
काठमाडौं महानगरपालिकाले आज प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ मैत्रीपूर्ण फुटबल सम्पन्न गरेको छ।
२९औँ महानगर दिवस २०८० का अवसरमा दशरथ रंगशालामा आयोजना गरिएको खेलमा जनप्रतिनिधिको नेतृत्व प्रमुख बालेन्द्र साह (बालेन) र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले गरेका थिए। महानगर दिवस, प्रतियोगिता सञ्चालन उपसमितिले खेलको आयोजना गरेको हो।
खेलको सुरुवात गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले रेफ्री ओम न्याैपानेलाई र रेफ्री न्यौपानेले महानगरका प्रमुख साह र उपप्रमुख एवं महानगर दिवस मूल समारोह समितिकी संयोजक सुनिता डंगोललाई फुटबल हस्तान्तरण गरेका थिए।
खेलमा कर्मचारीका तर्फबाट जीवन थापाले तीन गोल र सविन लामाले दुई गोल गरेका थिए। यस्तै, जनप्रतिनिधिका तर्फबाट प्रेम थापाले एक गोल र नवीन भण्डारीले दुई गोल फर्काएका थिए। महानगर दिवसका कार्यक्रमअन्तर्गत २७ गते बाँसुरीवादन प्रतियोगिता, २८ गते गुरु सम्मान र २९ गते मूल समारोह हुनेछ।