१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:४७:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानसेनापतिले भने– कसैलाई सेनापति बनाउन गोप्य सम्झौता भएको छैन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:४७:oo

प्रधानसेनापति प्रभुराम शर्माले कुनै अमुक व्यक्तिलाई प्रधानसेनापति बनाउन कसैसँग पनि गोप्य सम्झौता नभएको प्रस्टीकरण दिएका छन्।

सेनाका विभिन्न गण तथा गुल्महरूको कमान्ड गरेका र भविष्यमा कमान्ड गर्न लागेका सैनिक अधिकृतलाई जंगी अड्डामा सम्बोधन गर्दै प्रधानसेनापति शर्माले आफू विधि, पद्धति र प्रक्रियाविपरीत कसैसँग सम्झौता नगर्ने बताएका हुन्। पछिल्लो समय सेनाभित्र र बाहिर रहेका व्यक्तिबाट सेनालाई कमजोर बनाउने प्रयास गरिएको पनि उनले आरोप लगाएका छन्।

पछिल्लोपटक पूर्वमाओवादी लडाकु पृष्ठभूमिबाट समायोजन भएका सेनाका सहायकरथी यमबहादुर अधिकारीको तीन वर्ष म्याद थप भएको थियो। उनलाई भावी प्रधानसेनापति बनाउने मनसायले म्याद थपेको भन्दै कतिपय वृत्तले प्रधानमन्त्री प्रचण्ड र प्रधानसेनापति शर्माबीच सम्झौता भएको आशंका व्यक्त गर्दै आएको थियो। प्रधानसेनापति शर्माले यसलाई अनर्गल प्रचारबाजी भन्दै सतर्क र सचेत रहन सेनाका सबै सकलदर्जालाई निर्देशन दिएका छन्।

प्रधानसेनापतिले संस्थागत हित नै आफ्नो एक मात्र स्वार्थ रहेको र विधि, पद्धति तथा प्रक्रियाविपरीत कसैसँग कुनै सम्झौता नगर्ने पनि स्पष्ट पारेका छन्। ‘असंख्य सिपाहीहरूको रगत पसिनाको जगमा उभिएको नेपाली सेनालाई संस्थाभित्र वा बाहिर रहेर कमजोर बनाउने एवं आफ्नो निहित स्वार्थसिद्ध गर्ने दुराशयले प्रेरित भई त्यस किसिमको कार्य गर्नेहरूको दुष्प्रयासले नेपाली सेना कमजोर हुनेछैन,’ प्रधानसेनापतिले भने।

जंगी अड्डाले मंगलबार जारी गरेको प्रेस नोटमा उल्लेख छ, ‘प्रधानसेनापतिले आफ्नो र प्रधानमन्त्रीको बीचमा गोप्य सम्झौता भएको, विशेष परिस्थितिमा भर्ना भई विशेष ढंगले पदोन्नति भएको र निर्धारित योग्यता नपुगेको व्यक्तिलाई प्रधानसेनापति बनाउन भूमिका तयार गरेको, कुनै राजनीतिक दल विशेषलाई खुसी पार्ने गरी काम गरिदिएबापत राजदूतको नियुक्तिमा जान लागेकोजस्ता व्यक्तिगत तथा संस्थागत प्रतिष्ठामा दाग लगाउने कुचेष्टाले भरिएका दुष्प्रचार पूर्णतः गलत रहेको कुरा बताउनुभयो।’

सेनाका सहायकरथी अधिकारीले तीन वर्षपछि स्वतः अवकाश पाउने सैन्य अधिकारीहरू बताउँछन्। ‘वार कलेज, स्टाफ कलेज र नेसनल डिफेन्स कोर्स केही पनि नगरेका सहायकरथी अधिकारी उपरथीमा नै बढुवा हुन सम्भव छैन। उनलाई विशेष परिस्थितिमा मात्रै सहायकरथीमा बढुवा गरिएको हो। यहाँभन्दा माथि जाने ठाउँ नै छैन,’ एक सैनिक अधिकारीले भने, ‘यसको जानकारी पाएका पूर्वसैनिक अधिकारी र बहालवालाहरूले पनि यसका बारेमा गलत अर्थ लगाउने गरी भ्रम फैलाइएको थियो। त्यही भएर प्रधानसेनापति शर्माले स्पष्ट पार्नुभएको हो।’

सेनामा बलाधिकृत रथी सरोजप्रताप राणाको अवकाशसँगै रिक्त रथी दर्जामा सम्बद्ध  निकायबाट कागजपत्र यकिन गरेर मात्रै पदोन्नति प्रक्रिया सुरु गरेको उनले बताए। शैक्षिक प्रमाणपत्र, नागरिकताजस्ता कागजातहरू आवश्यकताअनुसार सम्बद्ध निकायहरूबाट यकिन गरेर मात्र जंगी अड्डाले कारबाही अघि बढाउने गरेको उनको भनाइ थियो।

जंगी अड्डाका अनुसार प्रधानसेनापतिले विगतमा जाँचबुझ गर्ने क्रममा आफ्नो जिम्मेवारीमा परेका केही पदाधिकारीहरूको कागजात शंकास्पद देखिएकोले कारबाही गर्न सिफारिस गरेको उदाहरण दिएका थिए। संस्थाले गरेको विधिसम्मत प्रक्रियाको जिम्मेवारी संस्थाले लिने, तर व्यक्तिगत रूपमा गर्ने गल्तीको भागीदार स्वयं व्यक्ति नै हुने भन्दै प्रधानसेनापतिले स्वस्थ प्रतिस्पर्धा गर्न, तर अमर्यादित र अस्वस्थ ढंगले अर्कालाई दोषी देखाई आफू अगाडि बढ्न सकिन्छ भन्ने दुर्भावना नराख्न पनि सैनिक अधिकृतहरूलाई ध्यानाकर्षण गराएका छन्।

सेनामा सरुवा, बढुवालगायत वृत्तिविकाससम्बन्धी कार्यहरूका क्रममा गुनासो वा उजुरी गर्ने वैधानिक निकायहरू रहेको जानकारी हुँदाहुँदै संस्थाबाहिरबाट अमर्यादित क्रियाकलापको प्रयासमा संलग्न नहुन सबैलाई उनले सचेत तुल्याएका छन्।

प्रधानसेनापति शर्माले अन्तर्राष्ट्रिय, क्षेत्रीय एवं राष्ट्रिय परिस्थितिहरूको बारेमा संक्षिप्त उल्लेख गरेका थिए। प्रधानसेनापतिले आफ्नो जिम्मेवारी क्षेत्रका जनता, जनप्रतिनिधि, विभिन्न निकायका कर्मचारी एवं कानुन कार्यान्वयन गर्ने निकायहरूमाझ सम्बन्धित युनिटहरूले समग्र संस्थालाई प्रतिबिम्बित गर्न पनि उल्लेख गरे। नेपाली सेनाको गौरवलाई कायम राख्न मुख्य भूमिकामा रहेका युनिट कमान्डरहरूलगायत सबैलाई पेसागत मर्यादामा रहेर संस्था र यसमा कार्यरत सकलदर्जाको हितमा समर्पित रहन प्रधानसेनापतिले निर्देशन दिएका छन्।

सेना मुलुकको संविधान, विधि, पद्धति र उत्कृष्ट परम्पराहरूबाट निर्देशित रहेर दायित्व निर्वाहमा प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन्। व्यक्तिगत स्वार्थबाट प्रेरित भएर संस्थाको हितप्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्तिलाई अन्त्य गर्न आफू प्रतिबद्ध रहेको पनि प्रधानसेनापतिको भनाइ थियो।
 

ad
ad