मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २० बुधबार
  • Wednesday, 06 December, 2023
२०८० कार्तिक २२ बुधबार १३:२२:००
Read Time : > 2 मिनेट
फिचर डिजिटल संस्करण

आफ्नो पीडा लुकाएर स्थलगत रिपोर्टिङमा जाजरकोटका पत्रकार

Read Time : > 2 मिनेट
२०८० कार्तिक २२ बुधबार १३:२२:००

 भूकम्पका कारण यतिवेला जाजरकोट शोकमग्न छ। जिल्लाबाट विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरू भने आफ्नो पीडा लुकाउँदै स्थलगत रिपोर्टिङमा निस्किएका छन्। 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका भीमबहादुर सिंह अहिले सासू गुमाएको पीडामा छन्। सिंहकी सासू इन्दिरा शाहको भूकम्पमा परेर मृत्यु भएको छ।

सिंहको घरको तल्लो तलामा सासूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। शाहलाई बुधबार बिहान मात्र सिंह आफैँले घरबाहिर निकाले। उनका तीनवटा घर पूर्ण रूपमा क्षति भएका छन्। 

सिंहको  परिवार आफन्तको घरमा बसेकाे छ। भूकम्प गएको ६ दिन बित्दासमेत क्षति भएको घर उत्खनन नभएको उनको भनाइ छ। घर उत्खनन नहुँदा घरभित्रको सामान  निकाल्न नसकिएको सिंहले बताए। 

सिंह मात्र हाेइन, पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य एवं कान्तिपुरका पत्रकार हरिहरसिंह राठौरको घर पनि पूर्ण रूपमा क्षति भएको छ। श्रीमती जगत शाही घरभित्रै च्यापिएको अवस्थामा उद्धार गर्दा घाइते अवस्थामा छिन्। 

उनको ढाडमा चोट लागेकाे छ। उनकाे प्रदेश अस्पताल सुर्खेतमा उपचार जारी छ। कान्तिपुरकर्मी राठौर आफ्नो पीडा लुकाएर जिल्लाका ग्रामीण क्षेत्रमा नागरिकको पीडा खोज्दै हिँडिरहेका छन्। 

नेपाल पत्रकार महासंघ जाजरकोट शाखा सल्लाहाकार दीपबहादुर घर्तीको घर पूर्ण क्षति भएको छ। घर्ती बस्दै आएको भेरी नगरपालिका– ३ को घर पूर्ण क्षति भएसँगै डिजिटल सञ्चार अनलाइन बन्द भएको छ। घर्ती भूकम्पपश्चात् एकसरो कपडामा प्रभावित क्षेत्रमा छन्। 

घर्ती यतिवेला त्रिपालको सहारामा बस्दै आएका छन्। यस्तै, जिल्लाको पहिलो रेडियो खलंगा एफएम पूर्ण क्षति भएको छ। भूकम्पका कारण भेरी नगरपालिका– ३ मा रहेको रेडियो बन्द रहेकाे स्टेसन म्यानेजर सरोज वलीले बताए।
 
रेडियो बन्द भएसँगै कार्यरत पत्रकार त्रिपालको सहारामा बस्दै आएका छन्। यस्तै, जिल्लाको भेरीमालिका दैनिकमा कार्यरत मालबहादुर सिंह बस्दै आएको घर पूर्ण क्षति भएको छ। सिंहले प्रयोग गर्दै आएको क्यामेरा, ल्यापटपलगाएत सञ्चार सामग्रीको अहिलेसम्म खोजीकार्य भएको छैन। सिंह यतिवेला आफ्नो पीडा लुकाएर समाचारका लागि प्रभावित क्षेत्रमा छन्। 

प्रेस सेन्टरका केन्द्रीय सदस्य हेमन्त केसी पनि भूकम्पबाट प्रभावित भएका छन्। केसीले सञ्चालन गरेको नेपालपोस्ट खबरको कार्यालयमा क्षति भएको छ। 
 

भेरी नगरपालिका– ३ नयाँ बस्तीमा रहेको कार्यालय बस्दै आएको घर पूर्ण क्षति हुँदा पालको सहारामा बस्दै आएका छन् पत्रकार केसी। यस्तै, प्रेस चौतारी नेपालका अध्यक्ष विनोद घर्तीका तीनवटा घरमा क्षति पुगेकाे छ। छेडागाड नगरपालिका– १० मा घर्तीको घर क्षति भएको उनको भनाइ छ। 

घर्ती बस्दै आएको भेरी नगरपालिका– ४ घरमा पूर्ण रूपमा क्षति हुँदा उनी सडकमा पालको सहारामा बस्दै आएका छन्। ‘सदरमुकाम खलंगामा  किनेर पठाऊँ भने पाल छैन,’ उनले भने, ‘गाउँमा पुगेका पाल पनि बाँडेका छैनन्। पीडा आफ्नै छ, तैपनि समाचार खोजी गरेर लेखिरहेको छु।’ 

यस्तै, भेरीमालिका दैनिकमा कार्यरत सिर्जना नेपालीको घर पूर्ण क्षति भएको छ। नेपाली बारीमा त्रिपालको सहारामा बस्दै आएकी छिन्। 

६ बजेदेखि पत्रिका वितरण गर्ने उनी अहिले पनि भूकम्पको त्रासका कारण बालबालिका छोडेर काम गर्दै आएकी छिन्। यस्तै जिल्लाको रेडियो हाम्रो पाइलामा समेत भूकम्पले क्षति गरेको छ। 

भूकम्पले क्षति गरेसँगै रेडियो प्रसारण प्रभावित भएको थियो। नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्षसमेत रहेका बालकुमार शर्मा यतिवेला प्रभावित क्षेत्रमा छन्। आफ्नो भएको क्षतिको पीडा भुलेर उनी अरूको पीडा बटुल्दै आएका छन्। भूकम्पले भेरीमालिका दैनिकमा समेत क्षति पुर्‍याएको छ। 

पत्रिकामा कम्प्युटर, मेसिन र भौत्तिक संरचनामा क्षति भएको भेरीमालिका दैनिकका व्यवस्थापक सुरेन्द्र खड्काले बताए। जिल्लामा क्रियाशील पत्रकार सरोज वली, अनलाइन खबरका यज्ञ खत्री, प्रेम विक, भौतिक मल्ल, लोकेन्द्र विक, मोहन शाही, कालीबहादुर नेपाली, रेशमबहादुर खड्कालगायतका पत्रकारको घरमा क्षति भएको छ। सदरमुकाम खलंगामा डेरा गर्दै बसेका यहाँका पत्रकारहरूको ल्यापटप, क्यामेरालगायतका सामानमा क्षति भएको छ।