
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि नयाँ घोषणा गर्ने तयारी गरिरहेको बताएका छन् । तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गए पनि व्यवहारमा आमजनतामा आशाको सञ्चार सिर्जना गर्न अझै मिहिनेत गर्नुपर्ने देखिएको उल्लेख गर्दै उनले त्यसका लागि बृहत् कार्यक्रम र नयाँ घोषणा गर्ने तयारी गरेको बताएका हुन् ।
राष्ट्रिय व्यावसायिक पहल (एनबिआई)को आयोजनामा बिहीबारदेखि सुरु भएको चौथो संस्करणको जिम्मेवार व्यवसाय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अर्थतन्त्रको दबाबलाई चिर्न आफूले प्रयास गरिरहेको र त्यसमा सघाउन निजी क्षेत्रलाई आह्वानसमेत गरेका छन् ।
‘अर्थतन्त्रको क्षेत्रमा विद्यमान दबाबलाई चिर्न र देशभित्र लगानीमैत्री वातावरणसहित अर्थतन्त्रमा आशाको रक्तसञ्चार गर्न मैले लगातार प्रयास गर्दै आएको छु,’ उनले भने, ‘अन्तक्र्रियापछि केही महत्वपूर्ण घोषणाहरूसमेत गरिएको छ । मेरो विश्वास छ, अन्तक्र्रिया र घोषणाले अर्थतन्त्रमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’प्रधानमन्त्रीले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न आर्थिक कार्यक्रम अगाडि सारेको बताउँदै अझ मिहिनेत गर्ने बताए ।