नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

शुक्रबार, २२ मंसिर, २०८०
डिजिटल संस्करण

एसिसी यू– १९ एकदिवसीय एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाली यू– १९ टिमले पाकिस्तानको यू–१९ टिमलाई एक सय ५३ रनको लक्ष्य दिएको छ । 

युएईको दुबईमा आजबाट सुरु प्रतियोगिताको पहिलो खेलमा नेपालले ४७.२ ओभरमा अलआउट हुँदै एक सय ५२ रन बनायो । नेपालका लागि उत्तम रञ्जु थापामगरले ५१ रन बनाए । ७६ बलको सामना गरेका उत्तमले दुई छक्का र तीन चौका प्रहार गरे । 

अर्धशतक बनाएलगत्तै उनी अमिर हासानको बलमा कट एन्ड बोल्ड हुन पुगे । यस्तै, बलर दीपेश कँडेलले ५९ बलमा ३१ रनको महत्वपूर्ण इनिङ खेले । उनले एक छक्का र दुई चौका प्रहार गरे । 

४६ रन बनाउँदा नेपालले आफ्ना पाँच मुख्य ब्याटर गुमाइसकेको थियो । यस्तोमा उत्तम र दीपेशले केहीबेर इनिङ सम्हाले । यी दुईले ६८ रनको साझेदारी गरेपछि नेपालले यो स्कोर खडा गर्न सकेको हो । 

पाकिस्तानले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो । तर, पाकिस्तानको यू– १९ टिमका बलर हाबी भएपछि नेपाल यू– १९ टिमका मुख्य ब्याटर सस्तैमा आउट भए । 

नेपाली ओपनर अर्जुन कुमाल २१, अर्का ओपनर तिलक भण्डारी सात, मध्यक्रमका आकाश त्रिपाठी ६ र कप्तान देव त्रिपाठी शून्य रनमा पेभेलियन फर्किएपछि नेपाल संकटमा पर्याे ।

अझ, यही प्रतियोगिताका लागि भनेर टिममा समावेश गरिएका राष्ट्रिय सिनियर टिमका अलराउन्डर गुल्सन झा एक रनमै बोल्ड भएपछि नेपालको कमर भाँचिएको हो ।

विशालविक्रम केसीले एक रन बनाए भने विकेटकिपर विपिन रावल शून्य रनमा आउट भए । अन्तिम विकेटका रूपमा आकाश चन्दले पाँच रन बनाउँदा सुवास भण्डारी आठ रनमा अविजित रहे ।

सुझावित समाचार