१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० पौष २९ आइतबार १३:४५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

उत्तर कोरियाले ‘ब्यालेस्टिक क्षेप्यास्त्र’ परीक्षण गरेको दक्षिण कोरियालीको दाबी

Read Time : < 1 मिनेट
२०८० पौष २९ आइतबार १३:४५:००

उत्तर कोरियाले आइतबार अर्को एउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । प्योङयाङले दक्षिण कोरियासँगको तनावपूर्ण सामुद्रिक सीमानजिक ‘प्रत्यक्ष हतियार प्रहार’को अभ्यास गरेको केही दिनपछि नै अर्को ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिणले दाबी गरेको हो । 

‘उत्तर कोरियाले पूर्वी सागरतर्फ अज्ञात ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ,’ सियोलका ज्वाइन्ट चिफ अफ स्टाफले एक विज्ञप्तिमा भनेका छन् । ज्वाइन्ट चिफ अफ स्टाफले प्रक्षेपण भएको पत्ता लागेको बताए पनि यसबारे थप विवरण भने दिएका छैनन् ।

जापानको तटरक्षक बलले उत्तर कोरियाको रक्षा मन्त्रालय र चेतावनीवाहक जहाजहरूको जानकारीलाई उद्धृत गर्दै ‘सम्भावित ब्यालेस्टिक क्षेप्यास्त्र’ उत्तर कोरियाबाट प्रक्षेपण गरिएको बताएको छ ।

उत्तर कोरियाले पछिल्लोपटक ह्वासोङ–१८ ठोस इन्धनले चल्ने अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो । केही दिनअघि उत्तर कोरियाले दक्षिण कोरियासँगको सामुद्रिक सीमानजिक दुर्लभ ‘प्रत्यक्ष आक्रमणको अभ्यास’ गरेको थियो, जसका कारण केही दक्षिण कोरियाली सीमावर्ती टापुमा सावधानीका लागि निर्देशन जारी गरिएको थियो ।

उत्तर कोरियाली नेता किम जोङ उनले यसै साताको सुरुमा सियोललाई आफ्नो ‘प्रमुख शत्रु’को संज्ञा दिँदै दक्षिण कोरियालाई ध्वस्त पार्न नहिचकिचाउने चेतावनी दिएका थिए । 

‘ऐतिहासिक समय अन्ततः आएको छ, अब हामीले दक्षिण कोरियालाई ‘प्रमुख शत्रुराष्ट्र’को रूपमा परिभाषित गर्नुपर्छ,’ किमले बुधबार कोरियाली केन्द्रया समाचार निकाय (केसिएनए) लाई उद्धृत गर्दै भनेका थिए । 

विश्लेषकहरूले त्यतिवेला यो परिवर्तन महत्वपूर्ण रहेको बताएका थिए । उनीहरूले प्योङयाङको सियोलप्रतिको दृष्टिकोणमा आएको परिवर्तनलाई ‘अति–उग्र मोड’ मा परिवर्तनको संकेत गरेको धारणा राखेका थिए । 

किमले आणविक शक्तिको रूपमा देशको स्थायी हैसियतलाई संविधानमा समावेश गरेपछि र धेरै उन्नत अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रहरूको परीक्षण गरेपछि दुई कोरियाबीचको सम्बन्ध दशकौँ यताकै सबैभन्दा खराब अवस्थामा पुगेको छ । (रासस/एएफपी)