१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
आइसिसी टी–२० विश्वकप छनोटको विजेता र उपविजेता खेलाडीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल । तस्बिर : ज्ञानेन्द्र कार्की/ नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:११:oo
Read Time : > 3 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आइसिसी टी–२० विश्वकप छनोट : सुपर ओभरमा ओमान च्याम्पियन

आइसिसी टी–२० विश्वकप एसियन छनोटअन्तर्गत उपाधि भिडन्तको सुपर ओभरमा नेपालले १० रन मात्र बनाउँदा ओमानलाई उपाधि

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:११:oo

ओमानले आयोजक नेपाललाई सुपर ओभरमा हराउँदै आइसिसी टी–२० विश्वकप छनोटअन्तर्गत एसिया फाइनलको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सुपर ओभर खेल्दा हारको सामना गर्‍यो ।

एसिया छनोटको उपाधि भिडन्तमा नेपालले पहिलो ब्याटिङ गरी २० ओभरमा ६ विकेट गुमाएर एक सय ८४ रनको विशाल योगफल खडा गरेको थियो । ओमानले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रन बनाउँदा खेल टाई भयो । सुपर ओभरमा ओमानले २१ रन बनाएको थियो । नेपालले १० रन बनाउन सक्यो । नेपालले लगातार टी–२० को फाइनल गुमाएको छ । डेढ साताअगाडि त्रिकोणात्मक सिरिजको फाइनल पनि नेपालले गुमाएको थियो । नेपाल र ओमान अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट भइसकेका राष्ट्र हुन् । 

 सुपर ओभरमा २२ रनको लक्ष्य 
सुपर ओभरमा नेपालले २२ रनको लक्ष्य पाएको थियो । ओमानबाट विलाल खान बलिङ गर्न आए । उनले पहिलो बलदेखि नै नेपाली ब्याट्सम्यानलाई दबाबमा राखे । प्रशिक्षक मोन्टी देसाईले कुशल भुर्तेल र गुल्शन झालाई ओपनिङमा पठाए । विलालले आफ्नो पहिलो बलमै भुर्तेललाई जिसन मक्सुदबाट क्याच गराए । कुशल मल्लले दोस्रो बलमा रन लिन सकेनन् ।

उनले तेस्रो बलमा एक रन लिए । चौथो बलमा गुल्शन झाले एक रन लिए । पाँचौँ र छैटौँ बलमा कुशलले चौका प्रहार गरे पनि जित दिलाउन सकेनन् । ओमानले सानदार ब्याटिङ गर्‍यो । ओमानका नसिम खुसीले १९ रन बनाए । उनले अभिनाश बोहराले फ्याँकेको सुपर ओभरमा तीन विशाल छक्का प्रहार गरेका थिए । नसिमले तीन छक्का प्रहार गर्दा त्रिवि मैदानमा फाइनल हेर्न पुगेका १५ हजार घरेलु समर्थक स्तब्ध बने । 

यसअघि लक्ष्य पछ्याएको इनिङ्सको अन्तिम ओभरमा ओमानलाई आठ रन आवश्यक थियो । नेपालका कप्तान सन्दीप लामिछानेलाई अन्तिम ओभर गर्न दिए । अनुभवी लेग स्पिनर सन्दीपले बलिङ गर्न आउँदा ओमानको हातमा चार विकेट बाँकी थियो । सन्दीपले कसिलो बलिङ गर्दै नेपाललाई खेलमा फर्काउन प्रयास गरेका थिए । उनको ओभरमा ओमानले सात रन बटुलेपछि फाइनल टाई भयो । इनिङ्सको १९.६ ओभरमा रनआउट हुँदा उपाधि भिडन्त रोमाञ्चक बनेको थियो । नेपालका लागि सन्दीपसँगै करण केसीले दुई विकेट लिए । 

 प्रजापतिको आक्रामक अर्धशतक
ओमानको ब्याटिङ इनिङ्समा ओपनर कश्यप प्रजापति आक्रामक रूपमा अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ५२ बलमा तीन चौका र चार छक्कासहित ६३ रन बनाउँदा ओमान निकै सहज अवस्थामा थियो । इनिङ्सको पहिलो बलदेखि नै उनी आक्रामक रूपमा प्रस्तुत भए । उनी आउट हुँदा ओमान १६.५ ओभरमा १४६/४ को स्थितिमा थियो । उनले दोस्रो विकेटका लागि अकिव इयाससँग ६७ रन र जेसन मक्सुदसँग आक्रामक रूपमा ४२ रनको साझेदारी गर्दैै नेपालमाथि दबाब सिर्जना गरे । अकिव इल्यासले ३३ र कप्तान मक्सुदले २६ रनको योगदान गरे । मोहम्मद नदिमले २४ तथा मेहरान खान र अयान खानले समान १० रन जोडे । 

 रोहित र गुल्शनको अर्धशतक
कीर्तिपुर मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको इनिङ्समा कप्तान रोहितकुमार पौडेल र गुल्शन झाले अर्धशतकीय इनिङ्स खेले । गुल्शन झाले २५ बलमा ५४ रनको इनिङ्स खेले । रोहितले ३७ बलमा ५२ रन बनाए । रोहितले ३६ बलमा पाँच चौका र दुई छक्का प्रहार गरेका थिए । उनको टी–२० आईमा यो पाँचौँ अर्धशतक हो । गुल्शन र रोहितले पाँचौँ विकेटका लागि ४३ बलमा ७८ रनको बलियो साझेदारी गरेका थिए । गुल्शनले २० बलमा पाँच चौका र चार छक्का प्रहार गरे । १५.४ ओभरमा उनले अर्धशतक बनाउँदा नेपाल १२४–४ को स्थितिमा थियो । सन् २०२२ मा फिलिपिन्ससँग डेब्यु गरेका गुल्शनको टी–२० आईमा पहिलो अर्धशतक हो । 

