एमाले अध्यक्ष केपी ओलीले एमालेले असाधारण काम गर्न सक्ने बताएका छन्। आफू नेतृत्वको पार्टीले अन्य पार्टीले गर्न नसक्ने काम गरेर देखाउने उनको भनाइ थियो।
एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रालाई महान यात्राको संज्ञा दिँदै उनले यात्राका बीचमा जनताका आकांक्षा बुझ्ने अवसर प्राप्त भएको बताए।
झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको आज पाँचथरको याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङमा समापन गर्दै उनले जोखिम चिर्दै, प्राविधिक, भौगोलिक तथा राजनीतिक अवरोध पार गर्दै एमाले जनताको घरसम्म पुगेको बताए।
‘यो यात्रा जोखिम मोल्ने अभियान हो। यात्राले एमालेले अरूले गर्न नसकेको काम गर्न सक्छ भन्ने सन्देश दिएको छ,’ उनले भने, ‘यस यात्राले अवान्छित विचार, चिन्तन र क्रियाकलापविरुद्ध सन्देश दिएको छ। सिंगो देशलाई सर्वोपरि राखेर, जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने सन्देश दिएको छ।’
अभियानका क्रममा सांस्कृतिक विविधताको ग्रहण गर्ने, त्यसलाई प्रयोग र प्रवर्द्धन गर्ने काम भएको पूर्वप्रधानमन्त्री ओलीले बताए। मध्यपहाडका सबै विषयमा जानकार हुने अवसर मिलेको भन्दै उनले यात्रा पूर्ण रूपमा सफल भएको दाबी गरे।
राजनीतिक हिसाबले देशको बिग्रँदो अवस्थाबाट उकास्न, जनतामा फैलिएको निराशा हटाउन, आशावादी जगाउने र जनतामा जागरण पैदा गर्न अभियान सफल भएको बताउँदै अध्यक्ष ओलीले अन्य दल, सरकार र मुलुकलाई यो अभियानले प्रत्यक्ष प्रभाव पारेको धारणा राखे।
ओलीले स्थानीयस्तरका विशेषता, चालचलन, परिचय, आवश्यकता, समस्या र समाधानबारे जानकारी लिने, ध्यानाकर्षण हुँदा एमालेले समाजलाई झनै नजिकबाट बुझ्न सहज भएको, अभियानले एमालेको नीति र कार्यक्रमलाई जनतामा बुझाउन मद्दत मिलेको बताए। (रासस)