१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १७:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जितगढी किल्लालाई पर्यटकीय सर्किटका रूपमा विकास गर्न राष्ट्रपति पौडेलको जोड 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १७:o६:oo

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको जितगढी किल्लालाई बुटवलको पर्यटकीय सर्किटको आधार क्षेत्रका रूपमा विकास गर्न जोड दिएका छन्। 

नेपाली सेनाकाे गरुड दल गणले संरक्षण र पुनर्निर्माण गरेको किल्लाको संरक्षण, प्रवर्द्धन र सञ्चालन गर्न बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण कार्यक्रममा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले जितगढी राष्ट्रिय स्वाभिमान र पहिचानको महत्वपूर्ण स्थल रहेको बताए। 

शुक्रबार राष्ट्रपति पौडेलको उपस्थितिमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई किल्ला हस्तान्तरण गरेका थिए।

उनले नेपाली वीरताको ऐतिहासिक केन्द्रका रूपमा यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका क्षेत्रलाई समेत एउटै सर्किटमा जोड्नुपर्ने उल्लेख गरे।

तत्कालीन मणिमुकुन्द सेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहश्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्मका क्षेत्रलाई जोडेर पर्यटनको विकास गर्न सकिने उनकाे भनाइ थियाे। 

राष्ट्रपति पौडेलले बुटवल उपमहानगरसहित प्रदेश तथा संघीय सरकारले ऐतिहासिक र सामरिक महत्वका स्थलहरूको संरक्षण र प्रवर्द्धनमा चासो दिन आग्रह गरे। साथै उनले जितगढीको विकाससँगै प्रसिद्ध व्यापारिक केन्द्रको रूपमा रहेको बुटवललाई आर्थिक केन्द्रका रूपमा विकसित गर्नुपर्नेमा जोड दिए। 

जितगढी किल्ला नेपाली सेनाले ठूलो बलिदानीबाट देश जोगाएको इतिहासको निशानी भएको बताउँदै राष्ट्रपति पौडेलले यसको संरक्षणमा जोड दिए।

बुटवल उपमहानगरपालिका– १ मा रहेको जितगढी किल्लाको पुनर्निर्माण तथा संरक्षणपश्चात् सेनाको गरुड दल गणले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो।

हस्तान्तरणसँगै जितगढी किल्ला बुटवल उपमहानगरपालिकामातहतमा आएको छ। किल्ला हस्तान्तरणपश्चात् नगर प्रमुख खेलराज पाण्डेयले जितगढी किल्लालाई युद्ध संग्रहालय, मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबार, नुवाकोटगढी, पाल्पा तानसेनको भगवती जात्रासँग जोडेर पर्यटकीय स्थल र नेपाल–अंग्रेज युद्धको अध्ययनस्थलको रूपमा विकास गर्ने बताए।

उनले किल्ला र किल्लाआसपासको क्षेत्रको पर्याप्त उत्खनन गरी थप तथ्य पत्ता लगाउन सरकार र पुरातत्व विभागको थप सहयोगको खाँचो रहेको औँल्याए। 

प्रमुख पाण्डेयले उजिरसिंह थापाको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गर्न र पूर्णकदको फोटोसहित ऐतिहासिक जितगढीको फोटोअंकित हुलाक टिकट जारी गर्नका लागि संघ सरकारसँग माग गरे।

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई ‘समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य सहर’ बनाउने दीर्घकालीन सोचसहित बुटवललाई आर्थिक केन्द्रका साथै पर्यटकीय विश्रामस्थल बनाउने योजना बनाएको बताइन्। उनले बुटवललाई उपयुक्त विश्रामस्थल बनाउन संघ र प्रदेश सरकारको साथ आवश्यक रहेको बताइन्। 

इतिहासविद् निर्मल श्रेष्ठले बुटवलको जितगढी किल्ला र पाल्पाको भगवती जात्रालाई जोडेर पर्यटकीय स्थलका रूपमा विकास गर्ने र इतिहासको संरक्षणमा समेत विशेष चासो दिनुपर्ने बताए। 

बुटवल नगरपालिका- १ मा पर्ने यो गढी तिनाउ नदीको बायाँ किनारमा छ। जितगढीमा वि.सं. १८७२ वैशाख ७ गते नेपाली सेना र तत्कालीन इस्टइन्डिया कम्पनीबीच भएको लडाइँमा नेपालले विजय हासिल गरेको थियो। कर्णेल उजिरसिंह थापा नेतृत्वको फौजले अंग्रेज फौजलाई १८७२ वैशाख ७ गतेका दिन जितगढी किल्लामा पराजित गरेको थियो। सोही दिनलाई बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजयाेत्सवका रूपमा मनाउँदै आएको छ।
 

ad
ad