यसअघि ओपनर कुशल भुर्तेलले २२ बलमा ३१ रन बनाएर आउट भए । आठौँ नम्बर क्रिजमा आएका करण केसीले ६ बलमा २० रन बनाए । ओमानका विलाल खानले चार ओभरमा २६ रन खर्चेर तीन विकेट लिए । अकिवले दुई विकेट हात पारे । नेपालले २.४ ओभरमा १५ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । ओपनर आसिफ शेखलाई ६ बलमा ६ रन बनाए । सन्दीप जोराले १३ बलमा १० रन जोडे । ओपनर भुर्तेल आउट हुँदा नेपाल ७.१ ओभरमा ४९/३ को स्थितिमा थियो । कुशल मल्ल आउट हुँदा नेपाल ९.६ ओभरमा ६०/४ को अवस्थामा रह्यो । 

 अकिव प्लेयर अफ दी सिरिज
ओमानका अलराउन्डर अकिव इल्यास ‘प्लेयर अफ दी सिरिज’ घोषित भएका छन् । ३१ वर्षीय खेलाडीले प्रतियोगितामा १० विकेट लिनुका साथै एक सय ६ रन जोडेका थिए । ओमानका ओपनर प्रजापति प्लेयर अफ दी म्याच घोषित भए । नेपालका कुशल भुर्तेल उत्कृष्ट ब्याट्सम्यान बने । उनले पाँच खेलमा एक अर्धशतकसहित एक सय ८५ रन बनाएका थिए । ओमानका विलाल खान उत्कृष्ट बलर घोषित भए । उनले पाँच खेलमा ११ विकेट लिएका हुन् । उत्कृष्ट नेपाली ‘प्लेयर अफ दी सिरिज’ अलराउन्डर गुल्सन झा घोषित भए । उनले एक थान पल्सर मोटरसाइकल प्राप्त गरेका छन् । 

अभिनाशले दबाब झेल्न सकेनन् 
मोन्टी देसाई, प्रशिक्षक, नेपाल

हामीले सुपर ओभर प्रशिक्षण नगरेको होइन । यस्तै हुन्छ भनी प्रशिक्षण गर्‍यौँ । विलालले दबाबमा पनि निकै राम्रो बलिङ गरे । अभिनाशले दबाब झेल्न सकेनन् । ओमानसँग दुवै खेलमा पराजित भयौँ । हामीले खेल हारेका होइनौँ, हामी एक बलले हार्‍यौँ । पहिलो खेलमा राम्रो ब्याटिङ गर्न सकेनौँ, त्यो हामीले स्विकारेका छौँ । तर, अन्तिममा कुनै एक टोली जित्दै थियो । जित ओमानको भयो । विवेक राम्रा खेलाडी हुन् । टोलीमा घुलमिल हुँदै छन् । दीपेन्द्रलाई जोखिम लिएनौँ । पछिल्लो ४८ घन्टामा हामीले क्रिकेट मात्र देखेनौँ, अरू कुरा पनि देख्यौँ । टोलीको समवेदना भूकम्पबाट निधन भएका नेपालीहरूप्रति पनि रहेको छ । हामी उनीहरूका लागि जित्न चाहन्थ्यौँ । 

विश्वले नेपाललाई हेर्नेछ
रोहितकुमार पौडेल, कप्तान, नेपाल

ओमानबाहेक प्रतियोगिता समग्रमा राम्रो भयो । उपाधि जित्न नपाउँदा दुःख लागेको छ । नेपाल विश्वकपमा छनोट भएको छ । यसले ठूलो अर्थ राख्छ । हामीलाई पूरा विश्वले हेर्नेछ । अब कसरी अगाडि बढ्ने भन्नेबारेमा खेलाडी र क्यान छलफल गर्नेछौँ । विश्वपका लागि ५–६ महिना बाँकी छ । खेलाडीलाई माथिल्लो स्तरमा पुर्‍याउनुपर्छ । विश्वकपको अवसरलाई राम्रो गर्नुपर्छ । पूर्वाधारको आवश्यकता छ । खेलाडीले अझै सुधार गर्नुपर्नेछ । अब घरेलु क्रिकेट पनि हुन जरुरी छ । खेलाडीले मात्र राम्रो प्रदर्शन गरेर केही हुँदैन । यसका लागि क्यान, नेपाल सरकारलगायतले पनि सोच्नुपर्छ । 

नेपाली समर्थकलाई धन्यवाद
जिसन मक्सुद, कप्तान, ओमान

दुवै टोलीलाई समर्थन गरेकोमा समर्थकलाई सुरुमा धन्यवाद दिन चाहन्छु । नेपालसँग खेल्दा निकै राम्रो हुन्छ । दुई खेल खेल्यौँ । नेपालसँग घरमै ठूलो समर्थकमाझ जित निकाल्न सफल भएका छौँ । हाम्रा खेलाडीले राम्रो प्रदर्शन गरेका छन् । खेलाडीले उच्च मनोबलका साथ खेले । प्रशिक्षक, टिम स्टाफ र व्यवस्थापन उत्कृष्ट रहँदा यो नतिजा आएको छ । नेपाली समर्थकले धेरै माया गरेका छन् । सधैँ सम्झनेछौँ । 

ad
ad