१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o७:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

भैरहवाबाट पूर्वराजा ज्ञानेन्द्रले भने–  देश सम्हाल्न जनताले आह्वान गरेका छन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:o१:oo

पूर्वराजा ज्ञानेन्द्र शाहले देशको विगत र वर्तमान अवस्थालाई नजिकबाट नियालिरहेको भन्दै पछिल्लो समय जनताले आफूलाई देश सम्हाल्न आह्वान गरिरहेको बताए । भैरहवामा बिहीबार आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै शाहले देश चलाउन, देश बनाउन र देश बचाउन आफूलाई जनताले आह्वान गरिरहेको बताएका हुन् । 

‘जता जाउँ, जहाँ पुगुँ जनआवाज उठेको सुन्छु,’ उनले भने, ‘मलाई आउन, हाम्रो देश बनाउन र देश बचाउन आग्रह गरिरहेको सुनिरहेको हुन्छु ।’ उनले आफू जनताको साथमै रहेको भन्दै कतै नगएको बताए । ‘म बोलिरहेछु देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्खाको भावना अहिले पनि पोखिरहेको छु,’ उनले थपे, ‘म कतै गएको छैन, सदासदा नेपालीका साथमा छु, नेपालभित्रै छु ।’ 

देश जर्जर भएको र बेरोजगारी, शैक्षिक कमजोरीका कारण युवाहरू विदेश जानुपरेको भन्दै उनले अहिले चलिरहेको चलनचल्तीमा व्यापक हेरफेर र सुधार आवश्यक रहेको जिकिर गरे । ‘देशको माया नभएर होइन, अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर युवा जमात बाहिरिएको छ । यस्तो अवस्थाको अन्त्य हुनैपर्दछ,’ उनले भने । उनले सबैलाई एक ठाउँमा उभिन आह्वान गरे । 

कार्यक्रममा अभिनन्दन समारोह समितिले उनलाई नागरिक अभिनन्दन गरेको थियो । राप्रपाका रुपन्देही उपाध्यक्ष तथा अभिनन्दन समारोह समितिका सहसंयोजक अजय गुप्ताले कार्यक्रममा रुपन्देही, कपिलवस्तु र नवलपरासीबाट सर्वसाधारण कार्यक्रममा सहभागी भएको दाबी गरे । कार्यक्रममा पूर्वरानी कोमलसहित परिवारका अन्य केही सदस्य पनि सहभागी भएको नागरिक अभिनन्दन समारोह मूल आयोजक समितिका संयोजक डा. रामप्रसाद बस्यालले जानकारी दिए । 
 

ad
ad