१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० मङ्सिर २३ शनिबार १३:०९:००
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

रोल्पाका मासु व्यवसायीद्वारा व्यवसाय सुधारको प्रतिबद्धता

Read Time : > 3 मिनेट
२०८० मङ्सिर २३ शनिबार १३:०९:००

रोल्पामा रहेका मासु व्यवसायीहरूले उपभोक्तालाई स्वच्छ मासु उपलब्ध गराउने र वधशालालाई सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।

भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र, रोल्पाले आयोजना गरेको मासु व्यवसायी तथा सरोकारवालाहरूको अन्तर्क्रियामा बोल्दै व्यवसायीहरूले मासु व्यवसाय सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा गर्ने प्रतिबद्धता जनाएका हुन्।

लिवाङमा शुभश्री फ्रेस हाउस सञ्चालन गर्दै आएका हरि केसीले फ्रेस हाउसको सरसफाइमा कमी नगरेको बताए। ‘अनुगमनको क्रममा दिइएको सुझावलाई सुधार गर्दै व्यवस्थित गरिरहेको छु,’ केसीले भने, ‘उपभोक्तालाई स्वच्छ मासु खुवाउँदा आफ्नै व्यवसायलाई फाइदा हुने हो। त्यसमा सचेत छौँ।’

सुनील स्मृति गाउँपालिका–८, अरेसमा विश्वकर्मा फ्रेस हाउस सञ्चालन गरिरहेका नमबहादुर विश्वकर्माले गाउँमा ठूलो लगानी गरेर मापदण्ड पूर्ण रूपमा पालना गर्न नसके पनि न्यूनतम मापदण्ड पालना गरेको दाबी गरे। स्थानीय तहले वधशाला निर्माणदेखि आवश्यक प्राविधिक सहयोग गर्नुपर्ने भन्दै माडी गाउँपालिकाको घर्तीगाउँमा न्यू भाबाङी फ्रेस हाउस सञ्चालन गरिरहेका दिलबहादुर वलीले राम्रो व्यवसायले राम्रै आम्दानी दिने भएकाले अहिले चलिरहेको फ्रेस हाउसलाई स्तरोन्नति गर्ने बताए।

रोल्पामा लिवाङ, सुलिचौर, घर्तीगाउँ, होलेरीलगायतका व्यापारिक केन्द्रहरूमा अन्य ठाउँको तुलनामा धेरै मासु खपत हुन्छ। तर, स्वच्छ मासु उपभोक्ताले नपाएको गुनासो बढेसँगै जिल्ला प्रशासन कार्यालय र भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले अनुगमनलाई प्राथमिकता दिँदै आएको छ।

पछिल्लो समय धेरैजसो बजारमा अनुगमन भइरहे पनि होलेरी बजारमा अनुगमन नभएको होलेरीका मासु व्यवसायी विक्रम डाँगीले बताए। उनले होलेरीमा मात्र करिब दुई सय किलो मासु दैनिक खपत हुने भन्दै जिल्लाबाहिरबाट आयात हुने भएकाले अनुगमन आवश्यक रहेको बताए।

विगत पाँच वर्षदेखि त्रिवेणी गाउँपालिकाको जुँगारमा बागेश्वरी फ्रेस हाउस सञ्चालन गरिरहेका भूपालसिंह डाँगीले कुखुरा दाङको तुलसीपुरबाट आयात हुने र आँखाले हेर्दा स्वच्छ देखिने कुखुरालाई मात्र काट्ने गरेको बताए। मासु व्यवसायीहरूले प्राविधिक अनुदानदेखि व्यावसायिक तालिमको आवश्यक रहेको बताएका छन्।

दर्ताविना नै व्यवसाय
जिल्ला सदरमुकाम लिवाङ तथा अन्य बजारहरूमा दर्ताविना नै व्यवसाय सञ्चालन भइरहेको पाइएको छ। ‘दर्ता नै नगरेर पनि व्यवसाय सञ्चालन गरिरहेको देखिन्छ, त्यसलाई नियमन गर्नुपर्छ,’ व्यवसायी हरि केसीले भने, ‘मापदण्ड पालना गर्ने व्यवसायीको कर्तव्य पनि हो, तर दर्ता नै नगर्ने व्यवसायीलाई नियमन गर्नुपर्छ।’ 

अनुगमनको क्रममा केही ठाउँमा दर्ताविना नै व्यवसाय सञ्चालन भएको पाइएको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्रमुख डा. शंकर न्यौपानेले बताए। पहिलो चरणमा सबैलाई सचेत बनाइएको र अबको अनुगमनमा त्यस्ता व्यवसायी भेटिए कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने उनले प्रस्ट पारे।

