नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले भूकम्पपीडितका समस्या समाधानमा सरकार सुस्त देखिएको अवस्थामा कांग्रेस सक्रिय बन्नुपर्ने बताएका छन्।
सरकारले अहिलेसम्म अपेक्षित रूपमा काम गर्न नसक्दा आमनागरिक कठ्यांग्रिएर मर्नुपर्ने अवस्था आइरहेको टिप्पणी गर्दै उनले यस्तो अवस्थामा कांग्रेस चुप लागेर बस्न नहुने धारणा राखेका छन्।
सामाजिक सञ्जालमा धारणा राख्दै नेता महरले सरकार सबै जनताको अभिभावक भए पनि जाजरकोट, रुकुम पश्चिम, बझाङलगायतका क्षेत्रमा सरकारको उपस्थिति न्यून देखिएको टिप्पणी गरेका छन्। ‘सातजनाले चिसोका कारण ज्यान गुमाएका समाचार आइरहेका छन्। यस्तो अवस्थामा सरकार गम्भीर बन्नुपर्थ्यो। त्यो हुन सकेन। कांग्रेस पनि मूकदर्शक बन्नु हुँदैन,’ उनले लेखेका छन्।
भूकम्पपीडितका लागि टहरा निर्माणमा कांग्रेसले केन्द्रीय रणनीति बनाएर अगाडि बढ्नुपर्ने महरले धारणा राखेका छन्। ‘कांग्रेसले केन्द्रीय रणनीति बनाएर भूकम्प प्रभावित क्षेत्रमा पुनर्स्थापनामा लाग्नुपर्छ। त्यहाँ लामो समयसम्म बसेर श्रमदान गर्नुपर्छ। अब कांग्रेसले जाग्नुपर्ने वेला भएको छ,’ उनले उल्लेख गरेका छन्।
यसका साथै त्यहाँका जनता भूकम्पका कारण शौचालयविहीन हुँदा सरसफाइको समस्यासमेत खेप्न बाध्य रहेको उनले बताएका छन्।