१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:१७:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्याज उत्पादनमा किसानदेखि सरकारसम्मको उपेक्षा

उत्पादनको क्षेत्रफल घट्दै गर्दा हरेक वर्ष अभाव

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:१७:oo

किसानदेखि सरकारसम्मको उपेक्षाले प्याजमा आत्मनिर्भर बन्नबाट नेपाल चुकेको छ । सरकारले १५ वर्षअघि प्याजमा आत्मनिर्भर बन्ने योजना अघि सारे पनि पूर्ण रूपमा कार्यान्वयन नहुँदा नेपाली उपभोक्ता हरेक वर्ष महँगो मूल्यमा भारतीय प्याज खान बाध्य छन् । महँगो मूल्यमा बिक्ने प्याज उत्पादन गर्न किसानसमेत आकर्षित भएको देखिँदैन ।

सरकारले आर्थिक वर्ष ०६४/६५ मा तराईका झापा, मोरङ, सुनसरी, धनुषा, सप्तरीमा ५० करोड लगानीमा प्याजमा आत्मनिर्भर बन्ने योजना अघि सारेको थियो । योजना केही जिल्लाहरूमा सुरु भई उत्पादनसमेत हुन थालेको थियो । तर, त्यतिवेला प्याज उत्पादन राम्रो हुन नसकेको र भारतीय प्याज स्थानीय उत्पादनभन्दा सस्तो हुन थालेपछि किसान अन्य उपजतर्फ आकर्षि हुन थालेको पूर्वकृषिसचिव कृष्ण आचार्यले बताए ।

त्यतिवेलाको योजनालाई गम्भीर रूपमा लिएर किसानलाई आकर्षित गराउन सकेको भए अहिले भारतीय प्याजको भर पर्ने अवस्थामा नआउने उनको भनाइ छ । उनले भने, ‘नेपालमा उत्पादन राम्रो हुन सकेन, भारतीय प्याज नेपालको भन्दा सस्तो हुन थालेपछि किसानको लगानी नै जोखिममा पर्‍यो । यसले प्याज उत्पादन गर्नुभन्दा आयातमुखी बनायो, अहिले त्यसको असर झनै गम्भीर भएर देखापरेको हो ।’

सामान्य अवस्थामा प्याज उत्पादन र बजारको खासै चर्चा नभए पनि भारतले प्रतिबन्ध लगाउनासाथ सरकार व्यवसायीमा हल्लाखल्ला मच्चिने गरेको उनले बताए । उनले भने, ‘विगतका कुरालाई बिर्सेर आधुनिक ढंगले किसानलाई आलु–प्याज उत्पादनमा प्रोत्साहन गर्न सरकार केन्द्रित हुनुपर्छ ।’

नेपाल कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतले नेपाली किसानले उत्पादन गरेको प्याजमा लगानी बढी हुने र मूल्य नपाउने हुँदा किसान यसतर्फ आकर्षित नभएको बताए । उनले भने, ‘अहिले भारतले प्रतिबन्ध लगाएपछि मात्र हो, प्याजको चर्चा भएको, नत्र भारतीय प्याजकै भरमा नेपालीको भान्सा चलेको छ, अनि व्यावसायिक रूपमा उत्पादन गर्ने किसानले सिजनमा मूल्य नपाउने अवस्था बनेकै कारण आकर्षण घटेको हो ।’ सरकारले आलु–प्याज उत्पादन बढाउन छुट्टै परियोजना नै ल्याएर केही वर्ष लगानी बढाउनुपर्ने उनको भनाइ छ । 

पशुपक्षी विकास मन्त्रालयकी प्रवक्ता सबनम सिवाकोटीले नेपालमा बिउ उत्पादन गर्न कठिन भएको र भएको बिउले पनि उत्पादन दिन नसकेपछि सो योजना विफल भएको बताइन् । उनले भनिन्, ‘त्यतिवेला भारतले आफ्नो उत्पादनको बिउ दिन मानेन्, नेपालमा उत्पादन गरेको बिउले उत्पादन हुन सकेन, अर्कोतर्फ राजनीतिक उतारचढावका साथै भण्डारको समस्या पनि अर्को प्रमुख कारण थियो ।’

 नेपालमा सन्तोषजनक छैन प्याज उत्पादनको अवस्था 
नेपालमा प्याज उत्पादनको अवस्था नाजुक रहेको तथ्यांकले देखाउँछ । राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका अनुसार नेपालमा प्याज उत्पादनको क्षेत्रफल घट्दै गएको छ । आर्थिक वर्ष ०७५/७६ मा २० हजार नौ सय हेक्टर जमिनमा खेती हुँदै आएकोमा ०७६/७७ मा २० हजार चार सय हेक्टरमा सीमित भएको छ । त्यस्तै, आर्थिक वर्ष ०७७/७८ मा २० हजार तीन सय हेक्टर जमिनमा मात्र प्याज उत्पादन भएको केन्द्रकी प्रमुख जानुका पण्डितले जानकारी दिइन् । आर्थिक वर्ष ०७६/७७ मा दुई लाख ८८ हजार मेट्रिकटन उत्पादन भएको प्याज आर्थिक वर्ष ०७७/७८ मा दुई लाख ४५ हजार मेट्रिकटनमा सीमित भएको छ । 

भारतको निर्यात प्रतिबन्धले अचाक्ली महँगो
केही दिनयता नेपाली बजारमा एकाएक दैनिक खपत हुने प्याजमा अस्वाभाविक मूल्य बढ्नुका साथै हाहाकारसमेत भएको छ । भारतीय विदेश व्यापार महानिर्देशनालयले गत बिहीबारदेखि आगामी १७ चैत ०८० सम्म प्रतिबन्ध लगाएको जनाएको छ । बजारमा सबैभन्दा धेरै आयात हुने कृषि वस्तुमध्ये प्याज एक हो । चालू आवको चार महिनामा नेपालमा एक अर्ब ६२ करोडबराबरको प्याज आयात भइसकेको छ । गत आवभर भने नेपालमा ६ अर्ब ७५ करोडको प्याज आयात भएको थियो । भारतले निर्यातमा प्रतिबन्ध लगाएको पाँच दिनमै बजारमा प्याजको हाहाकार मच्चिएको हो । आलु–प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलले भारतले लगाएको प्रतिबन्धले बजारमा प्याज अभाव भएको बताए । 

अहिले केही आन्तरिक प्याज पनि आएको छ, तर भारतबाट निर्यात ठप्प भएको हुँदा माग धान्न नसकिएको उनको भनाइ छ । कालीमाटी तरकारी बजारमा भारतीय प्याजको मूल्य सोमबार औसत एक सय ४५ रुपैयाँ छ । तर, उपभोक्ता किलोको एक सय ६० रुपैयाँसम्ममा किन्न बाध्य भएका छन् । यसअघि गत १८ मंसिरमा प्याजको औसत मूल्य प्रतिकिलो ९७ रुपैयाँ रहेको थियो ।

कालीमाटी तरकारी बजारमा औसत समयमा ७० देखि ९० मेट्रिकटन प्याज आउने गरेको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागका प्रवक्ता आनन्दराज पोखरेलले अनुगमन बजारमा प्याजको कृत्रिम अभाव नभएको बताए ।

ad
ad