन १९९८ सेप्टेम्बर २ र ३ मा दक्षिण अफ्रिकाको डर्बानमा र १३औँ सम्मेलन मलेसियाको क्वालालम्पुरमा २००३ फेब्रुअरी २० देखि २५ सम्म भएको थियो ।

ad
ad