१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
म्याड्रिड एजेन्सी
२o८१ बैशाख १९ बुधबार १o:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

पृथकतावादीलाई आममाफी दिने स्पेनिस सरकारको तयारीको व्यापक विरोध

Read Time : > 1 मिनेट
म्याड्रिड एजेन्सी
नयाँ पत्रिका एजेन्सी
२o८१ बैशाख १९ बुधबार १o:२७:oo

क्याटालोनियालाई स्पेनबाट स्वतन्त्र बनाउन विगतमा भएको आन्दोलनमा संलग्न हजारौँलाई आममाफी दिने योजनामा स्पेनको कार्यवाहक सरकार र क्याटालोन पृथकतावादी पार्टीहरूबीच सहमतिको चर्चाबीच स्पेनमा विरोध सुरु भएको छ । मंगलबार देशको राजधानी म्याड्रिडमा यस मुद्दामा भएको विरोध प्रदर्शन हिंसात्मक बन्यो । प्रहरीले हिंसा मत्थर गर्न प्रदर्शनकारीमाथि अश्रुग्यास र लाठी प्रहार गर्‍यो । प्रहरीका अनुसार प्रदर्शनकारीमध्ये केहीले ढुंगामुढा प्रहार गरेका थिए । 

टेलिभिजनमा प्रसारण भएका फुटेजहरूमा केही प्रदर्शनकारीले दोस्रो विश्वयुद्धवरपर जर्मनीमा शक्तिमा रहेको नाजी समर्थकले प्रयोग गर्ने सलामी दिएको देखिएको थियो । कतै सोही अवधिमा स्पेनका फासीवादी शासन गरेका जनरल फ्रान्कोको झन्डा फहराएका थिए । मंगलबारको प्रदर्शन कार्यवाहक सरकारको नेतृत्व गरेको स्पेनको समाजवादी पार्टीको राष्ट्रिय मुख्यालय र संसद्बाहिर केन्द्रित थियो । विरोध प्रदर्शनमा करिब सात हजार मानिस सहभागी भएको प्रहरीले बताएको छ ।

स्पेनमा गत जुलाईमा आमनिर्वाचन भएको थियो । सो निर्वाचनमा कसैले बहुमत हासिल गर्न नसकेपछि विगत तीन महिनाभन्दा बढी समयदेखि सरकार गठनका लागि गठबन्धन बनाउने प्रयास चलिरहेको छ । नयाँ सरकार गठन नभएमा प्रधानमन्त्री पेड्रो सान्चेजले कार्यवाहकका रूपमा शासन चलाउनेछन् । उनको दल समाजवादी (पिएसओई)ले गत निर्वाचनमा दोस्रो स्थान हासिल गरेको थियो । उनले केही क्याटालन दलसँग गठबन्धन बनाउन सके उनकै नेतृत्वमा सरकार बन्ने देखिएको छ । 

सान्चेजले क्याटालान पृथकतावादीलाई आममाफी दिने कानुन र थप सहुलियत प्रदान गरेर क्याटालोनियाका पृथकतावादी पार्टीहरूको समर्थन हासिल गर्ने र अर्को कार्यकाल सुरक्षित गर्ने लक्ष्य राखेका छन् । यस प्रयासको देशका राष्ट्रवादी तथा दक्षिणपन्थी शक्तिले विरोध गरेका हुन् । दक्षिणपन्थी पपुलिस्ट दल भोक्सले क्याटालन शक्तिलाई दिन लागिएको सहुलियतहरूको विरोध गरेको छ । सान्चेजको दलले अर्को क्याटालन दल ‘रिपब्लिकन लेफ्ट अफ क्याटालोनिया’सँग पहिले नै सम्झौता गरिसकेको छ । अब सरकार गठनका लागि निर्वासित क्याटालान पृथकतावादी नेता काल्स पुइग्डेमोन्टको नेतृत्वमा रहेको जन्ट्स पार्टीको स्वीकृति भए पुग्छ । सोही पार्टीको मन राख्न आममाफी कानुनको मस्यौदा अनुमोदन गर्न लागिएको हो ।

उग्र दक्षिणपन्थी भोक्स पार्टीका एक प्रवक्ताले प्रदर्शनमा देखिएको हिंसालाई समर्थन नगर्ने, तर सरकारविरोधी प्रदर्शनलाई समर्थन गर्ने बताए । उता, सान्चेजले भने विरोध प्रदर्शनको निन्दा गर्दै प्रदर्शनकारीलाई ‘प्रतिक्रियावादी’ले नेतृत्व गरेको बताए । यो विधयेक पारित भएर सान्चेजले नोभेम्बर २७ सम्ममा नयाँ सरकार गठन गर्न सकेनन् भने जनवरी १४ मा नयाँ निर्वाचन गर्नुपर्नेछ । वर्तमान संसद्बाट सरकार गठन गर्ने अरू सबै प्रयास असफल भइसकेकाले यही मात्र विकल्प बाँकी छ । यसैले पनि विधेयक ल्याउनैपर्ने दबाबमा छन्, सान्चेज । 

ad
ad