Skip This
गाजा युद्धमा अमेरिकाको भिटोपछि इरानले दियो ‘विस्फोट’को चेतावनी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २३ शनिबार
  • Friday, 26 July, 2024
रासस तेहरान
२o८o मङ्सिर २३ शनिबार १५:४९:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

गाजा युद्धमा अमेरिकाको भिटोपछि इरानले दियो ‘विस्फोट’को चेतावनी

Read Time : > 1 मिनेट
रासस, तेहरान
नयाँ पत्रिका
२o८o मङ्सिर २३ शनिबार १५:४९:oo

अमेरिकाले गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (विशेषाधिकार) लगाएपछि इरानले शनिबार मध्यपूर्वमा अवस्थाको ‘नियन्त्रण गर्न नसकिने विस्फोट’ हुने खतराको चेतावनी दिएको छ।

इस्लामिक गणतन्त्र इरानका शीर्ष कूटनीतिज्ञ (विदेशमन्त्री) होसेन अमिर–अब्दुल्लाहियानले गाजापट्टीमा मानवीय सहायता पठाउन सक्षम बनाउन इजिप्टसँगको राफा सीमालाई तत्काल खोल्न अपिल गरे।

इजरायली अधिकारीहरूका अनुसार इरान समर्थित इस्लामिक लडाकु समूह हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आश्चर्यजनक हमलामा अधिकांश सर्वसाधारणसहित करिब एक हजार दुई सय मानिसको मृत्यु भएको छ भने हमासले करिब दुई सय ४० जनालाई बन्धक बनाएको छ।

इजरायलले जवाफमा हमासलाई नष्ट गर्ने वाचा गर्दै गाजामा आक्रामक हमला सुरु गरेको छ। हमलामा प्यालेस्टिनी क्षेत्रमा अधिकांश सर्वसाधारणसहित १७ हजार चार सयभन्दा बढी मानिसको मृत्यु भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ। इजरायल अमेरिकाको मुख्य सहयोगी मुलुक हो।

गाजामा तत्काल युद्धविरामको आह्वान गरिएको सुरक्षा परिषद्को प्रस्तावलाई अमेरिकाले शुक्रबार भिटो लगाएको थियो। उक्त प्रस्तावले हमासलाई अक्टोबर ७ मा गरेको हमलालाई दोहोर्‍याउन सक्षम बनाउने भन्दै भिटो लगाउनुपरेको अमेरिकाले बताएको छ।

इरानको विदेश मन्त्रालयका अनुसार टेलिफोन संवादमा अमिर–अब्दुल्लाहियानले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भने, ‘जबसम्म अमेरिका यहुदीवादी शासन (इजरायल)को अपराधहरू र युद्धको निरन्तरतालाई समर्थन गर्छ तबसम्म यस क्षेत्रको स्थितिमा अनियन्त्रित विस्फोटको सम्भावना छ।’

इरानी विदेशमन्त्रीले संयुक्त राष्ट्रसंघ बडापत्रको धारा ९९ लाई ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्न साहसी कदम’का रूपमा प्रयोग गर्ने राष्ट्रसंघीय महासचिवको प्रशंसा गरे।

एक साताको युद्धविरामपछि डिसेम्बर १ देखि इजरायल र हमासबीच पुनः युद्ध सुरु भएको छ। इजरायलका अनुसार हमासले युद्धविरामको उल्लंघन गरेको छ। विदेशमन्त्री अमिर–अब्दुल्लाहियानले महासचिव गुटेरेससँग भने, ‘हमासले युद्धविरामको उल्लंघन गरेको इजरायलको दाबी सम्पूर्ण रूपमा गलत हो।’ उनले इजरायलका लागि अमेरिकी समर्थनले स्थायी युद्धविराम हासिल गर्न कठिन बनाएको बताए।