मासु व्यवसायी संघ रोल्पाका अध्यक्ष टंक बुढामगरले भने मापदण्डको नाममा व्यवसायीलाई विस्थापित नगर्न आग्रह गर्दै न्यूनतम मापदण्ड पालना गर्न व्यवसायी प्रतिबद्ध रहेको बताए। प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले भने मापदण्डविपरीत व्यवसाय सञ्चालन गर्नु कानुनको खिलापमा भएकाले त्यसप्रति सबै सचेत हुनुपर्ने बताए। स्थानीय तहहरूले व्यवसाय दर्ता गर्दा मापदण्ड पूरा गरे–नगरेको हेरेर मात्र दर्ता गरिदिनुपर्ने भन्दै घिमिरेले छिटो छरितो काम गर्ने नाममा विधि नपुर्‍याई काम नगर्न स्थानीय तहका पशु सेवा शाखा प्रमुखहरूलाई आग्रह गरे।

रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा (घर्ती)ले मासु व्यवसाय मान्छेको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसलाई व्यवसायीले गम्भीरतापूर्वक लिनुपर्ने बताए। स्थानीय तहले गर्न सक्ने कुरामा अनुदान र साझेदारी गर्ने प्रतिबद्धता जनाउँदै उनले अनुदानका लागिभन्दा पनि व्यावसायिक सेवामा प्रतिबद्ध हुनुपर्नेमा जोड दिए। मासु र मासुजन्य रोगहरू, स्वच्छ मासु उत्पादनमा पशु वधशाला तथा मासु पसल सञ्चालकहरूको भूमिकाका विषयमा डा. शंकर न्यौपाने र डा. प्रतिभा थापामगरले व्यवसायीलाई अभिमुखीकरण गरेका थिए।

आयात–निर्यातको अभिलेख छैन
रोल्पामा मासु आयात तथा निर्यातको अभिलेख देखिँदैन। ‘आयात–निर्यातको रेकर्ड स्थानीय तहले राख्नुपर्ने हो,’ पशु सेवाविज्ञ केन्द्रका डा. शंकर न्यौपानेले भने, ‘नियमानुसार जाँदा त वध गर्नुपूर्व पशुको चेकजाँच गर्नुपर्छ, तर त्यसको व्यवस्थापन गाह्रो पनि छ, रेकर्ड चाहिँ राख्नुपर्छ।’

जिल्लाबाट यात्रुबाहक सवारीसाधनको डिक्कीमा खसीबोका निर्यात हुने गरेको भन्दै त्यसलाई प्रहरी प्रशासनको सहयोगमा नियमन गर्न आवश्यक रहेको रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष केशवकुमार आचार्यले बताए।

आयात–निर्यातको कुरा शाखामा जानकारी नहुने भन्दै त्रिवेणी गाउँपालिका पशु सेवा शाखाका मञ्जु वलीले नियमनका लागि आवश्यक मापदण्ड बनाई कार्यान्वयन गर्नुपर्ने बताइन्। रुन्टीगढी पशुसेवा शाखाका भुवन कवरले आयात–निर्यातलाई व्यवस्थित गर्न जनप्रतिनिधिले चासो दिनुपर्ने बताए।

माडी गाउँपालिकाले प्रतिखसी एक सय रुपैयाँ ल्याएर सिफारिस गर्ने गरेको बताउँदै शाखाका वीरभद्र बाँठाले रेकर्ड व्यवस्थापनमा भने समस्या रहेको बताए। रोल्पा नगरपालिकाका पशु सेवा शाखाका दिलमाया विष्टले वधशाला निर्माणका लागि यसअघि १५ लाख बजेट छुुट्याइए पनि जग्गा नपाइएपछि वधशाला निर्माण हुन नसकेको बताइन्।

पशुजन्य उत्पादनमा राम्रो सम्भावना
रोल्पामा पशुपन्छीजन्य उत्पादनमा राम्रो सम्भावना देखिएको छ। आर्थिक वर्ष ०७९/८० को तथ्यांकलाई हेर्ने हो भने जिल्लाबाट १७० मेट्रिक टन मासु निर्यात भएको छ। वार्षिक प्रतिव्यक्ति १४ किलोग्राम मासु खानुपर्ने अवस्थालाई हेर्दा उत्पादन १४.७ प्रतिशत मात्र हुने र जसले ५ प्रतिशत रोल्पालीलाई मात्र पुग्ने भए पनि मापदण्डकै आधारमा सबैले मासु सेवन नगर्ने र जसका कारण निर्यात बढेको हुन सक्ने देखिएको छ।

रोल्पाबाट वार्षिक मासु निर्यात हुनु राम्रो पक्ष भएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र रोल्पाका प्रमुख डा. शंकर न्यौपानेले बताए। रोल्पाबाट उक्त आर्थिक वर्षमा २.३४ मेट्रिक टन ऊन पनि निर्यात गर्न सफल भएको न्यौपानेले बताए।

मासु उत्पादनमा राम्रो सम्भावना रहे पनि विगत दुई वर्षको तथ्यांकलाई विश्लेषण गर्दा उत्पादनमा भने गिरावट आएको देखिन्छ। आर्थिक वर्ष ०७८/७९ मा ३ हजार ४८२ मेट्रिक टन मासु उत्पादन हुँदा आर्थिक वर्ष ०७९/८० मा ३ हजार ३७९ मेट्रिक टन उत्पादन भएको छ। अघिल्लो वर्षको तुलनामा ३ प्रतिशतले उत्पादन घटेको देखिन्छ।