१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १२:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जाडोमा देखिने समस्या र सावधानी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:२८:oo

जाडो बढ्दै छ । यस मौसममा स–सानो लापरबाहीले पनि ठूला समस्या निम्त्याउन सक्छन् । वयस्कको दाँजोमा वृद्धवृद्धा, नवजात शिशु, गर्भवती, दीर्घरोगीलगायतले आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने हुन्छ । किनकि उनीहरूको रोग प्रतिरोधी क्षमता कमजोर हुन्छ र विभिन्न संक्रमणले समात्न सक्छ । 

मौसमी फ्लु : जाडोमा धेरैजनामा मौसमी फ्लु देखिन्छ । श्वासप्रश्वास, खोकी, हाच्छिउँ र सामान्य बोलीचालीबाट पनि मौसमी फ्लु सर्छ । संक्रमित व्यक्तिको थुकको छिटाबाट अन्यमा यो संक्रमण फैलन सक्छ । त्यहीकारण भिडभाडमा जाँदा मास्क प्रयोग गर्ने, खोक्दा हाच्छिउँ गर्दा हातको बाहुलीले छोप्ने गर्नुपर्छ । फ्लुले निमोनियाजस्ता जटिल समस्या पनि निम्त्याउन सक्ने भएकाले सचेत रहनुपर्छ । 

रुघाखोकी : धुलो, सुक्खा र चिसो हावाका कारण जाडोमा खोकीको जोखिम रहन्छ । यस्तो वेलामा शरीरको प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । ज्वरो पनि आउन सक्छ । त्यसैले संक्रमणबाट बच्न चिसोबाट बच्नुपर्छ । झोलिलो खानेकुरा खानुपर्छ । सरसफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । खाना खानुअघि र पछि साबुनपानीले हात धुनुपर्छ । यसले भाइरल इन्फेक्सन हुनबाट जोगाउँछ । 

प्रशस्त फलफूल खानुपर्छ । मौसम, कागती, सुन्तलालगायतका फलफूल, चना, केराउ, गेडागुडीको दाल खानुपर्छ । त्यस्तै, तातोपानीको बाफ लिनु, नुनपानीले कुल्ला गर्नु लाभदायक हुन्छ । तातो झोलिलो पदार्थ बढी मात्रामा प्रयोग गर्नुपर्छ । निर्मलीकरण गरेको पानी मात्रै पिउनुपर्छ । बाइक वा स्कुटर चलाउने वेलामा नाक, मुख छोप्ने गरी हेल्मेट लगाउनु राम्रो हुन्छ । त्यस्तै, कोल्ड ड्रिंक्स, आइसक्रिमबाट टाढा रहनुपर्छ । 

टन्सिलाइटिस : टन्सिलाइटिसको जोखिम बालबालिकामा धेरै देखिन्छ । ब्याक्टेरियल या भाइरस संक्रमणबाट पनि यस्तो भएको हुन सक्छ । यो समस्या भएमा घाँटीमा दुखाइ महसुस हुने, खाना खान तथा बोल्न समस्या हुने, ज्वरो आउने हुन सक्छ । यसबाट बच्न चिसो पेयपदार्थबाट टाढै रहनु राम्रो हुन्छ ।  

बान्ता/झाडापखाला : अस्वस्थ खानेकुरा र अशुद्ध पानीका कारण धेरैजनामा बान्ता र झाडापखालाको समस्या पनि देखिन्छ । बालबालिकामा रोटाभाइरस र वयस्कमा नोरो भाइरसका कारण यस्तो समस्या देखिन्छ । संक्रमित व्यक्तिको दिसा वा बान्ता, खानेकुरा, पानी वा कुनै सतह र सामानमा परेमा उक्त खानेकुराको माध्यमबाट यो भाइरस सर्न सक्छ । त्यस्तै, संक्रमण भएको सतहमा छुँदा पनि भाइरस सर्न सक्छ । त्यसैले, भोज, स्कुल वा जमघटमा यस्तो भाइरस सर्न सक्ने जोखिम रहन्छ । यसबाट बच्नका लागि निर्मलीकरण गरेको पानी मात्रै पिउनुपर्छ । स्वस्थ र सुरक्षित खानपानमा जोड दिनुपर्छ । घरमै पकाएको खानेकुरा खानु राम्रो हुन्छ । 

दम : दमबाट पीडित बिरामीको समस्या जाडोमा बढ्न सक्छ । दम विभिन्न कारणले हुन्छ । रातको समयमा, चिसो बढेका वेला तथा जाडोमा एलर्जी एटेक हुने सम्भावना बढी हुन्छ । अतः दमका रोगीहरू एलर्जिक तत्व तथा चिसो हावाबाट बच्नुपर्छ । धुलो, माटो, धुवाँ र वायु प्रदूषणबाट बच्न एकदमै जरुरी हुन्छ । दमका रोगीले नियमित सेवन गर्ने औषधि साथमै राख्नुपर्छ । 

ad
ad