१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १२:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

फेरि सर्‍यो भरतपुर भ्रमण वर्षको मिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:४९:oo

अंग्रेजी नयाँ वर्ष सन् २०२४ को जनवरी १ बाट सुरु हुन लागेको भरतपुर भ्रमण वर्ष फेरि सरेको छ। भरतपुर महानगरपालिकाले ‘घुमौँ भरतपुर’ भन्ने नारासहित मनाउन लागेको भ्रमण वर्ष मुख्य राजमार्गको सडक बनिनसकेकाले सार्नुपरेको बताएको छ।

यसअघि वि.सं २०८० साललाई भ्रमण वर्षका रूपमा मनाउने भनेको महानगरले यही कारण देखाउँदै अन्तिम समयमा भ्रमण वर्ष रोकेको थियो।

सन् २०२४ को भ्रमण वर्ष केही समयका लागि सारिएको हो वा रद्द नै गरिएको हो भन्ने कुरा भने महानगरले स्पष्ट पारेको छैन। भ्रमण वर्षको बारेमा आउँदो पुस २२ गते बस्ने नगरपरिषद् बैठकले ठोस निर्णय गर्ने भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले बताए।

रानाले भने, ‘बाह्य कारणले गर्दा भ्रमण वर्षको उद्घाटन मात्र सरेको हो, भ्रमण वर्षका कार्यक्रमहरू भने नियमित हुन्छन्।’ विस्तारको क्रममा रहेका पुलचोक–गोन्द्राङ सडक र नारायणगढ–बुटवल सडकमा धुलोले यात्रामा सास्ती छ। त्यस्तै, नारायणगढ–मुग्लिन सडक पनि पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने कारण भ्रमण वर्षको कार्यक्रम रोकेको महानगरले बताएको छ। उत्सव मनाउन, र्‍याली निकाल्नसमेत सडकले असर गरेकाले औपचारिक कार्यक्रम रोकिएको रानाले बताए।

महानगरको मुख्य बजार क्षेत्रमै सडक अस्तव्यस्त भएपछि भ्रमण वर्ष सार्न निजी क्षेत्रले समेत यसअघि सुझाव दिएका थिए। भ्रमण वर्षको तयारी एवं प्रचारप्रसारमा महानगरले लाखौँ रुपैयाँ खर्च गरिसकेको छ।
यद्यपि, कति खर्च भयो भन्ने कुरा महानगरपालिकाले खुलाएको छैन। यसअघि महानगरले अंग्रेजी नयाँ वर्षको दिन प्रधानमन्त्रीलाई ल्याएर भव्य कार्यक्रमबीच भ्रमण वर्षको शुभारम्भ गर्ने तयारी गर्दै थियो।
 

ad
ad