१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
ओज कटेर्जी
२o८१ बैशाख २० बिहीबार १५:३८:oo
Read Time : > 4 मिनेट
ad
ad
टर्निङ प्वाइन्ट्स-२०२४ प्रिन्ट संस्करण

सन् ०२४ मा राजनीतिक प्रकोपका लागि तयार हुँदै युक्रेन

Read Time : > 4 मिनेट
ओज कटेर्जी
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:३८:oo

रुसले कब्जा गरेको दक्षिणी भूमि फिर्ता लिने उद्देश्यसहित युक्रेनले गत वर्ष ग्रीष्ममा पश्चिमी हातहतियारसहित प्रत्याक्रमण अभियान सुरु गरेको थियो । ठूलो होहल्लासहित सुरु भएको सो अभियान रुसको बलियो रक्षात्मक घेरा तोड्न नसकी टुंगिएको छ । यस असफलतालाई निराशाजनक मान्ने हो भने नजिकिँदै गरेको कूटनीतिक र राजनीतिक कठिनाइ युक्रेनका लागि जीवन–मरणको सवाल हुँदै छ ।

युक्रेनले युद्धमोर्चामा केही सीमित सफलता हासिल नगरेको भने होइन । कृष्ण सागरमा हासिल भएको नतिजा, निप्रो नदीपूर्वको खेर्सन क्षेत्रमा बलियो गरी स्थापित हुनुलाई सफलता मान्न सकिन्छ । तर, अर्बौँ डलरको पश्चिमी सहायताको बलमा पनि उल्लेख्य भूमि फिर्ता गर्न नसक्नु किएभका लागि तिक्त अनुभव रह्यो । युद्धको सुरुमा ठूला र शक्तिशाली हतियार सहायता गरे रुस चिडिने डरले पश्चिमले शक्तिशाली हतियारको सहायता चरणबद्ध रूपमा बढाउँदै लगे । केही महिनाअघिसम्म युक्रेनलाई सघाउन गठित प्रजातान्त्रिक देशहरूको गठबन्धन बलियो रह्यो र शक्तिशाली हतियार सहायता दिइयो भने युक्रेन रुसमाथि हाबी हुने आशामा देखिन्थे पश्चिमा सैन्य विज्ञहरू । तर, जसै जाडो सुरु भयो, त्यो अशामा निराशा छाउन सुरु भयो । अहिले युक्रेनका लागि स्थिति निकै निराशाजनक देखिन थालेको छ । अब किएभले आफूलाई सघाउन गठित पश्चिमी गठबन्धन विखण्डन हुने स्थितिका लागि तयारी गर्नुपर्ने परिस्थिति बन्दै छ । भावी जोखिमको गम्भीरतालाई विश्लेषण गर्दै युक्रेनले सबै विकल्पका लागि तयार रहनुपर्ने भएको छ ।

सुरु गरौँ युरोपबाट । पछिल्लो समय निर्वाचन भएका केही युरोपेली मुलुकका मतपरिणाम रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि उत्साहप्रद रह्यो । स्लोभाकिया र नेदरल्यान्डमा पुटिनप्रति नरम राजनीतिज्ञले सबैभन्दा धेरै मत ल्याउन सफल भए । स्लोभाकियाका रोबर्ट फिको, नेदरल्यान्ड्सका गिर्ट वाइल्डसले (जो सबैभन्दा बढी मत ल्याएर सरकार बनाउने प्रयासमा छन्) हंगेरीका भिक्टर ओरबान मिलेर युरोपेली संघको वित्तीय तथा सैन्य सहायतालाई थप अवरोध पु¥याउन सक्छन् । पहिले ओर्बान एक्लैले गर्न नसकेको काम अब सहयोगीका साथ सहज हुने भएकाले रुसमाथिका नयाँ प्रतिबन्धदेखि युक्रेनका लागि प्रस्तावित ५० अर्ब युरो (४५.४९ बिलियन) सहायता प्याकेजसम्मलाई रोक्ने प्रयास तीव्र हुनेछ । भलै, युक्रेनको इयूको सदस्यता दिनेसम्बन्धी वार्ता रोक्ने ओर्बानको प्रयास भने संघले सफलतापूर्वक पन्छाउन सफल भएको छ ।

