१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २९ शुक्रबार
  • Saturday, 28 September, 2024
एजेन्सी श्रीलंका
२o८o मङ्सिर २९ शुक्रबार o६:३९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

श्रीलंकाली क्रिकेट बोर्डमा जयसूर्याको प्रवेश

श्रीलंकाका लागि ५८६ खेलमा २१ हजार ३२ रन जोडेका सनथ जयसूर्याले कोचिङ स्टाफ र खेलाडीलाई सल्लाह दिनेछन्

Read Time : > 1 मिनेट
एजेन्सी, श्रीलंका
नयाँ पत्रिका
२o८o मङ्सिर २९ शुक्रबार o६:३९:oo

श्रीलंकाका पूर्वक्रिकेटर सनथ जयसूर्या क्रिकेट बोर्डमा कन्सल्टेन्ट भूमिकामा प्रवेश गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को प्रतिबन्धमा रहेको श्रीलंकाली क्रिकेट बोर्डले राष्ट्रिय टोली बलियो बनाउन अनुभवी तथा सन्न्यास लिइसकेका पुराना खेलाडीलाई बोर्डमा भित्र्याएको छ । यसैगरी बोर्डले छनोट कमिटीसमेत गठन गरेको छ । राष्ट्रिय टोलीका पूर्वओपनर उपल थरंगाले छनोट कमिटीको प्रमुख जिम्मेवारी पाएका छन् । बोर्ड र जयसूर्याबीच एक वर्षको सम्झौता भएको छ । 

जयसूर्याले कोचिङ स्टाफ र खेलाडीलाई सल्लाह दिने छन् । यसका साथै उनी घरेलु क्रिकेट बलियो बनाउन सक्रिय भूमिकामा देखिने बोर्डले जनाएको छ । गत महिना भारतमा भएको एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा खराब प्रदर्शन भएपछि बोर्डले अनुभवी खेलाडीलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ । 

श्रीलंकाली क्रिकेट इतिहासमा जयसूर्या सफल खेलाडीमा पर्छन् । उनले ५ सय ८६ खेलमा २१ हजार ३२ रन बनाए । यसैगरी, उनले ४२ शतक बनाउनुका साथै चार सय ४० अन्तर्राष्ट्रिय विकेट हात पारे । अहिलेको छनोट कमिटीको कार्यकाल दुई वर्षपछि सकिनेछ । त्यसपछि नयाँ छनोट कमिटीले गठन हुनेछ । छनोट कमिटीमा दुई वर्षसम्म थरंगा रहनेछन् । यसैगरी, छनोट कमिटीमा अजन्था मेन्डिस, थरंगा परनाविता र दिलरुवान परेरा सदस्य छन् । नयाँ कमिटीले घरेलु मैदानमा हुने जिम्बावेविरुद्धको एकदिवसीय र टी–२० खेलका लागि खेलाडी छनोट गर्नेछ । 

टी–२० टोली बलियो बनाउनुपर्ने चुनौती
वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपलाई मध्यनजर बनाएर उत्कृष्ट टोली निर्माण गर्नुपर्ने दायित्व छनोट कमिटीलाई छ । श्रीलंकाली सरकारले बोर्डमा हस्तक्षेप गरेपछि आइसिसीले प्रतिबन्ध लगाएको हो । आइसिसीले श्रीलंकालाई अन्तर्राष्ट्रिय क्रिकेटमा भाग लिन प्रतिबन्ध लगाएको छैन । बोर्डमा विवाद र बारम्बार सरकारको हस्तक्षेप हुँदा आइसिसीले श्रीलंकाबाट आइसिसी यू–१९ विश्वकपको आयोजना छिनेको थियो । 

अब आइसिसीले दक्षिण अफ्रिकामा यू–१९ विश्वकप गर्नेछ । भारतमा भएको विश्वकपमा श्रीलंकाले नौ खेलमा केवल दुई जित मात्र निकालेको थियो । श्रीलंका अफगानिस्तान र बंगलादेशसँग समेत पराजित भएको थियो । श्रीलंकाले नेदरल्यान्ड्स र इंग्ल्यान्डलाई हराएको थियो ।