१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ४ बुधबार
  • Tuesday, 02 July, 2024
२o८o पौष ४ बुधबार ११:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

बुटवलमा लुम्बिनी एक्स्पोको तयारी पूरा : १० लाख दर्शक र ५० करोडको कारोबार हुने अपेक्षा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष ४ बुधबार ११:१४:oo

पुस ५ देखि १८ गतेसम्म निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र बुटवल मण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने

रुपन्देही व्यापार संघले बुटवलमा लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी पूरा गरेको छ । संघले नयाँपन, फरक शैली र विशिष्ट पहिचानका साथ ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ मेला आयोजना गर्न लागेको हो । 

यही पुस ५ देखि १८ गतेसम्म निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र बुटवल मण्डपमा हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको मेला आयोजक मूल समितिका संयोजक एवं संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए । मेलामा करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोडको कारोबार हुने आयोजकले अनुमान गरेको छ ।

एक्स्पोलाई सफल बनाउन ४५ सदस्यीय मूल आयोजक समिति र विभिन्न विषयक ४५ वटा उपसमिति क्रियाशील रहेका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा मेलाका लागि ६०० स्टल दर्ता भइसकेको जानकारी गराइएको छ । लक्ष्यअनुसार स्टल बुक भएको अध्यक्ष घिमिरेले बताए । 

मेलाका लागि होटेल तथा रेस्टुरेन्ट २३, ऊनी, गार्मेन्ट तथा तयारी पोसाक, अन्तर्राष्ट्रिय स्टल १०, कृषि ४३, ब्याग, जुत्ता, चप्पल ६८, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनी ७८, शृंगार, उपहार तथा खेलौना ५२, फर्निचर तथा फर्निसिङ, किचन एन्ड प्लास्टिक सामान ५३, बैंक, वित्तीय संस्था एवं शैक्षिक संस्था १८, अटोमोबाइल्स, लुब्रिकेसन, टायर तथा पार्टस् ६,आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स १६, आइसक्रिम तथा बेकरिज् १८, पुस्तक, किप, स्टेसनरी तथा स्पोर्टस् आठ र औषधिजन्य पदार्थ तथा कृषि उत्पादनका ६६ स्टल रहनेछन् ।

संयोजक घिमिरेका अनुसार कृषि, महिला उद्यमी एवं सामाजिक संघसंस्थाहरूलाई निःशुल्क रूपमा केही स्टल उपलब्ध गराइएको छ । एक्स्पो उद्घाटनको पूर्वसन्ध्यामा मेलास्थल बुटवलमण्डपबाट विभिन्न जातजाति, धर्म, समुदायको लोकसंस्कृति झल्किने खालका झाँकीसहित जनचेतनामूलक र्‍यालीको आयोजना गरिनेछ। र्‍यालीले बुटवल बजार परिक्रमा गर्नेछ । जनचेतना र्‍यालीमा सहभागी उत्कृष्टलाई पुरस्कृत गर्ने कार्यक्रमसमेत रहेको घिमिरेले बताए । 

संघका महासचिव दयानिधि भण्डारीले एक्स्पोमा सहभागी हुन आउने दर्शकलाई आकर्षण र मनोरञ्जन प्रदान गर्न चर्चित राष्ट्रिय, स्थानीय कलाकारको प्रस्तुति रहने जानकारी दिए । उनका अनुसार सांस्कृतिक कार्यक्रमतर्फ स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, डान्स आइडल प्रतियोगिता, लोकदोहोरी गीत प्रतियोगिता, विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, र्‍याप गीत प्रतियोगिता र भजन प्रतियोगिता गरिनेछ ।

निजी सुरक्षा कम्पनीको सहभागितामा एक्स्पोको आवश्यकताअनुसार सुरक्षा प्रबन्ध मिलाइएको र सशस्त्र र जनपद प्रहरीको संयुक्त गस्ती रहने आयोजकले जानकारी दिएको छ । एक्स्पोको सुरक्षालाई ध्यानमा राख्दै विभिन्न स्थानमा सिसिक्यामेराको समेत व्यवस्था मिलाइएको छ ।
 

ad
ad
ad
ad