सन् २०२३ को ग्रीष्ममा इयू अमेरिकालाई उछिनेर युक्रेनलाई सहायता दिने सबैभन्दा ठूलो दाता बनेको थियो । अब त्यस्तै सहायतालाई निरन्तरता दिन कठिन भएको छ । सरकार बनाउने प्रयासमा रहेका नेदरल्यान्डका वाइल्डर्स प्रधानमन्त्री बन्न सफल भए भने युक्रेनलाई दिने भनिएको डच एफ– १६ लडाकु विमानहरूको स्थानान्तरण मात्र जोखिममा पर्दैन, भविष्यमा इयूका सहायता प्याकेजहरूमा समेत ठूलो खतरा हुन सक्छ । जाडो लागेपछि पोल्यान्ड र स्लोभाकियामा ट्रकचालकहरू इयूले युक्रेनी ढुवानी कम्पनीलाई युरोपेली संघमा प्रवेश छुट दिएको विरोधमा प्रदर्शनमा उत्रिए । उनीहरूले तिनको देशसँग जोडिएको युक्रेनी सीमानाकाहरू अवरुद्ध गरिरहेका छन् । त्यस कार्यले युक्रेन गइरहेको स्वयंसेवक सैन्य सहायताको प्रवाहमा पनि असर गरेको छ ।

अमेरिका र युरोप दुवैले युक्रेनले मागेजस्तो गोलाबारुद उत्पादन गर्न सकेका छैनन्। यदि आर्थिक र हतियारको सहायता सम्बोधन गरिएन भने परिणाम युक्रेनका लागि विनाशकारी हुनेछ।

युरोपमा विकास भएका यी परिघटनाले किएभलाई निराश बनाए पनि तिनले पार लाउन नसकिने समस्या निम्त्याउँदैनन् । विशेषतः युक्रेनप्रतिको अधिकांश युरोपेली संघको समर्थन अझै उच्च छ । ओर्बानले विगतमा उनको देशलाई सहुलियत दिलाएर सहायता प्याकेजमाथि हंगेरीको भिटो परित्याग गर्ने गरेको इतिहास छ । इयूका सदस्यराष्ट्र जर्मनी र बाल्टिक राष्ट्रहरूले संघको संरचनाबाहिर रहेर अलग रूपमा किएभलाई पर्याप्त सैन्य सहायता पठाइराखेका छन् ।

किएभका लागि वास्तवमै निराशाको खबर खासमा अमेरिकाबाट आउँदै छ । डिसेम्बर ४ मा पत्रकारहरूसँगको कुराकानीका क्रममा ह्वाइटहाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनका लागि अमेरिकी सरकारले पहिले विनियोजन गरेको रकम खर्च भइसकेको कुरा कडा शब्दमा राखेका थिए । उनले त्यस अवसरमा अमेरिकी कंग्रेसले थप कोष निकासा गर्ने विधेयक पारित नगरेमा युक्रेनको प्रतिरक्षा क्षमतालाई असर गर्ने चेतावनी दिए । ह्वाइटहाउसले युक्रेनका लागि ६१.४ अर्ब डलरको सहायता प्याकेज पारित गर्ने कोसिस गरिरहेको छ (त्यस सहायता प्याकेजको केही अंश अमेरिकी रक्षा विभागको हतियार भण्डारण भर्नमा जानेछ) । रिपब्लिकनहरूको समर्थन पाउन बाइडेन सरकारले सो सहायता प्याकेजलाई इजरायल र ताइवानलाई गरिने सहयोग प्याकेजसँग एक गरेर संसद्मा प्रस्तुत गरेको छ । तर, रिपब्लिकन सांसदहरूले विधेयकमा बाइडेन प्रशासनको सीमासम्बन्धी नीति नसमेटिएको भनेर विरोध जनाइरहेका छन् । (कंग्रेसको तल्लो सदनमा रिपब्लिकन बहुमत भएकाले तिनको समर्थनविना यो पास हुन सक्दैन ।)

