१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
फाइल तस्बिर
२o८१ बैशाख २० बिहीबार १o:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने  

बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:५१:oo

पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिने

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारीसाधन चलाउन नपाइने भएको छ। बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहनेछ।  

भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो। चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारीसाधन रोकिनेछन्। नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुबाहक सवारीसाधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०:४० बजेसम्म चलाउन पाइनेछ भने मालबाहक सवारीसाधन भतेरी जंगलदेखि रामनगरसम्म बिहान १०:३० बजेसम्म मात्र चलाउन पाइनेछ।

काठमाडौंबाट आउने यात्रुबाहक सवारीसाधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान १०:५५ सम्म तथा मालबाहक सवारीसधान १०:४५ सम्म मात्र चलाउन पाइने सूचना अधिकारी आचार्यले बताए।

यसैगरी, पोखरातर्फबाट आउने यात्रुबाहक सवारीसाधनलाई बिहान १०:५५ बजेदेखि बेनीटारदेखि पावरहाउससम्म र मालबाहक सवारीसाधनलाई बिहान १०:४५ बजेदेखि सत्रसय फाँटमा रोकिनेछ।

पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिनेछ। गत वर्ष भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम गर्न कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो। विस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनः एकपटक सडक बन्द गरेर काट्ने तयारी गरिएको आचार्यले बताए।

साठी मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो। बाँकी ३५ मिटर सडक अब काट्न लागिएको आचार्यले बताए। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन चल्ने गर्छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा सवारीसाधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ। ट्राफिक जाम हुन सक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरिएको छ।     

   
 

ad
ad