मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २२ बिहीबार
  • Monday, 16 December, 2024
२o८१ कार्तिक २२ बिहीबार o९:o९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

साबिक विजेता रियल म्याड्रिड घरमै पराजित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २२ बिहीबार o९:o९:oo

युरोपियन च्याम्पियन्स लिगको सर्वाधिक विजेता रियल म्याड्रिड बुधबार बिहान घरेलु मैदान सान्टियागो बर्नाबेउमा पूर्वविजेता एसी मिलानसँग ३–१ ले स्तब्ध भएको छ । च्याम्पियन्स लिगमा चार खेल खेल्दा रियलले दोस्रो हार सामना गरेको छ । दुई जित निकालेको रियल ६ अंकका साथ १७औँ स्थानमा छ । साबिक विजेतामाथि सानदार जित निकालेको एसी मिलान १८औँ स्थानमा छ । एसी मिलानले खेलको १२औँ मिनेटमा अग्रता लिएको थियो । मलिक थियले पाहुना टोलीलाई १–० को अग्रता दिलाए ।

खेलमा भिनिसियस जुनियरले रियललाई १–१ को बराबरीमा ल्याए । खेलको ३९औँ मिनेटमा अल्भारो मोराटाले एसी मिलानलाई २–१ को स्थितिमा राखे । रेइन्डर्सले ७३औँ मिनेट गोल गरेपछि एसी मिलान ३–१ ले विजयी भयो । अर्को खेलमा पोर्चुगिज क्लब स्पोर्टिङले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई ४–१ ले पाखा लगायो । प्रतिस्पर्धामा सिटीले अग्रता गोल गरेको थियो । तर, सिटीले आफ्नो दमदार प्रदर्शनलाई जारी राख्न सकेन । खेलको चौथो मिनेटमै फिल फोडेनले सिटीलाई १–० को अग्रता दिलाएका थिए । घरेलु मैदानमा सिटीलाई हराउन भिक्टर ग्योकेरेसले ह्याट्रिक गरेका थिए । 

भिक्टरले खेलको ३८औँ मिनेटमा १–१ को बराबरी गोल गरे । खेलको ४६औँ मिनेटमा म्याक्सिमिलियानोले गोल गर्दै स्पोर्टिङले २–१ को अग्रता लियो । खेलको ४९औँ मिनेटमा भिक्टरले पेनाल्टी गोल गरे । खेलको ८०औँ मिनेटमा उनले पुनः पेनाल्टीमा गोल गर्दै सिटीमाथि सानदार जित दिलाए । चार खेलबाट स्पोर्टिङले १० अंक जोडेर दोस्रो स्थान बलियो बनाएको छ । इंग्लिस क्लब सिटी छैटौँ स्थानमा छ ।

लिभरपुलको शतप्रतिशत जित
युरोपियन च्याम्पियन्स लिगमा लिभरपुलले शतप्रतिशत जित निकालेको छ । लुइस डियाजको ह्याट्रिकको सहयोगमा लिभरपुलले जर्मन क्लब बायर लेभरकुजनलाई ४–० ले हरायो । जितपछि लिभरपुलले चारवटै खेलमा जित निकालेर सर्वाधिक १२ अंक जोडेको छ । लेभरकुजन ७ अंकका साथ १२औँ स्थानमा छ । घरेलु मैदान एनफिल्डमा लिभरपुलले सबै गोल मध्यान्तरपछि गरेको हो । डियाजले खेलको ६१औँ, ८३औँ र खेलको इन्जुरी टाइममा ह्याट्रिक पूरा गरेका थिए । नयाँ प्रशिक्षक अर्ने स्लटको प्रशिक्षणमा लिभरपुलले यस सिजन गजबको प्रदर्शन गरिरहेको छ । 

अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डले स्टर्म ग्राजलाई १–० ले हरायो । आरबी लाइपजिग भने स्कटिस क्लब सेल्टिकसँग ३–१ ले पराजित भयो । मोनाकोले इटालियन क्लब बोलोग्नालाई १–० ले हरायो । फ्रेन्च क्लब लिलले युभेन्ट्ससँग १–१ को बराबरी खेल्यो ।