अधिकांश रिपब्लिकनले युक्रेनलाई सैन्य सहायता बढाउने कुरालाई समर्थन गरे पनि थप आर्थिक सहयाता दिने कुरामा भने अवरोध पु¥याइरहेका छन् । झन्, तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’का उग्रदक्षिणपन्थी र ट्रम्पसमर्थक रिपब्लिकन सांसदले केभिन म्याकार्थीलाई सभामुखबाट हटाएर उनको स्थानमा युक्रेनलाई सहायता दिन नहुने मत राख्ने माइक जोन्सनलाई नियुक्त गरेपछि युक्रेनलाई सहायता दिने विधेयक पास हुन कठिन हुन लागेको छ । सभामुख निर्वाचित भए पनि जोन्सनले मध्यधारका रिपब्लिकन सांसदहरूको समर्थन हासिल गर्न युक्रेनप्रतिको समर्थनमा उनको पुरानो अडान नरम बनाउने कोसिस गरेका छन् । उनले बाइडेन सरकारको युक्रेन सहायता प्याकेज पास गराउन रिपब्लिकन दलको आप्रवासनप्रति कठोर मुद्दा कार्यान्वयन हुनुपर्ने सर्त राखेका छन् ।

युक्रेनमा रुसी बमबारीपछिको एक दृश्य

बाइडेन सरकारले गतिरोध तोड्ने प्रयासस्वरूप सम्झौता गर्न इच्छा व्यक्त गरेको छ, तर वार्ता कुन रूपमा अघि बढ्छ भन्न सकिँदैन । यस सहायता विधेयकको आकार आफैँमा एक रणनीतिक चालजस्तो देखिन्छ । ६१.४ अर्ब डलरको सहायता प्याकेज युक्रेनलाई यसअघि प्रदान गरिएका अमेरिकी सहायता प्याकेजको तुलनामा सानो हो (अमेरिकाले अगस्ट २०२३ सम्म ७७ अर्ब डलरभन्दा बढी सहायता दिइसकेको छ) । यस प्याकेज रकम सन् २०२४ को सम्पूर्ण अवधि वा बाइडेनको पहिलो कार्यकालको बाँकी समयका लागि हो । तर, समस्या त्यति मात्र होइन । अमेरिका र युरोप दुवैले युक्रेनले मागेजस्तो गोलाबारुद उत्पादन गर्न सकेका छैनन् । यदि आर्थिक र हतियारको सहायता सम्बोधन गरिएन भने परिणाम युक्रेनको लागि विनाशकारी हुनेछ ।

सबै कुराले युक्रेन लामो युद्धमा प्रवेश गरेको संकेत गर्छ । यद्यपि, यो तथ्य पश्चिमी नीति–निर्माता र रक्षाप्रमुखका लागि अप्रत्याशित नहुनुपर्ने हो । तर, लामो युद्धले ठूलाठूला खतरालाई थप बढाउँछ । बाइडेन प्रशासनले सन् २०२४ का लागि युक्रेनलाई सैन्य सहायता रकम निकासा गर्न सक्यो भने पनि डोनाल्ड ट्रम्पको अर्को कार्यकालको सम्भावनाको डर बढ्दै गएको छ । चुनाव आउन एक वर्ष बाँकी रहँदा बाइडेनको लोकप्रियता खस्केको सर्वेक्षण आइरहेका छन्, जुन उनका लागि गम्भीर चिन्ताको विषय हो । अमेरिकी राष्ट्रपति पदमा ट्रम्पको विजय युक्रेनलाई निकै घातक साबित हुनेछ ।

