Skip This
दुई करोडको स्मार्ट सडकबत्ती थप्दै ललितपुर महानगर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १९ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक १९ आइतबार o९:o४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

दुई करोडको स्मार्ट सडकबत्ती थप्दै ललितपुर महानगर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक १९ आइतबार o९:o४:oo

बल्खुदेखि बालकुमारीसम्म करिब आठ किलोमिटर सडकमा बत्ती जडान गरिने 

ललितपुर महानगरपालिकाभित्र पहिलो र दोस्रो चरणमा राखिएका स्मार्ट सडकबत्ती बल्न थालेपछि तेस्रो चरणको स्मार्ट सडकबत्ती राख्नका लागि तयारी सुरु भएको छ । तयारीस्वरूप महानगरले तेस्रो चरणको सडकबत्ती राख्न टेन्डर आह्वान गर्न लागेको हो । 

यसै साताभित्र टेन्डर आह्वान गर्ने गरी काम भइरहेको महानगरले जनाएको छ । ‘स्मार्ट सडकबत्ती बाल्न टेन्डर आह्वान गर्दछौँ । यही साता टेन्डर हुनेछ । यसका लागि तयारी पूरा भइसकेको छ । चाडपर्वका कारण केही ढिला भएको हो,’ महानगरका प्रवक्ता राजु महर्जनले भने । उनका अनुसार पहिलो र दोस्रो चरणमा निर्माण भएको सडकबत्ती र महानगरभित्र ११ ठाउँमा राखिएको ‘हाई मास्ट’ (उच्च मात्रामा प्रकाश दिने बत्ती)बाट राम्रो प्रतिक्रिया आएपछि तेस्रो चरणको काम थाल्न टेन्डर गर्न लागेका हौँ । तेस्रो चरणअन्तर्गत बल्खुदेखि बालकुमारीसम्म ७ दशमलव नौ किलोमिटर क्षेत्रमा सडकबत्ती जडान गरिनेछ । यसका लागि करिब दुई करोड लाग्नेछ । सडकबत्ती जडानमा महानगरको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत सहयोग रहनेछ । तेस्रो चरणअन्तर्गतका सडकबत्ती चालू आर्थिक वर्षभित्रै जडान भइसक्नेछन् । 

यसअघि दोस्रो चरणअन्तर्गत कुपन्डोल, लगनखेल, पुल्चोक, धापाखेल, झम्सीखेल, हरिसिद्धि, बुङमती, खोकना, फर्सीडोल, पाटनढोका, मंगलबजार, सुनाकोठी, खोकना, भैँसेपाटी हुँदै गोदावरी नगरपालिकाको सीमासम्म सडकबत्ती राखिएको छ । महानगरका अनुसार धापाखेल क्षेत्रमा स्थानीयको अवरोधका कारण सडकबत्ती जडानमा केही ढिलो भए पनि हाल उक्त समस्या समाधान भइसकेको छ । ती क्षेत्रमा करिब १४ सय सडकबत्ती जडान गरिएको छ ।

महागनरले पहिलो चरणअन्तर्गत (फागुन ०७७ मा) ६ सयवटा स्मार्ट सडकबत्ती जडान गरिसकेको छ । यसअन्तर्गत कुपन्डोल, सातदोबाटो, पुल्चोक, ग्वार्को र मंगलबजार क्षेत्रमा बत्ती राखिएको छ । महानगरले कुपन्डोल पुल, सहिद शुक्रराज पार्क, महानगरपालिकाआगाडिको पार्क, जावलाखेल, लगनखेल बसपार्क, लगनखेल बटुक भैरव मन्दिर, लगनखेल महालक्ष्मी मन्दिर, धोबीघाट ठाडो ढुंगा, धोबीघाट ढुंगेधारा, बुङमती बसपार्क, शङ्खपार्कमा गरी ११ ठाउँमा ‘मास्ट हेड’ राखेको छ, जुन सञ्चालनमा समेत आइसकेको छ । 

यस्तो हुनेछ महानगरले राख्ने स्मार्ट सडकबत्ती 
महानगरले जडान गर्ने स्मार्ट सडकबत्ती बाल्न र निभाउन मानिसको आवश्यकता पर्दैन । सडकको चहलपहलअनुसार आफैँ बल्ने–निभ्ने गर्छ । रातको समयमा सडकबत्तीलाई केन्द्रबाट कन्ट्रोलसमेत गर्न सकिनेछ । ०७४ सालको स्थानीय तह निर्वाचनकै वेला मेयरका उम्मेदवार बनेका चिरिबाबु महर्जनले महानगरलाई स्मार्ट सिटी बनाउने घोषणा गरेका थिए । सोही घोषणाअनुसार ०७७ सालदेखि महानगरले सडकबत्ती जडान गर्न थालेको हो । तीन वर्षदेखि सडकबत्ती जडान गर्न थालेको महानगरले यस वर्ष सबै स्थानमा जडान गरिसक्ने लक्ष्य राखेको छ । स्मार्ट बत्तीले दुर्घटनामा समेत कमी आएको महानगरले बताएको छ ।