१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ४ बुधबार
  • Saturday, 28 September, 2024
२o८o पौष ४ बुधबार o९:२६:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेसमा वरीयता विवाद : शेखर कोइरालालाई कतै बहिष्कार, कतै दोस्रो वरीयता 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o पौष ४ बुधबार o९:२६:oo

कांग्रेसको जारी जिल्ला र प्रदेश सम्मेलनमा इतर समूहको नेतृत्व गरिरहेका डा. शेखर कोइरालाको वरीयताको विषयलाई लिएर विवाद देखिएको छ । उनलाई कतै दोस्रो वरीयताको स्थान दिइएको छ भने कतै बहिष्कार गर्नेसम्मको अवस्था भएको हो ।

जारी सम्मेलनहरूमा कोइरालालाई सभापति शेरबहादुर देउवापछिको दोस्रो वरीयता र देउवा प्रमुख अतिथि रहेका कार्यक्रममा विशिष्ट अतिथिको रूपमा प्रस्तुत गर्ने गरिएको छ । संस्थापननिकटको नेतृत्व रहेका स्थानमा कोइरालानिकटले पार्टी एकताको सन्देश र परम्पराका आधारमा उनलाई वरिष्ठ नेताको हैसियतमा विशिष्ट अतिथि बनाउन दबाब दिने गरेको छ । तर, संस्थापन पक्षधर विरोध गरिरहेका छन् । कोइरालालाई दोस्रो वरीयतामा राखिएपछि उपसभापति पूर्णबहादुर खड्का उनी सहभागी कार्यक्रममा उपस्थित नै भएका छैनन् । 

१६ मंसिरमा लुम्बिनी प्रदेश सम्मेलनमा खड्कालाई दोस्रो वरीयता नदिई कोइरालालाई दिने भएपछि खड्का अनुपस्थित भएका थिए । कोइरालानिकट प्रदेश सभापति अमरसिंह पुनले कोइरालालाई दोस्रो वरीयता दिनुपर्ने अडान राखेका थिए । त्यस्तै, मंगलबार (३ पुस) भएको गण्डकी प्रदेश सम्मेलनमा कोइरालालाई वरिष्ठ नेताको रूपमा दोस्रो वरीयता दिइयो । गण्डकीमा प्रदेश सभापति शुक्रराज शर्मा पनि कोइरालानिकट नै हुन् । दुवै जिल्ला सम्मेलनमा कोइरालालाई विशिष्ट अतिथिका रूपमा बोलाइएको थियो । त्यस्तै, सोमबार (२ पुस) भएको नुवाकोट जिल्ला सम्मेलनमा पनि कोइरालालाई विशिष्ट अतिथिको रूपमा बोलाइएको थियो । यी सम्मेलनमा उपसभापति पूर्णबहादुुर खड्का सहभागी थिएनन् । 

यस्तै विवाद ५ पुसमा हुन लागेको पार्टीको मधेश प्रदेश सम्मेलनमा पनि देखिएको छ । मधेशमा सभापति शेरबहादुर देउवानिकट प्रदेश सभापति कृष्ण यादवले कोइरालालाई केन्द्रीय सदस्यको हैसियतमा मात्रै आमन्त्रण गरेपछि कोइरालानिकटले विरोध गरेका छन् । प्रदेश सभापति यादवले पार्टी वरीयताअनुसार आमन्त्रण गरेको बताए । यसमा अनावश्यक विवाद निकालिएको उनको भनाइ छ । ‘पार्टीको सिस्टमअनुसार हामीले सबैलाई आमन्त्रण गरेका छौँ । पार्टीको केन्द्रीय सदस्यको रूपमा उहाँलाई पनि बोलाएका छौँ । हामी सबै नेतालाई समान त्यहीअनुसार सम्मान गर्छौँ । यो विवाद गर्नुपर्ने कुरा होइन । पार्टीविरोधी कुरा गरेर बिथोल्न मात्रै खोज्नेहरूले अनावश्यक हल्ला गरे,’ उनले भने । 

