१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
खाद्यान्न नभएर रित्तै रहेको सिमकोट शाखा कार्यालय
२o८१ बैशाख १८ मंगलबार o६:o३:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

रित्तिँदै हुम्लाको खाद्य गोदाम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:o३:oo

सिमकोट शाखामा १४८ क्विन्टल मात्रै चामल मौज्दात, सप्लायर्स कम्पनीको उदासीनताका कारण दसैँयता खाद्यान्न अभाव चुलिँदै

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चरम लापरबाहीका कारण हुम्लामा खाद्यान्न अभाव चुलिएको छ । ढुवानी जिम्मा पाएका सप्लायर्स कम्पनीहरूलाई समयमै ताकेता नगरेपछि दसैँयता खाद्यान्न अभाव चुलिँदै आएको हो । 

आर्थिक वर्ष ०८०/८१ मा हुम्लाका लागि १४ हजार क्विन्टल चामल स्वीकृत भएको छ । तर, अहिलेसम्म नआएपछि सिमकोट शाखाको गोदाम रित्तिएको हो । स्थलमार्गबाट  चार हजार क्विन्टल र हवाईमार्गबाट १० हजार क्विन्टल ढुवानीका लागि सम्झौता भए पनि सप्लायर्सहरूले समयमै ढुवानी गरेका छैनन् । स्थलमार्गबाट तीन हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सले अहिलेसम्म ढुवानी गरेको छैन । एक हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको चाङला ढुवानी सेवाले १४८ क्विन्टल मात्रै उठाएको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालयले १८ कात्तिकमा हवाईमार्गबाट खाद्यवस्तु ढुवानीका लागि बोलपत्र स्वीकृत आशयको सूचना निकालेको थियो । सिम्रिक एयर हेलिकोप्टर लिमिटेडले हवाईमार्गबाट १० हजार क्विन्टल चामल ढुवानी गर्ने जिम्मा पाएको छ । सिमकोट शाखाका लागि सुर्खेतबाट ६ हजार क्विन्टल र नेपालगन्जदेखि सिमकोटसम्म चार हजार क्विन्टल गरी १० हजार क्विन्टल चामल ढुवानी गर्न सिम्रिका एयरका प्रोपाइटर मुरलीधर जोशीसँग सम्झौता भएको थियो । नेपालगन्जबाट सिमकोटका लागि प्रतिकेजी १४३ र सुर्खेतबाट सिमकोटका लागि प्रतिकेजी १३७ रुपैयाँका दरले सम्झौता भएको छ । 

हवाई ढुवानीका चामल नेपालगन्ज र सुर्खेतमै थन्किए 
सिम्रिका एयरले ढुवानी गर्नुपर्ने खाद्यान्न नेपालगन्ज र सुर्खेतमै थन्किएको छ । नेपालगन्जबाट हवाई ढुवानी हुनुपर्ने चार हजार क्विन्टल र सुर्खेतबाट ढुवानी हुने ६ हजार क्विन्टल गरी १० हजार क्विन्टल चामल नेपालगन्ज र सुर्खेतमै थन्किएको हो । स्थलमार्गबाट ढुवानी जिम्मा पाएको एलबी सप्लायर्सले समयमा ढुवानी नगर्दा चामल नेपालगन्ज, राजापुर प्रादेशिक कार्यालय धनगढीमै थन्किएका छन् ।

स्थलमार्गबाट तीन हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सका प्रोपाइटर लोकेन्द्र भण्डारीले अहिलेसम्म ढुवानीमा चासो देखाएका छैनन् । स्थलमार्गबाटै एक हजार क्विन्टल चामल ढुवानी गर्नुपर्ने चाङला ढुवानी सेवाले पनि खाद्यान्न ढुवानी गरेको छैन । स्थलमार्गबाट नेपालगन्ज हुँदै हुम्लाको सिमकोटसम्म प्रतिकेजी ४० रुपैयाँ ६८ पैसा, सुर्खेतबाट स्थलमार्ग हुँदै सिमकोटसम्म ३९ रुपैयाँ, धनगढीदेखि सिमकोटसम्म ४२ रुपैयाँ ९४ पैसा र राजापुर बर्दियादेखि सिमकोटसम्म ४१ रुपैयाँ ८१ पैसामा ढुवानी गर्न सम्झौता गरेको पाइएको छ । 

सदरमुकाम सिमकोट शाखामा १४८ क्विन्टल खाद्यान्न मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाले जनाएको छ । आव ०८०/८१ को खाद्यान्न समयमै ढुवानीकर्ताहरूले ढिलासुस्ती गरेपछि सिमकोट शाखामा खाद्यान्न अभाव देखिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

सिमकोट शाखाको गोदाम खाली भएपछि उपभोक्ता खाली हात फिर्ता जान बाध्य भएका छन् । स्थलमार्ग (सतहमार्ग)को चार हजार र हवाईमार्गबाट १० हजार क्विन्टल ढुवानी हुने खाद्यान्न नआएपछि समस्या भएको उनको भनाइ छ । हुम्लाका दुईवटा डिपो र चारवटा बिक्री केन्द्रमा पनि खाद्यान्न छैन । याल्वाङ र लिमी बिक्री केन्द्रबाहेक अरू बिक्री केन्द्रमा चामल आउन सकेको छैन । 

 

ad
ad