ट्रम्पको दोस्रो कार्यकालले अमेरिकी लोकतन्त्रलाई मात्र नभई विश्व–व्यवस्थालाई नै उल्ट्याउन सक्ने बताइँदै गर्दा त्यो युक्रेनका लागि थप विनाशकारी हुन सक्छ । यस ग्रहमा पुटिनको युद्ध एजेन्डामा सघाउ पुग्ने ट्रम्पजत्तिको महत्वपूर्ण व्यक्ति अरू कोही छैन । ट्रम्पले युक्रेनलाई सहायता दिन अस्वीकार गर्नु युक्रेनका लागि मात्र खतराको घन्टी हुनेछैन, यस नीतिगत परिवर्तनको सबैभन्दा ठूलो असर पर्ने युरोपभर पनि त्यस्तो घन्टी बज्नु हो । ट्रम्पविरुद्धको पहिलो महाअभियोग खासमा युक्रेनसँग सम्बन्धित थियो । उनले सो मुलुकलाई बाइडेनविरुद्ध नजिकिँदै गरेको चुनावमा प्रयोग गर्न सक्ने उनका छोराका आपत्तिजनक तथ्य खोज्न सर्त राखेको घटना बाहिरिएपछि सो अभियोग संसद्मा
पेस गरिएको थियो । वासिङ्गटनमा धेरैले ट्रम्पले दोस्रो कार्यकाल जिते पहिले उनीविरुद्ध लागेका सबैविरुद्ध बदला लिन सक्ने प्रक्षेपण गर्न थालेका छन् । यस्तोमा पहिलो महाभियोगको कारण बनेका युक्रेन र वर्तमान राष्ट्रपति जेलेन्स्कीलाई ट्रम्पले सहायता गर्लान् भन्ने विश्वास गर्न कठिन छ ।

रुसी अधिकारीहरू पनि यसबारे सचेत छन् । खासमा युक्रेनमा उनीहरूको अल्पकालीन र मध्यकालीन रणनीति युद्धलाई अहिलेकै गतिरोधको स्थितिमा राख्ने संकेतहरू देखिन्छन् । त्यसपछि ट्रम्पले जितेमा युक्रेनीहरूले पाइराखेको महत्वपूर्ण सैन्य सहायता रोकिने तिनको आशा छ । पुटिनले उनको आफ्नै थिंकट्यांकलाई दिएको टिप्पणीमा पश्चिमी हतियार आपूर्ति रोकिएमा युक्रेन ‘एक हप्ता मात्र टिक्ने’ बताएबाट पनि तिनको मनसाय बुझ्न सकिन्छ ।

अब पहिलो त, युक्रेनी सरकारले ह्वाइटहाउसको सहयोग रोकिने अवस्थाका लागि तयारी गर्नुपर्छ । ट्रम्पको सम्भावित जितले युक्रेन युद्धमा उत्पन्न गर्न सक्ने निरन्तरको जोखिमलाई युरोपले पनि गम्भीर रूपमा लिनुपर्छ । युरोपले अमेरिकी सहयोगविनै युक्रेनको युद्धको भार बोक्न तयार हुनुपर्छ । सन् २०२५ पछि पनि स्वतन्त्र र लोकतान्त्रिक राष्ट्र–राज्यको रूपमा युक्रेनको अस्तित्व र समग्र युरोपको सुरक्षा जोखिममा छ । युक्रेनले जितको सुनिश्चितता गर्न उसका सहयोगीले विपत्को पनि तयारी सुरु गर्नुपर्छ । (कटेर्जी द्वन्द्व, मानव अधिकार र मध्यपूर्वमा केन्द्रित भएर लेख्ने ब्रिटिस–लेबनानी स्वतन्त्र पत्रकार हुन् ।)
– फरेन पोलिसीबाट

ad
ad