Skip This
दुर्गा प्रसाईं एमाले र माओवादीको पालनकर्ता : नैनसिंह महर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ८ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ८ शुक्रबार १६:o५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दुर्गा प्रसाईं एमाले र माओवादीको पालनकर्ता : नैनसिंह महर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ८ शुक्रबार १६:o५:oo

कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पालनकर्ता भएको र उनले चलाएको अराजकतामा यी दुवै पार्टीको पनि हिस्सेदारी रहेको टिप्पणी गरेका छन्।

कांग्रेस अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले राजाका नाममा भइरहेको अराजकताको जिम्मेवार मार्सी चामलको भात खाएर फोटो प्रकाशन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री केपी ओली भएको बताए।

‘दुर्गा प्रसाईं एमाले र माओवादी केन्द्रको पालनकर्ता हो। आज अराजकताको जिम्मेवार मार्सी चामलको भात खाएर फोटो प्रकाशन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री केपी ओली हो र हुनुपर्छ,’ उनले भने। 

ओली, प्रचण्ड र प्रसाईंबीचको अघोषित सम्बन्धका कारण अहिलेको स्थिति सिर्जना भएको महरले दाबी गरे। ‘दुर्गा प्रसाईं हालको अवस्थामा पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीको बराबर सम्पर्कमा छन्। उनीहरूको दोहोरो उक्साहटमा दुर्गा प्रसाईंले आन्दोलन गरिरहेका हुन्। यसमा राजाको पनि अप्रत्यक्ष साथ होला। तर, बढी भूमिका प्रचण्ड–ओलीकै छ,’ उनले भने।

सत्ताको खेल र देशको ढुकुटीमा कसरी रजगज गर्ने भन्ने कम्युनिस्ट प्रपञ्चको हिस्सेदार हिजोदेखि नै दुर्गा प्रसाईं पनि रहेको महरको आरोप छ। ‘ओलीले वर्तमान सत्ताका खिलापमा दुर्गा प्रसाईंलाई प्रयोग गर्न चाहिरहेको देखिन्छ। प्रचण्ड दुर्गा प्रसाईंको माध्यमबाट ओलीलाई तर्साउन चाहन्छन्। प्रचण्ड र केपी ओलीका कमजोरीसँग दुर्गा प्रसाईं परिचित छन्,’ उनले भने।

प्रचण्ड र ओलीका कमजोरी प्रसाईंलाई थाहा रहेकाले उनीहरू प्रसाईंको खिलापमा जान नसक्दा अराजकताले प्रश्रय पाइराखेको महरले बताए।
केही अराजक तत्व पुनः मुलुकमा द्वन्द्व निम्त्याएर अस्थिरता सिर्जना गर्न प्रयत्नरत रहेकाले कांग्रेस त्यसका खिलापमा बलियो गरी उभिनुपर्ने बताए।

‘कांग्रेस पनि सुध्रिनुपर्नेछ। हाम्रा कमी–कमजोरी छन्। कांग्रेसले आफैँबाट सुधारको प्रक्रिया थाल्नुपर्छ। जनताका लागि काम गर्नुपर्छ। प्रजातान्त्रिक आचरणअनुसार अगाडि बढ्ने वातावरण आफैँभित्र सिर्जना गर्न जरुरी छ। यसरी अगाडि बढे कांग्रेस र मुलुक दुवै समृद्ध हुनेछन्,’ उनले भने।

१८–२० वर्ष पहिले नेपालको परिस्थिति एकदमै जरजर रहेकोमा कांग्रेसको नेतृत्वमा हाल प्राप्त उपलब्धिलाई गुम्न नदिन सबै जागरुक हुनुपर्ने महरले बताए। ‘जनता हिंसा, हत्या र आतंकको त्रासमा बाँच्नुपर्ने अवस्था हामीले अन्त्य गरेका छौँ। कांग्रेसकै नेतृत्वमा मुलुक सफल संघीयताको अभ्यासमा गएको छ। संविधान पाएका छौँ। मुलुक शान्तिप्रक्रियामा छ। यो उपलब्धिको हामी सबैले रक्षा गर्नुपर्छ,’ उनी भन्छन्।

सबैको साझा मुलुक बनाउनका लागि कांग्रेसको नेतृत्वमा शान्ति प्रक्रियाको गति अगाडि बढेको र पछिल्लो लोकतान्त्रिक गणतन्त्र स्थापित भएको कसैले भुल्न नहुने उनले बताए।

‘अहिलेको संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएका छन्। सबैका विचार अटाएका छन्। यो सबैको सम्झौताको दस्ताबेज भएकाले अहिले तलमाथि गर्ने र आधारभूत विषय फेर्ने प्रयास गर्नुहुँदैन। त्यस्तो भयो भने फेरि देश दुर्घटनामा जान्छ। देश फेरि हिंसाको खाडलतर्फ जान सक्छ। यसलाई पनि नेपाली कांग्रेसजस्तो पार्टीले बुझ्नुपर्छ,’ उनी भन्छन्।

अहिले जनतामा भ्रम छर्दै अरूलाई गाली गरेर आइरहेका नयाँ शक्तिहरू पनि पानीको फोकाजस्तै भएको महरको टिप्पणी छ। उनले एजेन्डाविनाका त्यस्ता नयाँ शक्ति लामो समयसम्म अड्न नसक्ने बताए।