१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
कृष्ण रिजाल काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o७:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पौने चार खर्बको सेयर लगानीबाट सरकारलाई सवा २७ अर्ब लाभांश प्राप्त

Read Time : > 2 मिनेट
कृष्ण रिजाल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:१३:oo

सरकारको सेयर लगानी रहेका एक सय १८ संस्थामध्ये १५ वटाले मात्रै लाभांश दिए

सरकारले विभिन्न संस्थान, निकाय तथा कम्पनीमा गरेको सेयर लगानीबाट सवा २७ अर्ब लाभांश प्राप्त गरेको छ । गत आर्थिक वर्ष ०७९/८० मा सरकारले सेयर लगानी गरेका संस्थाबाट २७ अर्ब ३८ करोड रुपैयाँ नगद लाभांश प्राप्त गरेको हो । 

हालसम्म सरकारले एक सय १८ संस्थामा तीन खर्ब ८६ अर्ब रुपैयाँ सेयर लगानी गरेको छ । सेयर लगानी भएका संस्थामध्ये १५ वटाले लाभांश दिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा उल्लेख छ । सरकारले गरेको कुल सेयर लगानीको अनुपातमा ७.१ प्रतिशत लाभांश प्राप्त गरेको देखिन्छ । प्राप्त लाभांश सन्तोषप्रद भएको कार्यालयका निमित्त प्रमुख डिलाराम गिरीले बताए । ‘थुप्रै संस्थान बन्द अवस्थामा छन्, चलेका पनि कतिपय घाटामा छन्, यस्तो अवस्थामा धेरै लाभांश आउने कुरै भएन,’ उनले भने, ‘तर, सार्वजनिक संस्थानमा आएको सुधार र सरकारले ताकेता गरेका कारण लाभांशमा केही सुधार आएको हो, अझ सुधार आवश्यक छ ।’ विद्युत् प्राधिकरण, नागरिक उड्डयन प्राधिकरणजस्ता पूर्वाधारमा लगानी गर्ने निकायबाट तत्कालभन्दा पनि दीर्घकालमा अझ बढी लाभांश आउने सम्भावना हुने उनले बताए । 

गत आवमा सरकारलाई सबैभन्दा बढी नगद लाभांश नेपाल राष्ट्र बैंकले दिएको छ । राष्ट्र बैंकबाट ११ अर्ब सात करोड लाभांश प्राप्त भएको छ । सबैभन्दा कम साझा सेवाबाट चार हजार दुई सय रुपैयाँ प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, नेपाल टेलिकमबाट ६ अर्ब ५८ करोड, नेपाल दूरसञ्चार प्राधिकरणबाट पाँच अर्ब ५१ करोड, कृषि विकास बैंकबाट एक अर्ब ६ करोड र राष्ट्रिय वाणिज्य बैंकबाट एक अर्ब चार करोड नगद लाभांश प्राप्त भएको हो । 

धेरै लगानी प्राधिकरणमा
सरकारले गत आवसम्ममा सबैभन्दा बढी नेपाल विद्युत् प्राधिकरणमा एक खर्ब ७४ अर्ब ७७ करोड रुपैयाँबराबरको सेयर लगानी गरेको छ । त्यस्तै, नागरिक उड्डयन प्राधिकरणमा ६२ अर्ब ७४ करोड र नेपाल टेलिकममा १६ अर्ब ४६ करोडबराबरको सेयर लगानी गरेको छ । सरकारी बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंकमा १५ अर्ब ४६ करोड, कृषि विकास बैंकमा १३ अर्ब २९ करोड र नेपाल बैंकमा पाँच अर्ब ७५ करोड रुपैयाँबराबरको सेयर लगानी रहेको छ । त्यस्तै, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)मा १२ अर्ब ४७ करोड, निक्षेप तथा कर्जा सुरक्षण कोषमा नौ अर्ब, अन्तर्राष्ट्रिय मुद्राकोषमा ६ अर्ब ५८ करोड र नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडमा चार अर्ब ९४ करोड रुपैयाँबराबरको सेयर रहेको छ ।  

हालसम्मकै धेरै लाभांश
पछिल्ला दुई आर्थिक वर्षमा सरकारले सेयर लगानीबाट प्राप्त हुने नगद लभांश घट्दै आएको थियो । आव ०७६/७७ मा सरकारले २३ अर्ब ६४ करोड लाभांश प्राप्त गरेको थियो । त्यसपछिका दुई आर्थिक वर्षमा सरकारले प्राप्त गर्ने लाभांश घट्यो । सरकारले आव ०७७/७८ मा १२ अर्ब ७५ करोड र आव ०७८/७९ मा चार अर्ब २४ करोड रुपैयाँ मात्रै लाभांश प्राप्त गरेको थियो । गत आवमा भने सरकारले हालसम्मकै सबैभन्दा बढी नगद लाभांश प्राप्त गरेको हो । सञ्चालनमा रहेका केही संस्थानमा देखिएको सुधार र सरकारी निकायले आम्दानी बढाएपछि सरकारले प्राप्त गर्ने लाभांश पनि बढेको हो । 

संस्थानमा सुधार आए अझ लाभांश बढ्छ : डिलाराम गिरी, निमित्त कार्यालय प्रमुख
गत आवमा पछिल्ला तीन आर्थिक वर्षयताकै धेरै लाभांश प्राप्त भएको छ । यसलाई सन्तोषप्रद लाभांश मान्नुपर्छ । तर, संस्थान तथा निकायहरूमा सुधार भएमा लाभांश अझ बढ्न सक्छ । थुप्रै संस्थान बन्द अवस्थामा छन्, चलेका पनि कतिपय घाटामा छन्, यस्तो अवस्थामा धेरै लाभांश आउने कुरै भएन । तर, सार्वजनिक संस्थानमा आएको सुधार र सरकारले ताकेता गरेका कारण लाभांशमा केही सुधार आएको हो, अझ सुधार आवश्यक छ । विद्युत् प्राधिकरण, नागरिक उड्डयन प्राधिकरणजस्ता पूर्वाधारमा लगानी गर्ने निकायबाट तत्कालमा भन्दा पनि दीर्घकालमा अझ बढी लाभांश आउने सम्भावना हुन्छ । 

ad
ad