Skip This
प्रहरी चौकीनजिकै सात घरमा चोरी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २४ आइतबार
  • Saturday, 27 July, 2024
दीपक भट्ट रामेछाप
२o८o मङ्सिर २४ आइतबार १६:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरी चौकीनजिकै सात घरमा चोरी

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८o मङ्सिर २४ आइतबार १६:५१:oo

गएराति रामेछाप नगरपालिका– ३ साँघुटार बजारमा रहेको प्रहरी चौकीकै आँगनमा रहेका सात घर तथा पसलमा चोरी भएको छ। 

त्यसमध्ये चारवटा घरबाट नगद सात लाख ४५ हजार सात सय रुपैयाँ चोरी भएको छ। स्थानीय वसन्त श्रेष्ठको घरबाट नगद चार लाख ८० हजार र एक लाख २० हजार रुपैयाँबराबरको रिचार्ज कार्ड, नवीन कर्मचार्यको घरबाट नगद एक लाख पाँच हजार रुपैयाँ, यमबहादुर श्रेष्ठको घरबाट ४० हजार रुपैयाँ र सुन्तली विकको घरबाट सात सय रुपैयाँ चोरी भएको बताइएको छ।

स्थानीय खड्गबहादुर विकको घरबाट भएको चोरीको विवरण आउन बाँकी रहेको रामेछाप नगरपालिका– ३ साँघुटारका वडाध्यक्ष दलबहादुर प्रधानले जानकारी दिए।

‘खड्गबहादुरको घरमा सुन पसल रहेको र घरधनी अहिले परिवारसमेत घरायसी कामले राजधानी गएकाले त्यस घरमा के–कति चोरी भएको छ,’ उनले भने। उनका अनुसार चोरी भएका अधिकांशको घरमा पसल रहेका थिए। चोरले ती पसलको ताल्चा तोड्दै नगद र रिचार्ज कार्ड लगेको देखिन्छ।

पछिल्लो समय लगातार रूपमा चोरीका घटना बढ्दै गएपछि ग्रामीण भेगमा रहेर व्यापार–व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरू त्रसित बनेका छन्। रामेछापमा बाक्लै रूपमा चोरीका घटना घटे पनि प्रहरीले सीमित घटनामा मात्रै अभियुक्तलाई पक्राउ गर्न सकेको छ।

प्रहरी चौकीकै हातामा रहेका घरमा चोरी हुँदासमेत प्रहरी भने बेखबर छ। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होमबहादुर पराजुलीले चौकीमा दरबन्दीअनुसारको प्रहरी नहुँदा काममा समस्या भएको बताएका छन्।

उनले भने, ‘प्रहरी चौकीमा ६ जनाको दरबन्दी छ। त्यसमा प्रायजसो एकजना बिदामा नै जाने हुन्छन्। बाँकी पाँचजनाले त्यहाँको सबै घटनामा काम गर्नुपर्ने अवस्था छ।’ 

घटनाको थप अनुसन्धानका लागि जिल्लाबाट केही दिनको लागि दुई–तीनजना मगाएर चोरीमा संलग्नको खोजी कार्य गरिने प्रहरी प्रमुख पराजुलीले बताए।