युगान्डाको क्रिकेट इतिहासमा बिहीबारको दिन ऐतिहासिक बन्यो । युगान्डा पहिलोपटक आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट भएको छ । युगान्डाले विश्वकपको टिकट काट्दा टेस्ट टोली जिम्बावे छनोट हुन असफल भयो । यसअघि जिम्बावेले यसै महिना भारतमा भएको एकदिवसीय विश्वकपको छनोट चरणसमेत पार गर्न सकेन । अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपमा अफ्रिकाबाट युगान्डा र जिम्वावेमध्ये एक अन्तिम टोलीका रूपमा छनोट हुने थियो ।
छनोट चरणको अन्तिम दिन जिम्बावेले केन्यामाथि जित निकाल्दै विश्वकप खेल्ने सपना यथावत् नै राखेको थियो । तर, युगान्डाले रवान्डामाथि सानदार जित निकाल्दै टी–२० विश्वकप खेल्ने सपना पूरा गर्यो । रवान्डाले १८.५ ओभरमा सबै विकेट गुमाएर ६५ रन मात्र बनायो । सहज लक्ष्य पाएको युगान्डाले ८.१ ओभरमा पूरा मात्र गरेन, जिम्बावेलाई समेत विश्वकप छनोटबाट बाहिर पठायो । युगान्डा पराजित हुँदा जिम्बावे छनोट हुने समीकरण थियो । विश्वकपमा पश्चिम अफ्रिकाबाट छनोट हुने युगान्डा पहिलो राष्ट्र हो ।
जिम्बावेले केन्यासँगको खेलमा पहिलो ब्याटिङ गरी चार विकेटको क्षतिमा २१७ रन बनाएको थियो । जसमा सिकन्दर राजाले ४८ बलमा ८२ रनको योगदान दिएका थिए । यसैगरी, सिएन विलियम्सले २६ बलमा ६० रनको विस्फोटक इनिङ्स खेलेका थिए । केन्या आफ्नो अन्तिम खेलमा ११० रनले पराजित भयो । केन्याले २० ओभरमा आठ विकेट गुमाएर १०७ रन बनाएको थियो ।
विश्वकप खेल्ने २० टोली
वेस्ट इन्डिज, अमेरिका, अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश, नामिबिया, युगान्डा, क्यानडा, नेपाल, ओमान, पपुवा न्युगिनी, आयरल्यान्ड र स्कटल्यान्ड ।