
रंगकर्मी विमल सुवेदीले थाइल्यान्डमा हेरिटेज अन्तर्राष्ट्रिय अवार्डमा ‘मोस्ट क्रियटिभ डिरेक्टर’को अवार्ड प्राप्त गरेका छन्।
इ प्लानेट इन्टरनेसनल सिंगापुर र थाइल्यान्डको संस्थाले आयोजना गरेको यस अवार्डका लागि संसारभरका ३० भन्दा बढी देशबाट आठ हजार नाै सय ७० दाबेदार थिए। यी सबैलाई उछिन्दै विमलले सो अवार्ड हात पारेका हुन्।
केन्याका राजदूत लिन्ड्से किमवलकिपतिनेस र मंगोलियाको दूतावासका प्रतिनिधिले संयुक्त रूपमा विमललाई अवार्ड हस्तान्तरण गरेका थिए। विमलले यसअघि पनि भारतबाट ओटिजी अन्तर्राष्ट्रिय अवार्ड, मेटा अवार्ड र गत वर्ष मलेसियाबाट अन्तर्राष्ट्रिय हेरिटिज अवार्ड प्राप्त गरेका थिए।
अभिनयबाट आफ्नो यात्रा सुरु गरेका विमल नाट्य निर्देशनमा पनि सफल मानिन्छन्। दिल्लीको नेसनल स्कुल अफ ड्रामाका ग्य्राजुएट विमलको लेखन तथा निर्देशन रहेका नाटक २५ भन्दा बढी देशका मञ्चमा प्रस्तुत भइसकेका छन्। उनी थिएटर भिलेज नेपालका फाउन्डर तथा निर्देशक पनि हुन्।