
सिन्धुपाल्चोकस्थित स्थानीय सरकार र विभिन्न संगठनले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लाका लागि सहयोगको घोषणा गरेका छन्।
सरकारले एकद्वार प्रणालीमार्फत सुरु गरेको भूकम्प प्रभावितको उद्धार र राहतलाई साथ दिन बाह्रबिसे नगरपालिकाले १५ लाख दिने घोषणा गरेको छ। नगर प्रमुख बालकृष्ण बस्नेतले कार्यपालिका बैठकमा छलफल गरेर सहयोगको घोषणा गरेका हुन्।
त्यसैगरी जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले पालिकाबाट तीन लाख, आफ्नो एक महिनाको तलब र अमेरिकामा रहेकी छोरी कुसुमको तर्फबाट ५० हजार गरी चार लाख सहयोगको घोषणा गरेका छन्।
राहत कोषमा जम्मा हुने गरी भोटेकोसी गाउँपालिकाले १० लाख, बलेफी गाउँपालिकाले पाँच लाख र त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख राहत उपलब्ध गराउने घोषणा गरेका छन्। नेपाल तरुण दल सिन्धुपाल्चोक अध्यक्ष सञ्जय लामाले व्यक्तिगत एक लाख सहयोग गर्ने घोषणा गरेका छन् ।
यसैगरी, पूर्वअरनिको समितिले प्रभावित क्षेत्रका पीडितलाई आवतजावत गर्न ६ वटा बस निःशुल्क उपलब्ध गराउने भएको छ। सिन्धु सदावहार अस्पताल खाडीचौरमा कार्यरत डाक्टर देवेन्द्र गौतमले ५० हजारबराबरको स्वास्थ्य सामग्री दिने घोषणा गरेका छन्। चौतारा साँगाचोकगढी नगरपालिकाले पनि आजै कार्यपालिका बैठक बसेर सहयोगको घोषणा गर्दै छ।