
भक्तपुरमा विभिन्न तीन स्थानबाट प्रहरीले जुवा खेलिरहेका तीन समूहलाई पक्राउ गरेको छ । लोकन्थली, गठ्ठाघर र दुवाकोटमा जुवा खेलिरहेका १६ जना पक्राउ परका हुन् ।
मध्यपुर थिमी नगरपालिका– १ लोकन्थली मनहरा आँखा अस्पतालनजिकै चाँगुनारायण नगरपालिका– २, दुवाकोट बस्ने दोलखा घर भएका ४० वर्षीय धनबहादुर फुयाँलको मुस्ताङ खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर हरिसिद्धि बस्ने काभ्रे तेमाल घर भएका ३२ वर्षीय अमर तामाङसमेत सातजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ४२५ रुपैयाँ र एक बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी, भक्तपुर, चाँगुनारायण नगरपालिका–१, दुवाकोट बेँसी बस्ने दोलखा घर भएकी ५८ वर्षीया तुलसी वलीको खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा तुलसीसमेत पाँचजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ६५० रुपैयाँ र एक बुक तास बरामद गरेको छ।
मध्यपुरथिमी नगरपालिका– ३, गठ्ठाघर बस्ने तनहुँ ऋषिङ गाउँपालिका– ८ घर भएका ५० वर्षीय विष्णुकुमार श्रेष्ठको पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ७ घर भएका ४१ वर्षीय भीम प्रधानसमेत चारजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले नगद १३ हजार ७६० रूपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरेको हो ।