कोइरालानिकट प्रदेश कार्यसमिति सदस्य रविन कोइराला भने वरिष्ठ नेता र दोस्रो वरीयता स्विकारिसकेको अवस्थामा मधेशमा पनि स्विकार्नुपर्ने बताउँछन् । सभापतिपछिको दोस्रो वरीयता नदिए आज (बुधबार) प्रदेश कार्यसमिति बैठकमा ‘नोट अफ डिसेन्ट’ राख्ने तयारीमा रहेको उनले बताए । ‘सबैतिर स्वीकार गरिसकेको अवस्थामा विशिष्ट अतिथिको रूपमा बोलाइएन भन्नेमा हाम्रो असन्तुष्टि हो । पार्टीको परम्पराअनुसार दोस्रो वरीयता नस्विकारे हामीले त्यसका लागि लड्नुको विकल्प हुँदैन । कार्यसमिति बैठकमा ‘नोट अफ डिसेन्ट’ राख्नेछौँ,’ कोइरालाले भने । 

लुम्बिनी प्रदेश सभापति पुन प्रदेश सम्मेलनमा कोइरालालाई विशिष्ट अतिथिका रूपमा बोलाएपछि उपसभापति खड्का कार्यक्रममा सहभागी नभएको बताउँछन् । उनी कांग्रेसको परम्पराअनुसार कोइरालालाई विशिष्ट अतिथिको रूपमा कार्यक्रममा बोलाएको दाबी गर्छन् । ‘विगतमा पनि सभापतिसँग पराजितलाई दोस्रो वरीयता दिने गरिएको हो । हिजो शेरबहादुर देउवालाई पनि त्यो हैसियत दिइएको हो । यो कांग्रेसको परम्परा नै हो, व्यक्तिको कुरा होइन । मेरै प्रदेशमा पनि मैले मसँग पराजित हुनुभएका भरत शाहलाई दोस्रो वरीयता दिएको छु । सभापति र अर्का उपसभापतिले स्विकार्नुभएकै छ । अरू प्रदेशमा पनि त्यसै गरिएको छ । उपसभापति पूर्णबहादुर खड्काले कार्यव्यस्तता देखाउनुभयो, तर आफूलाई दोस्रो वरीयता नदिँदा आउन नसकेको गुनासो पनि गर्नुभयो,’ पुनले भने ।

यसबाहेक गुटमा आएको धु्रवीकरणका कारण कोइरालालाई आफ्नै समूहको अर्को खेमाले समेत बहिष्कार गरेको छ । कोशी प्रदेशमा मन्त्री पठाउने सवालमा कोइरालाले सरसल्लाह नगरेको भन्दै महामन्त्री गगन थापा असन्तुष्ट बनेपछि दुई नेताबीच संवादहीनताको अवस्था थियो । सोही समयमा १८ कात्तिकमा कांग्रेस धादिङ जिल्ला सम्मेलन भयो । प्रमुख अतिथि कोइराला थिए । उक्त जिल्ला सम्मेलनलाई सभापति शेरबहादुर देउवा र महामन्त्री थापा समूहले बहिष्कार गरेको थियो । जिल्ला सभापति रामनाथ अधिकारी कोइरालानिकट मानिन्छन् । कोइरालाले उद्घाटन गरेको सम्मेलनलाई देउवानिकट केन्द्रीय सदस्य दिलमान पाख्रिन, अधिवेशनमा जिल्ला सभापतिमा पराजित भीमप्रसाद ढुंगाना र निवर्तमान सभापति गगन थापानिकट रमेश धमलाको समूहले बहिष्कार गरेको थियोे । पछिल्लो समय शेखर–गगनबीच संवादहीनता तोडिएको छ, तर इतर समूहमा पर्याप्त छलफल र आगामी रणनीति तय भएको छैन । 

महामन्त्री थापा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र युवानेता प्रदीप पौडेलसँग नजिकिएर १५औँ महाधिवेशनको तयारीमा लागेपछि इतर समूहको भविष्य अन्योल देखिएको छ । त्यस्तै, १५ मंसिरमा कोइराला प्रमुख अतिथि रहेको नवलपरासी जिल्ला सम्मेलनलाई संस्थापन पक्षले बहिष्कार गरेको थियो । इतर समूहले महाधिवेशनलगत्तै कोइरालालाई वरिष्ठ नेता बनाउन दबाब दिँदै आएको थियो । सभापति देउवाले पनि कोइरालालाई पार्टी कार्यालयमा छुट्टै कोठाको व्यवस्था गरेका छन्, तर वरिष्ठ नेता भने घोषणा गरिसकेका छैनन् । नेताहरू सभापति देउवालाई आफ्नै समूहबाट वरिष्ठ नेताको हैसियत नदिन दबाब रहेको बताउँछन् । कांग्रेसमा पूर्वउपसभापति गोपालमान श्रेष्ठले समेत आफूलाई वरिष्ठ नेताको हैसियत दिनुपर्ने दाबी गर्दै आएका छन् ।