१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका सोलुखुम्बु
२o८१ जेठ ४ शुक्रबार १४:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सोलुखुम्बुमा डढेलोले १० घर जले, दर्जनौँ पशुचौपाया हताहत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, सोलुखुम्बु
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १४:२६:oo

हिमाली जिल्ला सोलुखुम्बुमा जंगलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट भएका छन्। आगोले एक दर्जनभन्दा बढी गाई, भैँसीको गोठ जल्नुका साथै पशुचौपायासमेत हताहत भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका– ३ पञ्चनमा बुधबार भएको आगलागीबाट स्थानीय बुद्धिमाया चर्मकार, पूर्णबहादुर अधिकारी, कालीबहादुर अधिकारी, हस्तिमाया राई र पारसमणि राईको घर र गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए। 

यस्तै, बडिसुवा राई, उत्तरकुमार राई, दिलबहादुर राई, निशान राई र टीकाध्वज राईको घर पनि आगोले जलेको प्रहरी निरीक्षक साहले बताए।

उनका अनुसार घटनामा दर्जनौँ गोठ तथा घरपालुवा पशुचौपाया जलेर हताहत भएका छन्। थुलुङ दुधकोशी गाउँपालिका– ३ पञ्चनस्थित राष्ट्रिय वन क्षेत्रमा लागेको डढेलो हावाको वेगका कारण घरमा सल्किँदा बस्ती नै खरानी भएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए।  

उनले भने, ‘वनमा फैलिएको डढेलो निभाउन प्रहरीसहित स्थानीय जनशक्ति सक्रिय थिए, एक्कासि आगो गाउँमा सल्कियो र गाउँ नै सखाप बनायो, त्यो आगो हावाले उडाएर ल्याएको झिल्कोबाट सल्किएको हुनुपर्छ, त्यहाँका अधिकांश घरमा खरको छानो भएकाले नियन्त्रणमा लिन समय लाग्यो।’

गाउँमा सल्किएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी,  स्थानीयवासी, गाउँपालिकालगायतको सक्रियतामा नियन्त्रणमा लिन सफल भएको छ भने जंगलको डढेलो नियन्त्रणबाहिर रहेको छ।

घटनाको क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। आगोले सबै धनसम्पत्ति जलेर खरानी भएपछि पीडितहरू अर्धचेत अवस्थामा पुगेको जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले बताए। 

एकाबिहानै दुई घर र एक खोर जल्दा ६५ लाखको क्षति

जिल्लाको नेचासल्यान गाउँपालिका– २ डिटीमा आज बिहान दुईवटा घर र बाख्राको एउटा खोर जलेर नष्ट भएको छ। बिहान ४ः३० बजे डिटीका ज्ञानबहादुर खत्रीको दुईवटा घर र एउटा खोर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 

प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार आगलागीबाट रु. ६५ लाखबराबरको क्षति भएको छ। ज्ञानबहादुरको दुईवटा घरमा भएको रु. ५० हजार नगद, नौ तोला सुन, २० तोला चाँदी, २० मुरी अन्न, एक थान मोबाइल, लत्ताकपडा, भाँडावर्तनलगायत सबै सामग्री जलेर नष्ट हुँदा सोबराबरको क्षति भएको प्रहरी निरीक्षक साहले बताए। रासस 

ad
ad